हङकङेली नेपालीको पहिलो महिला सगरमाथा आरोही एन्जला
हङकङ : तीन पटकको सगरमाथा चढ्ने प्रयास अनि करिब २ करोड नेपाली रुपैयाँ खर्च, अन्ततः एन्जला राईले विश्वकै शिखर सगरमाथामा आफ्नो पाइला राखिन् । हङकङलाई कर्मथलो बनाएका नेपालीको जनसंख्या करिब ४० हजार छ । ती सबैको प्रतिनिधित्वमूलक पहिलो महिला सगरमाथा आरोही बन्न सफल भइन् एन्जला ।
पूर्वी धरानमा बुवा दिलीपकुमार राई र आमा शर्मिला राईको कोखबाट जन्मिएकी राई वैदेशिक रोजगारीका सिलसिलामा सन् २०१० मा हङकङ आइन् । रेस्टुरेन्टका विभिन्न तहमा काम गर्दा गर्दै हिमालप्रतिको मोहले उनलाई घरीघरी पहाडका चुचुरोमा पुर्याइरहन्थ्यो । सानैमा प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हुमो शेर्पाको जीवनी र हिमालमै भएको अन्त्यले सगरमाथाप्रतिको अनेकन जिज्ञासा एन्जलामा थियो । के छ त्यस्तो राज सगरमाथामा ? मृत्युको भय हुँदाहुँुदै पनि किन चढ्छन् मान्छेहरू ? जस्ता प्रश्नको जवाफ उनी आफैंभित्र खोज्थिन् ।
हङकङको अग्लो डाँडाकाँडामा चढेर सगरमाथाको शिखरमा पुग्ने अभिलाषा बोकेर हिँडेकी उनलाई नेपाल बिदा मनाउन गएको बेला हिमाल आरोहणसम्बन्धी कार्यशाला गोष्ठीले अझ सगरमाथाको नजिक बनायो । कोरोनाले संसार आतंकित बनाइरहँदा एन्जला हिमाल आरोहणको भरपुर तयारी गरिरहेको थिइन् । सानासाना हिमालहरू चढ्दै आफूलाई हिउँसँग अभ्यस्त बनाउँदै थिइन् । मामाघर खोटाङबाट छर्लंग देखिने हिमालहरूसँग पौठेजोरी खेलिरहेकी थिइन् ।
आफ्नो कर्मथलो हङकङ फर्किए पनि हिमाल चढ्ने आफ्नो सपना र योजनालाई मर्न दिइनन् । सगरमाथाको आरोहण गर्नुपूर्व ६ हजार फिट माथिका हिमालहरू आरोहण गर्नुपर्ने नियमलाई पछ्याउँदै उनी लोबुचे, आइल्यान्ड पिकहरूको आरोहण सुरु गरिन् । सपना देख्नु जस्तो सजिलो थिएन, पूरा गर्नु । एन्जला हाई अल्टिटुल, टन्सिललगायत गम्भीर स्वास्थ्य समस्याबाट गुजिँ्रदै बेसक्याम्पबाटै रेस्क्यु हुनुपर्यो । अनेकन समस्या र पीडाले एन्जलालाई सपना र दृढ संकल्पबाट किमार्थ टाढा लान सकेन, अझ बलियो बनायो ।
फलत, मे १८, २०२५ तारिकका दिन बिहान ४ बजेर २१ मिनेट जाँदा विश्कै सर्वोच्च शिखर सगरमाथामा पाइला टेकिन् एन्जलाले । किरात राई, हङकङ र नेपालको झन्डा फहराइन् । एन्जला भन्छिन– एकदिन मरेरै जाने हो, किन डराउनु मृत्युसँग ? परिवार, आफन्त साथीभाइ सबै डराउँछन्, अब हिमाल नढ्न भन्छन्, तर मेरो मन, नाता सबै हिमालसँग जोडिएको छ । अब केही गर्छु, कहीँ जान्छु अनि कमाएको खर्च गर्छु भने त्यो हिमालमै हुनेछ ।
प्रतिक्रिया दिनुहोस !