भ्यालेन्टाइन क्रिकेट ब्वाई

भ्यालेन्टाइन क्रिकेट ब्वाई

क्रिकेट खेलमा त्यति जाबो २ रन पनि कहिलेकाहीँ आकाशको तारासरह भइदिन्छ। अहिले करनको लागि तारा होइन, सूर्यकै दूरीमा रह्यो त्यो २ रन। विकेटकिपर बलरसामु आएर खुसुरफुसुर गर्छ।

योकथा सोझिन्छ, सात वर्ष अगाडितिर। प्रसंग सन् २०१८ आईसीसी विश्वकप लिग डिभिजन दुईमा। त्यस वर्ष फेब्रुअरी ८ देखि १५ सम्म नामिबियामा कुल १८ खेल भए। यूएई, क्यानडा र नामिबियाको समान ६ अंक नै भए पनि रनरेटको आधारमा नेपालसँगै विश्वकप क्वालिफाइङका लागि यूएई छनोट हुन सफल भएको थियो।

फाइनलमा यूएईले नेपाललाई ७ रनले हराई उपाधि जिते पनि प्रतियोगिताभरि सर्वत्र नेपाल नै छाएको थियो। सर्वाधिक १७ विकेट लिएका सन्दीप लामिछाने प्लेयर अफ द सिरिज भए भने सर्वाधिक रन पारस खड्का (२४१ रन) को नाममा रह्यो। तर क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जितमा सुपर हिरो साबित भए– करन केसी। क्यानडा र नेपालबीचको खेल बराबरी (टाई) मा सकिएको भए समान ७ अंकसहित दुवै छनौट हुने थियो तर क्यानडाको दुर्भाग्य। त्यसो त नेपालले उक्त खेल जित्न नसकेको भए नेपाल डिभिजन टु मै रोकिने थियो।

१९५ रनको लक्ष्य पछ्याएको नेपालले दसौं नम्बरमा ब्याटिङ गर्न आएका करन ३१ बलमा ४२ रन (अविजित) ठोकेर वान्डरर्स क्रिकेट मैदानमा तहल्का मच्चाए। यसरी नेपाल अर्को महिना जिम्बाबेमा हुने विश्वकप छनौट खेलका लागि स्थान बनाउन सफल भएको थियो। प्रशिक्षकका रूपमा जगत टमाटा थिए।

अब आऔं उक्त खेलतर्फ। विन्डहोइडको वान्डरर्स क्रिकेट ग्राउन्डमा प्रतियोगिताको १३औं खेलमा नेपालले टस जितेर फिल्ड गर्ने निर्णय गर्‍यो। क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई १९४ रन बनाउन सफल भयो। वसन्त रेग्मीले ३ विकेट, सन्दीपले २ विकेट, करन केसी र शरद भेषवाकरले  समान १ विकेट लिए। १९५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवाती नाजुक भयो। सातौं ओभरमा सेसिल परवेजको बलिङमा कप्तान र उपकप्तान एकै ओभरमा गुमायो।

नियमितजसो नेपालको विकेट झर्ने क्रममा २२औं ओभरमा दिलीप नाथ, २३औं ओभरमा शरद, २५औं ओभरमा दीपेन्द्र र थप तीव्र गति विकेट झर्ने क्रममा ४१औं ओभरमा सोमपाल, ४२औं ओभरमा वसन्त र ४३औं ओभरमा आरिफ शेख आउट हुने बेलासम्ममा नेपालले जितका लागि ४७ बलमा ५१ रन (अर्थात् नेपाल १४४÷९ स्थितिमा) बनाउनुपर्ने थियो। अर्थात् नेपालको बोर्डमा केवल ८१ रनको नाजुक अंक अंकित थियो। अब भने भ्यालेन्टाइन सप्ताहमा प्रेममा पागल होइन, नेपाली क्रिकेट प्रेमीहरूका भ्यालेन्टाइन ब्वाईको अभूतपूर्व प्रदर्शनतर्फ लागौं। नेपाली इनिङको ४२औं ओभरमा डिलोन हेयलिगरको बलमा हाम्जा तारिकले ब्याट छोएर आएको बल क्याच गरी वसन्त रेग्मीलाई शून्यमा आउट गरेसँगै मैदानमा आए– करन। उनले बाँकी दुई बलमा रन दिन सकेनन्।

