‘विनय’ खोजीमा सिएनको डेढ दशक
जीवनको अन्तिम वर्ष पाटलिग्राम, कोटिग्राम, नादिका, वैशालीपछि बेलिग्राम पुगे उनी। अन्तिम वर्षबास बसेका उनै बुद्धले आनन्दलाई तीन महिनापछि तथागत अर्थात् आफू परिनिर्वाण हुने बताए। त्यो बताइरहँदा आनन्द भावुक भए। अनेकन क्षेत्र विहार गर्दै बुद्ध हिरण्यनदी पारी शालवन पुगे।
यहाँ दुईवटा सालको रुखबीचमा उत्तरतर्फ सिरान राखी दाहिनेतिरबाट सिंहशय्या गरी दायाँ खुट्टामाथि बायाँ खुट्टा राखी स्मृति सम्प्रज्य भई बुद्ध शयन गरे। शालवनमा बुद्धले देशना गरे। तथागतको महानिर्वाणपछि श्रद्धालु कुलपुत्रको निम्ति जहाँ (लुम्बिनी) बोधिसत्वको जन्म भयो। जहाँ (बोधगया) बुद्धत्व प्राप्त भयो। जहाँ (सारथान) प्रथम धर्मचक्र प्रवद्र्धन गरे। जहाँ (कुशीनगर) तथागत अनुपादिशेष निर्वाणधातुबाट परिनिर्वाण हुन्छन्। यी चारस्थान दर्शनीय र संवजनीय हुनेछन्। आनन्दलाई आज्ञा गर्दै बुद्धले भने, ‘तथागतको शरीरलाई चक्रवर्ती राजाको शरीर झैं दाहसंस्कार गर्न सकिन्छ। चैत्य बनाउन बुद्धको, प्रत्येक बुद्धको, अरहत् भिक्षुको तथा चक्रवर्ती राजाको अस्तिधातु योग्य हुन्छ।’ अनि बुद्धले भिक्षुहरूलाई आमन्त्रण गरे, ‘भिक्षु हो। अब म भन्दछु कि सबै संस्कार नश्वर हुन्, अप्रमादपूर्वक सम्पादन गर।’ तथागतको यो अन्तिम वाक्य हो।
बुद्धको महापरिनिर्वाणपछि दाहसंस्कार भयो। अस्थिधातु आठ राज्यमा बाँडेर स्तुप, चैत्य बनाइए। बुद्धको महापरिनिर्वाणको सय दिनपछि राजगृहमा प्रथम सँगायना भयो। बुद्धका देशना भिक्षु आनन्द र उपालिले सबै भिक्षुलाई सुनाए। भिक्षुहरूले स्मरण गरे। बुद्धका उपदेशहरू श्रवण परम्परामै एकबाट अर्काेमा हस्तान्तरण हुँदै गए। बुद्ध शिक्षा अनुसरणमा पुगेका मौर्यसम्राट् अशोक पवित्र बुद्ध जन्मस्थल खोज्दै ईशापूर्व २४० तिर लुम्बिनी आए। उनले लुम्बिनीमा बुद्ध जन्मेको यही हो भनि अभिलेख लेखी चट्टानी स्तम्भ ठडाए। उनी लुम्बिनीपछि गोटिहवा, निग्लिहवा पुगेर कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल पहिचान गराउनेगरी स्तम्भ ठड्याएर छाडे। धर्मको प्रवद्र्धनमा सम्राट अशोकले आफ्नै परिवारका सदस्यलाई श्रीलंका पठाए।
श्रवणपरम्परा हुँदै अनुयायीमार्फत बुद्धका उपदेश फैलिँदै गए। श्रीलंकाका राजा बट्टगामिणीलाई लाग्यो, तथागतका उपदेशहरू लेखिएन भने अर्थको अनर्थ भई हराउन सक्छन्। धर्म विसंगतितर्फ जान सक्छ। उनकै शासनकाल ईशापूर्वको २९ तिर श्रीलंकाको आलुबिहारे गुफा मोनास्ट्रीमा पामको पातमा पाली भाषामा त्रिपिटक लिपिबद्ध गर्न थालियो।
