फाल्गुनन्द गोल्डकप: आयोजक फिदिम स्पोर्टिङको विजयी सुरुवात
फिदिम : पाँचथरको सदरमुकाम फिदिममा सुरु भएको ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लबले विजयी सुरुवात गरेको छ।
फिदिम माविको मैदानमा शनिबार भएको उद्घाटन खेलमा पाहुना टोली भारतको खर्साङ फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै फिदिमले क्वाटर फाइनलको स्थान बनाएको हो।
निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा फिदिमका आशिष चापागाँई, विशाल दर्जी, राम वाजी, शुकराज राई र निरोज लिङ्देनले गोल गरे।
खर्साङका आकाश प्रधान, विशाल भण्डारी, प्रशान्त क्षेत्री, रुजम प्रधानले गोल गरे। छोङदेल लामाको प्रहार फिदिमका गोलरक्षक मिराक खजुमले बिफल बनाएपछि खर्साङ उद्घाटन खेलबाटै घर फर्किएको हो।
उद्घाटन खेलमा फिदिमका गोल रक्षक मिराक खजुम म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार नगद पुरस्कार प्राप्त गरे। १५ गतेसम्म सञ्चालन हुने खेलमा १० टिमले सहभागिता जनाएका छन्।
प्रतियोगिताको विजेता टिमले उपाधिसहित १० लाख पाँच सय ५५ रुपैयाँ र उपविजेता टिमले पाँच लाख पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापामगरले बताए।
प्रतिक्रिया दिनुहोस !