यस्तैमा, खेलको ४३औं ओभरको पहिलो बलमै दत्तको बलमा हाम्जा तारिकले फेरि स्टम्पिङ गरी टिकेर खेलिरहेका आरिफ शेखलाई पनि आउट त्यसपछि क्रिजमा करनलाई साथ दिन आएका सन्दीप लामिछानेले बाँकी पाँच बलमा कुनै रन जोड्न सकेनन्। खेल १४४÷९ को स्थितिमा। नेपालको थप विकेट झर्नासाथ, गेम ओभर। भनिन्छ नि, वन मिस्टेक गेम ओभर।

४४औं ओभरमा डिलोन हेयलिगरको सुरुवाती तीन बलमा करनको ब्याटबाट कुनै रन निस्केन, चौथो बलमा चौका हाने र अन्तिम बलमा छक्का हाने, यस ओभरमा एक वाईडसँगै कुल ११ रन प्राप्त भयो। ४५औं ओभरमा एउटा वाइड र सन्दीपको ब्याटबाट एक रन गरी जम्मा दुई रन मात्र प्राप्त भयो। खेल ४६औं ओभरमा पुग्दा नेपालले ३० बलमा अझै ३८ रन बनाउनुपर्नेछ। कुनै विकेट बाँकी छैन, दर्शकको मुटु जोड जोडले धड्कन थाल्छ।

४६औं ओभरको अन्तिम बलमा करनको ब्याटबाट एक चौकाबाहेक केही उल्लेख्य भएन, थप एक वाइड र एक रन (सन्दीपको ब्याटबाट)। ४७औं ओभर पनि खासै उपलब्धिमूलक भएन। दुवैले केवल एक, एक रन जोड्न सके। ४८औं ओभरमा १८ बलमा ३० रन आवश्यक भइसक्यो। यस ओभरको चौथो बलमा करनले छक्का प्रहार गरेर थोरै आशा जगाइदिए। यसको अलावा थप ३ रन पनि थपियो। ४९औं ओभरमा १२ बल बाँकी, २१ रन बनाउनुपर्ने, सम्भव होला ?

त्यसो त क्रिकेट असम्भवबीच सम्भव, आश्चर्यको खेल हो, जेसुकै हुन सक्छ तर हातमा विकेट बाँकी मरु। ४९औं ओभरका लागि सत्सिम रन्जित धिन्दसा आए बलिङ गर्न। पहिलो बल नो रन, दोस्रो बलमा करनले १ रन, तेस्रो बल सन्दीपले १ रन, स्ट्राइक रोटेसन, चौथो बलमा करनले छक्का ठोके, पाँचौं बलमा चौका अनि अन्तिम बलमा एक रन लिई अर्को ओभरको लागि स्ट्राइक आपैंmसँग राखे। खेल पूरै नाटकीय हुँदै थियो। दर्शक खेलाडी सबैको मुटु भट्याक भट्याक, दर्शक सबैको नजर टीभी स्क्रिनमा सुपरग्लु नै टाँसेर राखे झैं भयो।

क्लाइमेक्स : यस्तैमा अन्तिम ओभर बलिङ गर्न आए सेसिल परवेज। ६ बल ८ रन आवश्यक। बल बाउन्ड्रीमा कुनै पनि हालतमा नपठाउने अभिप्रायले फिल्डमा खेलाडीको व्यापक फेरबदल। यसैबीच करनले चारैतिर नजर डुलाए। आफूलाई महाभारतको रणभूमिमा चक्रब्यूहमा फसेका अभिमन्यूभन्दा कम ठानेनन् होला। शिरमा करिब पौने ३ करोड नेपालीको आशिष त थियो। 

तर दिमाग शुन्य प्रायः। एउटै दिव्यदृष्टि सेसिल परवेजले फाल्ने बलमा। त्यसैले सेसिल परवेजको हरेक स्टेप गहिरिएर विचार गरिरहेका। मानौं सेसिल परवेजले आपूmतर्पm बल होइन मिसाइल फालिरहेको झैं। पहिलो बल योर्कर, करन केही गर्न सक्दैनन्, बल किपर नाघेर गयो तर रन लिन सकिने अवस्था थिएन। दोस्रो बल अलिकति वाइड जान्छ करनको ब्याटले छुन पनि छुँदैन, वाइड पनि मानिएन। ४ बलमा ८ रन चाहिने भइसक्यो, ओंठतालु सुकेको छ सबैको।

तेस्रो बल अर्जुनले माछाको आँखा ताकेर निशान फालेझैं सेसिल परवेजले स्टम्प ताकेर बल फ्याँक्यो, करन किंकर्तव्यविमूढ अवस्थामा। चौथो बल पनि शून्य रन। थुईऽऽया। योर्कर फालेको बल करन नाघेर विकेटकिपरसम्म पुग्यो। अब त २ बल ८ रन। यस ओभरका सुरुवाती ४ बल बालुवामा पानी हाले सरह भइसक्यो, बगेको खोलो 
कसैगरी फर्किंदैन, थकथक मान्नु शिवाय।

