डाक्टरले बुझेको अम्बेडकर मर्म
नेल्सन मन्डेला, गान्धी, माओ, लेनिन, माक्र्स र बुद्धहरूकै पंक्तिमा पर्छन्, अम्बेडकर । बरु नेपाल यो मामिलामा पछि छ ।
विभूतिको कुनै निश्चित सीमा हुँदैन । र, सबै मानिस विभूति हुन सक्दैनन् । चाहे त्यो कुनै देश वा भूगोलको किन नहोस् । उसको जन्म, संस्कार र मृत्यु निश्चित ठाउँ, भूगोल वा देशमा हुन सक्छ । तर, हाम्रो विभेदकारी सामाजिक दृष्टिकोण कस्तो हुन पुगेको छ भने विभूतिलाई पनि एउटा निश्चित ठाउँ, भूगोल, जात, धर्म र देशको नाममा विभेद गर्न थालेका छौं । यो भनेको मानव समाजको विश्व विचार र मान्यतालाई लत्याउनु हो । आफ्नो निहित स्वार्थका लागि अस्वस्थ आलोचना, टिप्पणी र अनावश्यक भ्रम सिर्जना गर्नु हो । यस्तो दूषित सोच, चिन्तन र चेतनाबाट माथि उठ्नु आजको आवश्यकता हो । अम्बेडकर विचार हो ।
वैशाख १५ गते सिराहाको लहानमा रहेको दलित दुसाध जातिको ऐतिहासिक धार्मिक स्थल सलहेश फूलबारी छेउमा भारतका विश्व प्रख्यात तथा तत्कालीन संविधान मस्यौदाकार डाक्टर भीमराव अम्बेडकरको पार्क जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतको पहलमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले एक करोड बजेट विनियोजनमा शिलान्यास गरे । यो शिलान्यासको विषयलाई लिएर केही मानिस र दलका नेता, कार्यकर्ता तथा स्थानीय जनप्रतिनिधि समेतले विरोध गरे । यतिसम्म कि पासवान समुदायका केही नेता, नेतृत्वले मुख्यमन्त्री सिंहलाई अम्बेडकर पार्क सलहेश फूलबारी वरिपरि नबनाउन ज्ञापनपत्र बुझाएपछि सम्भवतः नबन्ने निश्चित भएको छ ।
मधेसमा जब दलित समुदायको उत्थान, विकास, संरक्षण र स्थापित गर्ने कार्य हुन्छ, त्यसपछि यहाँका कथित उच्च जातिवादी तथा दलित भित्रकै यथास्थितिवादीहरूले अन्धाधुन्ध विरोध र बाधा अड्चन खडा गर्छन् । इतिहास यस्तै छ । यस्तो कार्यमा जनप्रतिनिधिसमेत अघि सर्ने गरेका छन् । यतिसम्म कि पुस्तौंदेखि बसोबास गरेको जमिनको लालपुर्जा दिनुपर्ने ठाउँमा डोजर लगाएर उठिबास नै किन लगाउँछन् ? के यो दलितको देश होइन ? के यहाँ दलितको अस्तित्व छैन ? दलित भएकै कारण उनीहरू अझै पनि दमन, शोषण, विभेद, अन्याय र अत्याचारको संगठित सिकार भइरहनुपर्ने हो ? दलित भएकै कारण उसको इतिहास, बलिदान र योगदानको कदरबाट वञ्चित हुनुपर्ने हो ? दलित भएकै कारण सलहेश फूलबारी जस्तो धार्मिक स्थलमा उनीहरूले आफ्नो कुल देवताको पूजा गर्नबाट वञ्चित हुनुपर्ने र लाखौं भेटी अरूले खाइरहनुपर्ने हो ?