बुद्धका उपदेशहरू देशदेशान्तर हुँदै ईशाको ६७ तिर चीन पुगे। चीनमा बुद्धधर्म फैलिन थाल्यो। भिक्षु संघ बने। पिटकहरू भित्रिए। सन् ३३७ तिर चीनको फिगयाङ हालको सान सी प्रदेशमा एक कुङ् सेहीनामक बालकको जन्म भयो। भिक्षु संघमा दान चढाइएका कुङ्ले दस÷बाह्र वर्षको उमेरमा बाबुआमा गुमाए। श्रामणेर कुङ् प्रवज्जित भई फा सिएन (फाहियान) बने। प्रवज्यापछि उनले विनयको अभ्यास गर्न लागे, बुद्धका धर्माेउपदेशहरू पढे। भिक्षु भई पाँच दशक अभ्यास गर्दा उनले अभ्यास गरेको विनय अधुरो लाग्यो। उनी दुःखित भए। उनले संकल्प लिए, ‘बुद्धभूमि पुगेर त्रिपिटक ल्याई बुद्धका पूर्ण उपदेशको ग्रहण र प्रचार गर्नेछु।’
साथीहरू ह्विचिङ, ताओचङ, ह्वी ईङ र ह्वी ओएनामक चार भिक्षुसँग सल्लाह लिए। अन्ततः पाँच भिक्षुहरू भारतवर्ष जान तयार भए। सन् ३९९ तिर अर्थात् आजभन्दा १६२४ वर्षअघि चीनको छाङआन् (हालको सिआन्)बाट ६२ वर्षको उमेरका फा सिएनसहितका भिक्षुहरू भारतवर्षको यात्रामा हिडे।
बाटोमा रथको सुविधा थिएन। न त नदीखोलामाथि पुल थिए। बुद्ध जन्मभूमिको खोजीमा उनीहरूले अनवरत यात्रा तय गरे। विनय पिटकको खोजमा हिँडेका फा सिएनले लंगबाट यात्रा सुरु गरे। यांगलो पर्वत पार गरे। कही वर्षबास बसे, कही वर्षदिन नै एकै स्थानमा रहे। यात्राको १ वर्ष ३ महिना १७ दिनमा फा सिएन शेनशेन प्रदेशमा आए। फा सिएनको यात्रा विवरणमा उल्लेखित स्थानको नाम र समयका विषयमा पश्चिमा मुलुकका लेखक र भारतीय लेखकबीच फरक मत छ।
यात्राका अनेकन कठिनाइ पार गर्दै फा सिएन पाकिस्तानको गान्धार आए। गान्धारबाट तक्षशिला। लक्षशिलामा बहुमूल्यजडित महास्तूप थियो, घुमे। तक्षशिलापछि पेसावर आए। बिरामी भएका हुईकिग भिक्षापात्र बिहार बिते। यात्रालाई निरन्तर गर्दै बुद्धको शिरको हड्डी राखिएको विहार पसेर फासिएन अघि बढे। मरुभूमि, हिऊ, बर्खा, खोला नाला, चट्टानको यात्रा कम्ता चुनौतीपूर्ण थिएन, बुद्ध शिक्षा र विनयको अठोटले यात्रा रोक्न दिएन्। दक्षिणपूर्वको यात्रा गर्दै बाँकी यात्री मथुरा आए। मथुराबाट यमुना नदीको किनारैकिनार संकाश्य नगरमा भित्रिए। यी हाल भारतमा पर्छन्।
बुद्धले महापरिनिब्बान सुत्तमा भनेजस्तै चार पवित्रको स्थलमा पुगे। कौशलको राजधानी श्रावस्तीमा पुगे। श्रावस्ती निकै उजाड थियो। दुई सय जति घरहरू थिए। साततले जेतवन विहार दर्शन गरे। बुद्धले २५ वर्ष बिताएको स्थानमा पुग्दा उनीहरू गद्गद् थिए। श्रावस्तीबाट फा सिएन कपिलवस्तु आए। क्याम्ब्रिज विश्वविद्यालयका चिनियाँ भाषा प्रोफेसर एचए गिल्सले द ट्रावेल अफ फा सिएन (१९२३) पुस्तकमा लेखेका छन्, श्रावस्तीबाट १२ योजन दक्षिणपूर्व हिँडेपछि फा सिएन ‘नभिगा’ भन्ने गाउँमा पुगे। जहाँ क्रकुछन्द बुद्ध जन्मिएका थिए। आफ्नो पितासँग भेटे। त्यही परिनिर्वाण प्राप्त गरे। उनको स्मृतिमा एउटा विहार र एउटा स्तूप थियो। त्यहाँबाट एक योजनभन्दा कम हिँडेपछि कनकमुनि बुद्ध जन्मेको स्थानमा पुगे। स्तूप थियो। जुन अहिले कपिलवस्तुको निग्लिहवा र गोटिहावामा पर्छन्।
बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुमा राजा शुद्धोधनको दरबार थियो। शाक्य राज्यको भैभव फा सिएनले देख्न पाएनन्। उनी आउँदा न राजा थिए, न प्रजा। कपिलवस्तु खण्डहर थियो। कपिलवस्तुमा गृहस्थीका १० घर थिए, केही श्रामणेरहरू, साधुसन्तहरू। उनले शुद्धोधनको महलमा सिद्धार्थ गौतम र मायादेवीको मूर्ति देखे। जहाँ सिद्धार्थ श्वेत्त हात्तीमार्फत आमाको गर्भमा पसेका थिए। त्यही नगरको पूर्वीद्वारमा सिद्धार्थले रोगी मान्छे देखी रथ फर्काएर ल्याएका थिए। सो स्थानमा स्तूप निर्मित थियो। फा सिएनलाई त्यो स्थान पनि देखे, जहाँ असित ऋषिले शुद्धोधनका बालक सिद्धार्थको भविष्य बताएका थिए। ऋषिले सिद्धार्थलाई चक्रवर्ती राजा वा साधु बन्ने बताएका थिए।
दरबारपछि बनेका स्तूप भत्किँदै गरेका अन्तिम शेषहरू थिए। जुन अहिले उत्खननमा भेटिएका छन्। बुद्धले ज्ञान प्राप्तपछि बाबु शुद्धोधनको दर्शन गरेको स्थान, ५०० शाक्यको गृहत्याग, उपालीले प्रवज्या पाएका थिए। पृथ्वी ६ पटक विचलित भई कम्पिएको थियो, त्यही स्थान बुद्धले देवताहरूलाई धर्माेपदेश दिएका थिए, प्रजापतिले भिक्षु संघलाई संघाती (कपडा) प्रदान गरेकी थिइन्, ती स्थानमा स्तूप बनेका थिए। भारतीय लेखक जगन्मोहन बर्माको फा सिएन ट्राभलर बुक (१९७५) का अनुसार फा सिएनले ती भत्किँदै गरेको अर्थात् अन्तिम अवस्थामा देखे।
नगरको पूर्वतिर राजाको खेत थियो। जहाँ सिद्धार्थ रुखको फेदमा बसेर जोतेको हेर्दै ध्यानमग्न हुन्थे। फा सिएनले ती खेतहरू पनि देखे। कपिलवस्तुदेखि ५० लि (एक माइलको एकतिहाइ) पूर्व प्रसिद्ध उपवन (जंगल) लुम्बिनी थियो। महारानी मायादेवीले त्यही जंगलमा रहेको एउटा कुण्डमा स्नान गरिन्। २० पाइलाअघि सरेर पूर्व फर्की एक रुखको हाँगा समातिन्। सिद्धार्थको पृथ्वीमा जन्म भयो। सिद्धार्थ सात पाइला अघि हिँडे। दुई नागराजले कुमारलाई नुहाइदिए। जहाँ सिद्धार्थलाई नुहाइएको थियो, फा सिएनले त्यहाँ पानीको कुण्ड देखे। त्यही कुण्डको पानी श्रामणेरहरूले भाँडोमा भरी पिउँथे।
कपिलवस्तु राज्य नै शून्यप्रायः थियो। आदिवासीहरू निकै कम थिए। कपिलस्तुबाट लुम्बिनी वन जाँदा बाटामो सेता हात्ती र सिंह थिए। उनले यात्रावर्णनमा सावधानीपूर्वक हिँड्नुपर्ने लेखेका छन्। फा सिएन बुद्धको जन्मस्थानदेखि पाँच योजनपूर्व रामग्राम पुगे। जसलाई भारतीय विद्वानहरूले राम नामक जनपद, कपिलवस्तु र कुशीनगरको बीचमा पर्छ भन्ने दाबी गरेका थिए। क्याम्ब्रिज विश्वविद्यालयका चिनियाँ भाषा प्रोफेसर एचए गिल्सले ‘द ट्राभल अफ फा सिएन’ (१९२३) पुस्तकमा स्पष्ट रूपमा रामग्राम नै लेखेका छन्। पुरातात्त्विक अन्वेषणले नवलपरासीको रामग्राम नै फा सिएनले देखेको स्तूप रहेको मानिन्छ।
