१० महिनादेखि शेयर निष्कासन प्रक्रिया रोकिदा जलविद्युत आयोजनाको निर्माण ठप्प

१० महिनादेखि शेयर निष्कासन प्रक्रिया रोकिदा जलविद्युत आयोजनाको निर्माण ठप्प
सुन्नुहोस्

काठमाडौं : १० महिनादेखि शेयर निष्कासन प्रक्रिया रोकिदा जलविद्युतका आयोजनाको निर्माण प्रभावित भएको छ।  प्राथमिक (आइपीओ) र हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको हो।

हाल निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्। 

नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदासम्म ठप्प भएको छ। लामो समयसम्म आयोजनाको शेयर निष्काषन गर्न नपाउँदा आयोजनाको निर्माण प्रभावित भएको प्रवर्द्धकहरू बताउँछन्।

गत आर्थिक वर्षमा ४२ कम्पनीको आईपीओ जारी भएकोमा २९ वटा जलविद्युत कम्पनी रहेका थिए। तर चालू आर्थिक वर्षमा भने गत भदौ ५ गते भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ जारी हुनुबाहेक अन्य कुनै पनि जलविद्युत कम्पनीको आईपीओ जारी हुन सकेको छैन।

अहिले एउटा सोलारसहित १८ वटा विद्युत उत्पादन कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग गर्दै सेबोनमा निवेदन दिएका छन् । अनुमति नै नपाउने आईपीओको लागि किन आवेदन दिनु भन्दै ४ /५ वटा कम्पनीले आवेदन नै दिएका छैनन् । ती सबै कम्पनीको गरी करीब १४ र १५ अर्ब रुपैयाँ बराबरको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

यसैगरी हकप्रद शेयर निष्काशनका लागि आवेदन दिएका ९ जलविद्युत कम्पनीले पनि अनुमति पाएका छैनन् । कार्कीका अनुसार ९ कम्पनीले हकप्रद निष्काषन गर्न लागेको रकम झण्डै ७ अर्ब रुपैयाँ रहेको जानकारी दिए ।

यसअघि बोर्डले गत पुसमा अन्तिम पटक जलविद्युत कम्पनीलाई हकप्रद शेयर निष्कासनको लागि स्वीकृति दिएको थियो । त्यसयता ९ कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति माग्दै बोर्डमा दिएको निवेदन अलपत्र परेका छन् ।

गत आर्थिक वर्षमा ८ वटा कम्पनीले हकप्रद शेयर निष्काषनको अनुमति पाउँदा ७ वटा जलविद्युत आयोजना प्रवर्द्धक कम्पनी रहेका थिए । हकप्रद शेयरमा पनि अनुमति नै नपाउने भए किन खर्च गर्नु भन्दै धेरै कम्पनीहरु बोर्डमा नगएको कार्कीले जानकारी दिए ।

जलविद्युत कम्पनीहरुले आईपीओ तथा हकप्रद शेयर जारीगरेपछि आउने रकमलाई आयोजना निर्माणमा खर्च गर्ने योजनासहित काम अघि बढाएका हुन्छन् । तर,सेबोनले शेयर निष्कासनको अनुमति नदिएपछि थप २०/२२ अर्ब रुपैयाँ कहाँबाट जोहो गर्ने भन्ने चिन्ता प्रवर्द्धकलाई थपिएको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले बताए ।

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पानले पहल गरेपनि सम्बन्धित निकायबाट तदारुक्ता नदेखाउँदा धेरै विद्युत आयोजनाहरुको निर्माण प्रभावित भइरहेको इप्पानका महासचिव बलराम खतिवडाले बताए।

जलविद्युत आयोजनाले ५० प्रतिशत निर्माण पुरा भएपछि आइपीओ निष्कासनको प्रक्रियामा जान पाउँछन् भने ६० प्रतिशत निर्माण पुरा भएपछि अनुमति पाउने व्यवस्था छ । आईपीओबाट आउने पैसालाई पनि कम्पनीहरूले आयोजना निर्माणमा खर्च गर्नेगरी कार्ययोजना बनाएका हुन्छन् । तर,शेयर निष्काषनको प्रक्रिया नै रोकिएपछि आईपीओ निष्कासनको चरणमा पुगेका अन्य आयोजना समेत प्रभावित भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.