सुरू भयो बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण

सुरू भयो बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण
म्याग्दीको रघुगङ्गा–६ पाखापानीमा बृहत घोप्टेखोला खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्र निर्माण गरिँदै । तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : म्याग्दीको बहुप्रतिक्षित गौरवको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण सुरू भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले ठेक्कामार्फत् निर्माण सुरू गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छ वटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुनेछन् । 

३५ करोड ६३ लाख ३९ हजार सात सय २७ रुपैयाँ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत असारमा २८ करोड ५० लाख १२ हजार सात सय ५५ रुपैयाँमा जिएटिआरसी–प्यागोडा–सासा जेभीले ठेक्का सम्झौता गरेको थियो ।

आयोजना प्रमुख इञ्जिनियर सुनम थापाले ठेकेदार कम्पनीले रघुगङ्गा गाउँपालिका–६ करेन्टखोलामा मुहान,मुख्य पाइपलाइन र पानी प्रशोधन केन्द्रको संरचना निर्माण सुरू गरेको जानकारी दिइन् । ठाडाखानीमा यसै आर्थिक वर्षभित्रमा योजनामार्फत खानेपानी वितरण गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताइन् ।

‘यस वर्ष बिनियोजन भएको तीन करोड भन्दा बढीको काम भइसकेको छ,’आयोजना प्रमुख थापाले भनिन् ‘वि.स.२०८१ असार २४ गते सम्झौता भएको योजना वि.स.२०८४ असार २३ गते सम्पन्न गर्ने लक्ष्य छ ।’ संघीय सरकारको खानेपानी मन्त्रालयको केन्द्रिय खानेपानी कार्यक्रममा वि.स.२०७३ देखि समावेश भएको यो योजनालाई तत्कालीन जिविसको जिल्ला परिषद् र संघीयता कार्यान्वयनपछि जिल्ला सभाले म्याग्दीको गौरवको आयोजनाको सूचिमा समावेश गरेको छ । 

बेनी नगरपालिकाको ५, ६, ९, १० नम्बर वडा, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी वि.स. २०७३ मा परिकल्पना गरिएको बृहत घोप्टेखोला खानेपानी योजना निर्माण गर्न पछिल्लो पटक सन २०२२ मा सर्वेक्षण भएको थियो । 

योजनामार्फत् १६ हजार एक सय ८६ जनसंख्या लाभान्वित हुने आयोजनाका इञ्जिनियर नविन सुवेदीले बताए । रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइपलाइनमार्फत् ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट वितरण पाइपमार्फत् पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ ।

मुहान, ७६.२९ किलोमिटर मुख्य र ८६.२४ किलोमिटर वितरण पाइपलाइन,पानी प्रशोधन पलान्टलगायतका संरचना ठेक्कामार्फत निर्माण गर्न लागिएको हो । कूल  ४८ करोड १६ लाख ५० हजार लागत अनुमान गरिएको आयोजनाको १० प्रतिशत सहभागीता उपभोक्ताहरुको रहनेछ । उपभोक्ताले गर्नुपर्ने वितरण लाइन खन्ने र पुर्ने कामका लागि बेनी नगरपालिका र रघुगंगा गाउँपाकिलाले स्रोत सुनिश्चतता गरेका छन् । 

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले करिब एक दशकको प्रयासमा घोप्टेखोला खानेपानी योजना कार्यान्वयनमा आएको बताए ।  ‘४८ करोड लागत अनुमान गरिएको योजनालाई खानेपानी मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरेपनि डिपिआर स्विकृत र बजेटको स्रोत सुनिश्चितता नुहँदा कार्यान्वयन हुन सकेको थिएन,’ उनले भने ‘२०८० फागुनमा अर्थ मन्त्रालयले ३७ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेपछि ठेक्का आव्हान गरेर कार्यान्वयन सुरु भएको हो ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.