प्रश्न यतिमा सीमित छैन । दलितको धार्मिक स्थल भएकै कारण सलहेश फूलबारी र दिनारामभद्रीहरूको ऐतिहासिक स्थलको भूमिहरू चौतर्फी रूपमा हड्प्नुपर्ने हो ? दलित भएकै कारण उनीहरू पुस्तौंदेखि बसोबास गरेको सार्वजनिक जग्गाको लालपुर्जाबाट वञ्चित हुनुपर्ने हो ? यसको जवाफ कसले दिन्छ ? वेलैमा यो कुरा दलित समुदायले बुझ्नुपर्छ । २०७९ को चुनावमा डाक्टर सिके राउतको व्यक्तित्व लहरले जनमत पार्टीले राम्रै भोट पाए । र, नेपालको राजनीतिक वृत्तमा उदाए । संघमा प्रत्यक्ष सिटको हिसाबले आफ्नो दलबाट उनी एक सिट मात्र हात पारे पनि समानुपातिक भोटको कारण संघमा ६ र मधेस प्रदेशमा प्रत्येक्षबाट ६ र समानुपातिकबाट ७ गरी १३ हात पारे । संख्यात्मक हिसाबले यो संख्या संसद्मा बहुमत होइन ।
तर, पनि उनले सरकारमा सहभागी भएर गर्न खोजेका केही प्रयास सराहनीय छन् । तर राजनीतिक संस्कारका कारण राम्रा कुरा हेर्नै नसक्ने, सुन्नै नसक्ने, सुरुआत विरोधबाटै गर्ने आदि प्रवृत्ति छ । यसको नाफा, घाटा र नोक्सानको हिसाब गर्दैनौं । हामीलाई थाहा छ डाक्टर सिके राउत मधेसका सीमान्त समुदायमा जन्मिएका एक प्रतिभावान व्यक्तित्व हुन् । जसबारे उल्लेख गरिरहनुपर्दैन । यस्तै, भारतमा जन्मिएका डाक्टर भीमराव अम्बेडकर पनि सीमान्तकृत दलित समुदायमा जन्मिएका विश्वप्रसिद्ध विद्वान् हुन् । उनको बारेमा पनि यहाँ धेरै कुरा बताइरहनुपर्दैन । यदि, कोही यसमा अनविज्ञ छन् भने खोज अन्वेषण गरे हुन्छ । तर, हामी त्यसरी नगरीकन केवल विरोधका लागि विरोध गर्ने जुन प्रवृत्तिको विकास भएको छ त्यो हाम्रो समाज विकासका लागि निकै घातक छ ।
सिके राउतलाई डाक्टर भीमराव अम्बेडकरसँग तुलना गर्न खोजेको छैन । न त सलहेश र अम्बेडकरकै तुलना गर्न खोजिएको छ । उनीहरूको आफ्नै खालको इतिहास, अस्तित्व र महत्व छ । यदि, एउटै चस्माले हेरियो भने फेरि अर्को अति हुन्छ । राजनीतिक हिसाबले जो जहाँ भए पनि केवल डा. अम्बेडकरलाई पहलकदमीको हिसाबले नेपालमा कसले कति छिटो बुझ्यो र अनुसरण ग¥यो भन्ने आत्मसात गरौं । गरेनौं भने ठूलो मूर्खता हुन्छ । किनभने आखिरमा आफ्नो इतिहासको संरक्षण, विकास र स्थापित गर्न स्वयं वर्ग र समुदाय नै अघि बढ्नुपर्छ भन्ने कुराको बोध विभिन्न घटनाक्रमले पुष्टि गर्दै आएको छ । नभए त्यो देखिने, डुब्ने र डुबाउने बाहेक केही हुँदैन ।