बुद्धको महापरिनिर्वाणपछि ८ भागमा अस्तुधातु बाडिँदा यहाँका राजालाई एक भाग मिलेको थियो। त्यही अस्तुधातु राख्न राजाले स्तूपा बनाए। स्तूपा छेउछाउमै बस्ने नागले स्तुपाको रक्षा र पूजाआजा गर्थे। जब राजा अशोकले ७ वटा अस्तुधातु राखिएका स्तूपा तोडेर ८४ हजार स्तूप बनाए। नागले रामग्रामको स्तूप भने तोड्न दिएनन्। उनी रामग्रामका नागहरूको समर्पण देखेर प्रभावित बने, अस्तु धातु लिनबाट पछि हटे।
जंगलको बीचमा रहेको रामग्रामका सन्दर्भमा फा सिएनले अनौठो दृश्य वर्णन गरेका छन्। एक दिन एक यात्री स्तूप नजिकै गए। हात्तीहरूको बथानसँग डराएर रुखमा चढेर हेरे। हेर्दा त हात्तीहरूको बथानले सुढमा पानी बोकेर स्तूपामा छर्किन्थे। अनेक फूलहरू ल्याई चढाउथे। नियमित पूजाविधि गरिरहेका थिए। ती दृश्यले भावविह्वल भएका यात्री पञ्चशील र दशशील पालना गरेर भिक्षु बने। स्तूपा आसपासको घाँसपात काटी सफासुग्घर गरे। जनपदका राजामार्फत भिक्षुहरू बस्ने स्थान विहार बनाई आफू नायक बनेर रहे।
त्यही समयदेखि रामग्राममा श्रामणेर नायक हुने प्रचलन रह्यो। फा सिएनले त्यो देखे।
फा सिएन रामग्रामबाट तीन योजनपूर्व पुगे, जहाँ सिद्धार्थ गौतमले गृहत्याग गरी सारथि छन्दक, उनको रथसहित घोडा कन्थकलाई कपिलवस्तु फिर्ता पठाएका थिए। त्यहाँ एक स्तूप बनाइएको थियो। बौद्ध ग्रन्थहरूमा यो स्थानलाई अनोमानदी भनिएको पाइन्छ। नवलपरासीको रामग्रामदेखि पूर्वी क्षेत्र नदी किनारमा हाल पनि अनोमाघाट रहेको छ। यहाँ स्तूपा रहेको भनिए पनि यसको उत्खनन भएको छैन। फा सिएनले यात्रा विवरणमा यो स्थानको नाम भने उल्लेख गरेका छैनन्। भारतीय विद्वानहरूले यो क्षेत्र पनि गोरखपुर आसपास रहेको दाबी गर्छन्।
त्यसपछि उनी चार योजन टाढा उनी अग्निकाष्ट स्तूप भएको स्थानमा पुग्छन्। त्यहाँ एउटा विहार थियो। त्यहाँबाट १२ योजनपूर्व हुँदै फा सिएन कुशीनगर पुगे। जहाँ बुद्धका अन्तिम शिष्य शुभद्रलाई अर्हन्त पद मिलेको थियो। बुद्ध मृत्यशय्यामा लिन थिए, जहाँ वज्रपाणिले आफ्नो अस्त्र अलग राखेका थिए, त्यही बुद्धको महापरिनिर्वाण भई अस्तुधातु आठ स्थानमा बाँडिएको थियो। यी सबै स्थानमा स्मारक स्तूप थियो। कुशीनगरपछि १२ योजन दक्षिणपूर्व हुँदै फा सिएन वैशाली पुगे। जहाँ बुद्धको महापरिनिर्वाणको सय वर्षपछि सात सय भिक्षु सहभागी भई महासभा भएको थियो। जसको स्मृतिमा स्तूप बनेको थियो।
वैशालीपछि मगध, राजगृह, वेनुवन, गया, बनारस, पाटलीपुत्र हुँदै सिलोन (श्रीलंका) पुगे। सिलोनमा दुई वर्ष बिताएर समुन्द्रमार्ग हुँदैर उनी चीन फर्किए। फा सिएनले छाङआन्देखि मध्यदेशसम्म आउन ६ वर्ष लगाए। ६ वर्ष घुमफिरमा बिताए। तीन वर्ष गाउँ फिर्ता हुँदासम्म १५ वर्ष बिताए। साथीहरूसँग आएका उनी फर्किंदा भने एक्लै भए। केही साथी मरे, केही बीचमै यात्रा छाडे, केही मध्यदेशमै बस्ने अठोट गरे।