यसैबीच करन एकाएक लामो निद्राबाट ब्युँझेका कुम्भकर्ण झैं ब्युँझिएर सेसिल परवेजले फ्याँकेको पाँचौं बललाई करनले कम्मरमाथिबाट निकै उठाएर बाउन्ड्री नघाइदिन्छ। एकाएक तीन कोटी नेपालीको सास फर्किन्छ। अब नेपाली डगआउटमा रहेका खेलाडीहरूको पनि दिसा छुट्ला जस्तो, पिसाब छुट्ला जस्तो छटपटी हुन्छ। अब केवल २ रन तर १ मात्र बल बाँकी।

क्रिकेट खेलमा त्यति जाबो २ रन पनि कहिलेकाहीँ आकाशको तारासरह भइदिन्छ। अहिले करनको लागि तारा होइन, सूर्यकै दूरीमा रह्यो त्यो २ रन। विकेटकिपर बलरसामु आएर खुसुरफुसुर गर्छ। करनलाई इमोसनल दवाब दिन्छ। टाईको स्थितिमा थिएन, त्यसो हुँदो हो त दुवैको समान ७ अंक, दुवै छनोट। म्याच फिक्सिङ सोच्न पनि सकिने अवस्था थिएन। खेल जसको पक्षमा पनि जानसक्ने अवस्था। मैदानभित्र फेरि खेलाडीहरूको व्यापक फेरबदल।

अन्तिम बल। सेसिल परवेजबाट बल वाईड फ्याँकिन पुग्यो। स्कोर बराबरी, शायद यो क्यानाडाको चलाकी पनि हुन सक्छ। यही अवस्थामा खेल सकिएको भए, शायद... शायद...। दुवै छनोट हुन सक्थ्यो। तर भावीलाई त्यो मञ्जुर थिएन। छैटौं बल फेरि फ्याँक्नुपर्ने भयो, सेसिल परवेजले। फ्याँके पनि। यस बलमा करनले आँखा चिम्लेर सास रोकेर २२ यार्डको पिच एकैसासमा पार गरी निकै दुःखजिलो एक रन जोड्न सफल भए।

सन्दीपले पछिल्लो ३८ मिनेट देखि करनलाई दिइरहेको साथ सफल साबित भयो। सन्दीपले यस बीच आशा निराशाबीच करनलाई साथ दिइरह्यो, बलियो साथ, कति पटक त करनको लागि स्ट्राइकमा राख्यो। यसरी करन युवतीहरूको भन्दा पनि नेपाली क्रिकेट लभर्सहरूको भ्यालेन्टाइन ब्वाई बने, त्यस दिनदेखि। नेपाली क्रिकेट इतिहास, शायद विश्व क्रिकेट इतिहासमा यो दुर्लभ ल्यान्डमार्क हो, १०औं विकेट पार्टनरसिप ५२ बलमा ५० रन।
खेलपछि ननस्ट्राइकर एन्डबाट करनलाई साथ दिइरहेका सन्दीप खुसी एवं अघिको नर्भसको ह्याङओभरमा ‘नन्स्ट्राइकर एन्डमा बस्नुपर्दा निकै डरमर्दो थियो, विकेटमा टिकिराख्नु म गर्छु, मैले सक्छु भने, उनले गरे पनि। नभन्दै निकै ठूलो छक्का करिब ९० मिटर लगाए। एकपछि अर्को चौका र छक्काको वर्षात् नै गरे। मलाई ऊप्रति विश्वास थियो। धन्य भगवान् हामीले जित्यौं।’

कप्तान पारस खड्का चाहिँ ‘यो सबै कडा मेहनतको नतिजा हो। विगत ९, १० वर्षदेखि हामीले डिभिजन ५, ४, ३ हुँदै यहाँसम्मको यात्रा तय गरेका हौं। यसबीच कति धेरै उतारचढाव आए, सबै केटाहरूले कडा मेहनत, अनुशासन, इमान्दारिता प्रदर्शन गरे। भगवान्को कृपा पनि हामी माथि भइरह्यो। क्रिकेटमा अन्तिम बल नफ्याँकेसम्म खेल सकिएको हुँदैन, जुनसुकै बेला आज जस्तो आश्चर्य पनि हुन सक्छ। आज फेरि हामीले साबित गर्‍यौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.