अम्बेडकर पार्कको जग्गाका लागि मुख्यमन्त्री सिंहले धेरै पालिकालाई पत्राचार गरेको भिडियो सन्देश सार्वजनिक गरिसकेका छन् । उनले ठाउँ र जग्गाका लागि भोगेका विषयसमेत समावेश छन् । उनले भनेका छन्, ‘थोरै जग्गामा भए पनि प्रयास गरेका थियौं । यहाँ ठाउँ र थोरै जग्गाको विषयमा बहस गर्न सकिन्छ । चित्त बुझाउन नसकिने ठाउँ छ । तर यो पनि सत्य हो कि यो अम्बेडकर पार्क अन्तिम होइन, थिएन । सलहेश फूलबारी नजिक बनाउँदाको अर्थ र महत्व बाहिर बनाउँदामा आकाश–पातालको फरक थियो, छ । जसरी सलहेश पुस्तौंदेखि गुमनाम छन्, त्यसरी नै अम्बेडकर पार्क फरक ठाउँमा राखियो भने गुमनामसँग जोडिन्छन् । यसमा डा. राउतले हतार गरेको देखिन्छ ।
सलहेश इतिहास मेटाउन त्यहाँ अम्बेडकर पार्क किन ? सलहेशबाहेक अर्काे ठाउँमा पनि पार्क निर्माण गर्न सकिन्छ। तर यति थोरै जग्गामा एक करोड पैसा भ्रष्टाचार गर्नलाई हो ? जस्ता अनेकन भ्रम सिर्जना गर्ने प्रयास भयो।
डाक्टरले नै डाक्टरको मर्म बुझेर होला, नेपालमा पहिलोपटक अम्बेडकर पार्क शिलान्यास गरी यसको सांसारिक ऐतिहासिक महत्वको भोक मेटाउने दुस्साहस राउतले गरेका थिए । तर, दलित विरोधी केही व्यक्ति र राजनीति दललाई यो पचेन । यो कार्यविरुद्धमा मान्छे उच्छाल्ने प्रयास गरे । दस धुर जग्गा दान गर्ने दातालाई समेत उनीहरूले प्रभावमा पारे । सलहेश इतिहास मेटाउन त्यहाँ अम्बेडकर पार्क किन ? सलहेशबाहेक अर्काे ठाउँमा पनि पार्क निर्माण गर्न सकिन्छ । तर, यति थोरै जग्गामा एक करोड पैसा भ्रष्टाचार गर्नलाई हो ? जस्ता अनेकन भ्रम सिर्जना गर्ने प्रयास भयो । यतिसम्म कि लोक नायक सलहेश समुदायका केही व्यक्तिहरूसमेत यसको विरुद्धमा लागे । अहिले त्यो पार्क निर्माणका लागि स्थानीय डाक्टर कासिन्द्रराम महराले र चर्चित अधिवक्ता शैलेन्द्र अम्बेडकर लगायतले पार्कका लागि आवश्यक जग्गा दान दिने घोषणा गरिसकेका छन् । डा. राउतले लोकनायक सलहेश र दिनारामभद्री लगायतको इतिहासको गरिमा विश्वभरि स्थापित गर्न सप्तरी लगायतका ठाउँमा लाखौंको लगानीमा शिलान्यास कार्यक्रम अगाडि बढाएका छन् ।
संसारका धेरै देशमा अम्बेडकरलाई पुज्छन् । उसको विचार र दर्शन मान्छन् । ठाउँठाउँमा उसको प्रतिमा पार्क छन् । नेल्सन मन्डेला, गान्धी, माओ, लेनिन, माक्र्स र बुद्धहरूकै पंक्तिमा पर्छन्, अम्बेडकर । बरु, नेपाल यो मामिलामा पछि छ । तर डाक्टर राउतले पहलकदमी लिएका थिए । एउटा विद्वान्ले विद्वान्को मर्म बोध गरे । राजनीतिलाई पर राखेर भए पनि सामाजिक न्यायलाई काँध थाप्ने प्रयास गरेका थिए । अरू दल र नेताले दलित बेचेर खाका छन् । किनभने, नेपालका शासक वर्गले अम्बेडकर पार्क र सालिक भित्र्याएकामा उनीहरू दुःखी थिए । उनीहरूको राजनीतिक भोट र सामाजिक अस्तित्व कमजोर हुन्छन् भने डर छ । जब कि नेपालमा शासक समुदायकै हाराहारीमा १३ प्रतिशत दलित समुदाय छन् । मधेसमा मात्र १८ प्रतिशतभन्दा धेरै दलित छन् । तर, उनीहरू अझै पनि यो व्यवस्थामा मनव अधिकार तथा मानवीय जीवनबाट वञ्चित छन् ।
