पीएसजीलाई च्याम्पियन्स लिग
म्युनिख : फ्रेन्च क्लब पेरिस सेन्ट (जर्मेन–पीएसजी) ले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति जर्मनीको एलियान्ज एरिनामा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको ट्रफी उचालेको हो ।
फ्रान्सको लिग वान च्याम्पियन टोली पीएसजीलाई सानदार जित दिलाउन डिसायर डुवेले दुई गोल गर्दा अचरफ हाकिमी, ख्मिचा क्भाराटस्खेलिया, सेनी मायुलुले एक÷एक गोल गरे । खेलको १२औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले डिसायर डुवेको पासलाई सदुपायोग गरेका थिए । लगातार विपक्षी पोस्ट्मा आक्रमण बनेको पीएसजीले २०औं मिनेटमा अग्रता दोब्बर पारेको थियो डिसायर डुवेले गोल गर्दै पीएसजीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
पहिलो हाफमा २–० को अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । ६३औं मिनेटमा डिसायर डुवेले गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाएका थिए । डिसायर डुवे च्याम्पियन्स लिगको फाइनलमा गोल गर्दै सबैभन्दा युवा खेलाडी बनेका छन् । उनले १९ वर्ष तीन सय ६२ दिनको उमेरमा च्याम्पियन्स लिगको फाइनलमा गोल गरेका थिए । यसअघि सन् १९९५ मा आयक्सका प्याट्रिक क्लाइभर्ट र सन् २००४ मा एफसी पोर्टोका कार्लोस अल्बेर्टोले सबैभन्दा कम उमेरमा च्याम्पियन्स लिगको फाइनलमा गोल गरेका थिए ।
एकपक्षीय खेलको ७३औं मिनेटमा , ख्मिचा क्भाराटस्खेलियाले गोल गर्दै पीएसजीलाई ४–० को अग्रता दिलाएका थिए । उनले ओस्मान डेम्बेलेको पासमा काउन्टर अट्याकमा गोल गरेका थिए । त्यसपछि ८६औं मिनेटमा सेनी मायुलुले गोल गर्दै पीएसजीलाई सानदार जित दिलाएका थिए ।
लुइस एनरिक दुई फरक क्लबबाट च्याम्पियन्स लिगको उपाधि जित्ने छैटौं प्रशिक्षक बनेका छन् । उनले यसअघि स्पेनिस क्लब बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । उनी कार्लो एन्सेलेट्टी, पेप ग्वार्डिओला र जोसे मोरिन्होजस्ता सफल प्रशिक्षकहरूको पंक्तिमा पुगेका छन्।पीएसजीले इङ्लिस प्रिमियर लिग क्लबको तगारो पन्छाउँदै उपाधि यात्रा तय गरेको थियो । पीएसजीले म्यानचेस्टर सिटी, लिभरपुल, एस्टन भिल्ला र आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । पीएसजीले यसअघिको सन् २०२० मा च्याम्पियन लिगको फाइनल खेलेको थियो । त्यसबेला पीएसजी बायर्न म्युनिखसँग १–० गोलले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस !