स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी प्रक्रिया सुरु भयो : मन्त्री पौडेल
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समयपछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरु भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभामा आफ्नो मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर प्रक्रिया पूरा गरी मन्त्रिपरिषदमा पेस गर्ने गरी अन्तिम चरणमा रहेको उल्लेख गरे।
बजेटमार्फत सघन जलनको उपचार, मुटु, मिर्गौला प्रत्यारोपण, क्यान्सर लगायतका विशिष्टीकृत सेवाहरू सातै प्रदेशका एक–एक संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरी व्यवस्था गरिएको मन्त्री पौडेलले बताए।
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन रुग्णता सम्बन्धी स्वास्थ्य सेवा सबै स्थानीय तहमा लागू हुने गरी विनियोजन गरिएको उनले जानकारी दिए।
उनले निर्माण सम्पन्न भएका आधारभूत अस्पतालको तीनै तहको सहकार्यमा संघ सरकारबाट चिकित्सकसहित औजार उपकरण उपलब्ध गराई श्रावण १ गतेदेखि सञ्चालनमा ल्याइने जिकिर गरे।
मन्त्री पौडेलले निर्माणाधीन आधारभूत अस्पतालको सम्पन्नता र निर्माण सुरु नभएका स्थानीय तहमा सुरुवात गर्न रणनैतिक स्थानको म्यापिङ्ग कार्य भइरहेको जानकारी समेत दिए। स्वास्थ्य बीमा बोर्डको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै उनले प्रविधिमा स्तरोन्नति तथा सबै किसिमका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम एकीकृत ढङ्गबाट बीमा मार्फत सञ्चालन गरिने बताए।
प्रतिक्रिया दिनुहोस !