फा सिएनले बुद्धभूमिमा आउँदा केवल यात्रा मात्रै गरेनन्। बाटोमा पर्ने विहारहरूमा रात बिताए। कति स्थानमा वर्षबास बसे। त्यहाँको राज्य, धर्मप्रतिको लगाव, संस्कृति, आर्थिक अवस्थाका विषषमा ध्यान दिएर बुझे। जस्तो कि सेनसेन देशमा बौद्धधर्मालम्बी नै राजा थिए। यहाँ हिनयानका चार हजार भिक्षु थिए। उनले यात्राका क्रममा सबैभन्दा धेरै बुद्धधर्मका अनुयायी देखे। खोतीन राज्यमा अधिकांश महायानी सम्प्रदायका अनुयायी थिए। बुद्धधर्मका पनि हिनयान र महायान कुनकुन स्थानमा बढी अनुकरण थियो भन्ने विवरण यात्राका क्रममा लेखे। थेरबादी र महायानीहरूको अवस्था देखे। उत्तरी नाकाबाट भारतवर्षमा पसेका उनी दक्षिणी नाकाबाट बाहिरिए। विनय पिटकको खोजीमा हिँडेका फा सिएनले बौद्ध देशमा केही अंश भेट्ट्याए। बौद्धदेशमा विनयको खोजीमात्रै गरेनन्, संस्कृतको अभ्यास पनि गरे। पाटलीपुत्रमा उनले धर्माेग्रन्थका हस्तलिखित प्रति प्राप्त गरेका थिए।
पाटलीपुत्र तथा सिहंल दीप अर्थात् श्रीलंकामा उनले महासन्धिका सम्प्रदायको नियमानुसार लेखिएको विनय पिटक र संयुक्त सुत्त, सर्वास्तिवाद निकायको विनय पिटक, परिनिर्वाण वैपुल्य सूत्र, महासांघिक निकायको धभिधर्म पिकटका प्रति प्राप्त गरे। यी संस्कृत ग्रन्थहरू बोकेर उनी एक व्यापारिक जहाजमा बसेर चीन फर्किए। चीन फर्किंदा उनले समुन्द्रमा आधीको सामना गर्नुपर्यो।
जहाजमा वजन बढी भएको भन्दै व्यापारीहरूले यात्रुका गह्रौं सामानहरू समुन्द्रमा फालिदिए। फा सिएनलाई डर थियो कि, कतै आफूले ल्याएका पुस्तक र मूर्तिहरू पनि फालिदिने हुन्। अवलोकतेश्वरको प्रार्थना गरे। उनी ९० दिनको समुन्द्र यात्रापछि जावा दीप पुगे। त्यहाँ पाँच महिना बिताई अर्काे जहाजमा चढी ८२ दिनपछि उनी चांगकवांग राज्यको सीमामा पुगे।
चीन पुगेर उनले बौद्ध ग्रन्थको विषयमा वर्णन गरे। बौद्ध संघहरूमा पुर्याए। सन् ४१४ मा उनले आफ्नो यात्रा विवरण अरूलाई सुनाएका थिए। जुन उनको यात्रा वर्णनको अन्तिम अध्यायमा उल्लेख छ। उनी पुग्दा उनको राज्यमा चीन वंशको शासनकाल थियो। फा सिएनले बौद्ध राज्यहरूको ऐतिहासिकता यात्रा वर्णनका रूपमा लिपिबद्ध गरे। बुद्ध जन्मस्थलसहितका पवित्र स्थलहरूको पहिचान गराए। उनकै यात्रा विवरणका आधारमा पुराताŒिवक स्थलहरूका उत्खनन अहिले पनि जारी छ। उनले सिल्क रुट अर्थात् आधुनिक अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, बंगलादेश, श्रीलंका, इन्डोनेसिया भ्रमण गरे। उनले सन् ४२२ मा देहत्याग गरे।
प्रतिक्रिया दिनुहोस !