तीन तहका सरकार र जनप्रतिनिधिसमेत पछिल्लो समय योजनाबद्ध तरिकाले दलितविरोधी तथा विभेदकारी गतिविधिमै सरिक छन् । उनीहरूका लागि दलित, दलित मुद्दा र समस्या केवल व्यापार र चुनावमा आफ्नो भोट दोहन गर्ने निर्णायक हतियार भएको छ । यसका लागि उनीहरूले बोल्ने एकथरी र गर्ने अर्काेथरी अर्थात् विभेदकारी चरित्र नै छन् । उनीहरूका हरेक योजना र विकास कार्यसमेत दलितविरोधी छन् । उनीहरू अझै पनि दलित अस्तित्व स्वीकार्ने पक्षमा छैनन् । दलितलाई अझै एउटा छेउकुनामै सीमित राख्न चाहन्छन् । यिनै सलहेश, अम्बेडकर, दिनारामभद्रीहरू कुनै देशमा भएको भए अर्थात् उनीहरूकै भइदिएको भए एउटा ठूलो धार्मिक ऐतिहासिक सर्किटको रूपमा विकास गरिसकेको हुन्थ्यो । तर दलित इतिहास भएकै कारण गुमनाम पारिएका छन् । अम्बेडकर पार्क सलहेश वा यस्तै दलित ऐतिहासिकताभन्दा फरक ठाउँमा स्थापित गरियो भने त्यो पनि गुमनाम जस्तै हुने हो । आज जसरी यो चर्चा, बहस वा विवादले राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण भएको छ, त्यसले ठाउँ पाउने थिएन । यो हिसाबले विरोध र खबरदारीले पनि ठूलै काम गरेको छ ।
आजसम्म दलित जात, धर्म र संगठनको नाममा कुन राजनीतिक दल र नेताले राजनीतिक भोटको रूपमा प्रयोग गरेको छैन ? सिके राउत त आज आयो । त्यो पनि सोही वर्गका प्रतिनिधि नेतृत्व हुन् । अम्बेडकर पार्क त्यहाँ निर्माण भयो भने सलहेश दलित भनेर संसारमा गन्हाउने र सलहेशको अस्तित्व, महत्व र इतिहास मर्ने जो चिन्ता केही वर्ग उत्थानवादी दलितहरूको संकुचित मानसिकताले प्रदर्शन ग¥यो, त्यो उनीहरूका लागि चुनौती पनि भयो कि अबको पालो यो ऐतिहासिकतालाई कसरी संरक्षण, संवर्धन र विकास गर्ने भनेर । नभए उनीहरूको नाम इतिहासमा कालो अक्षरले लेखिन्छन् ।
लोकनायक सलहेश र अम्बेडकरको तुलना गर्नुभन्दा युगमा उनीहरूको फरक–फरक योगदान र इतिहासको अनुसरण गर्नु आजको आवश्यकता हो । दुवै इतिहास दलितको प्रतिमा हुन् । दलितभन्दा फरक नजरले गैरदलित वर्गले हेरेको छैन । उनीहरूलाई हेर्ने नजर धार्मिकताले मात्र साझा छन् तर भित्री नजर दलित नै हो । विचार र वर्गको हिसाबले सलहेश र अम्बेडकर साझा हुन् तर जन्म र जात तथा समाजिक विभेदको दृष्टिले दलित नजर नै हो । यसर्थ, उनीहरूको इतिहासमाथि बेइमानी हुँदै आएको छ । त्यसैले दलित समुदाय स्वयंले आफ्नो इतिहासलाई जे छ, सोही रूपमा हेर्न, बुझ्न र स्थापित गर्ने साहस गर्नुपर्छ । अन्यथा विभेदकारी वर्गले हेर्ने नजर र गर्ने व्यवहारमा परिवर्तन आउन सक्दैन ।
प्रतिक्रिया दिनुहोस !