मरिण बगरको ३५ बिघामा सामूहिक खेती

मरिण बगरको ३५ बिघामा सामूहिक खेती

सिन्धुली : कुनै बेला नदी पसेर खेतीयोग्य जमिन कटान गर्दा बगरमा परिणत भएको सिन्धुलीको मरिण गाउँपालिका–३ नक्कलीको बगर अहिले हरियाली बनेको छ। मरिण नदीले कटान गरेर बगर बनेको नक्कली छेउछाउमा खर्बुजा, फर्सी, लौका, बोडीलगायतका मौसमी र बेमौसमी खेतीले हरियाली भएको हो।

स्थानीय ६ युवाहरूले सामूहिक रूपमा खर्बुजा र तरकारी खेती गर्दा मरिणको सुक्खा बगर हरियालीमात्र देखिएको छैन, उनीहरूले मनग्ये आम्दानीसमेत गर्न थालेका छन्। 

मरिण गाउँपालिका– ७ का खिलहरी गिरीको नेतृत्वमा ६ युवाहरूको सामूहिक लगानीमा मरिण नदीले बनाएको करिब ३५ बिघा सुक्खा बगरमा झन्डै ३० लाख रुपैयाँको खर्बुजा उत्पादन भएको छ। यसबेला २० लाख रुपैयाँबराबरको बढीको फर्सी, लौका, घिरौंला, बोडी, करेला उत्पादन भइरहेको छ।

उनीहरूले उत्पादित खर्बुजा र तरकारीलाई चैत्रको अन्तिम सातादेखि बिक्रीका लागि बजारमा ल्याएका छन्। हालसम्म करिब २० लाखको खर्बुजा र ७ लाख रुपैयाँ बढीको तरकारी बिक्री गरिसकिएको किसान खलिहरि गिरीको भनाइ छ। नक्कलीमा यसरी पहिलो पटक बगर खेती गरिएको हो। 

उनीहरूले बगर खेतीका लागि हालसम्म एक करोड रुपैयाँ बढीको लगानी भएको बताएका छन्। पाँच बिघामा फर्सी, २० बिघामा बोडी, १० बिघा क्षेत्रफलमा करेला, लौका, घिरौंलालगायतको तरकारीको खेती गरिएको गिरीले बताए। ‘पहिलो वर्ष नै करिब २५ देखि ३० लाख रुपैयाँको खर्बुजा उत्पादन हुने हाम्रो अनुमान छ। नदी, खोलानजिकै भएकाले सिँचाइको पनि खासै समस्या छैन। मौसमले साथ दियो भने उत्पादन अझ बढ्न सक्छ,’ गिरीले भने।

बगरमा उत्पादन भएको खर्बुजा ४० रुपैयाँ प्रतिकेजी, सय रुपैयाँ मुठा फर्सीको मुन्टा, ३० रुपैयाँ केजी हरियो फर्सी, ७० रुपैयाँ केजी बोडी बिक्री हुँदै आएको छ। 

यहाँको उत्पादनले मरिण बजारका साथै सिन्धुली र हेटौंडाको बजार पाएको छ। यसअघि सिन्धुली र मरिण क्षेत्रमा तराईका साथै हेटौंडा बजारबाट खर्बुजा तथा तरकारी आयात हुने गरेको थियो। 

राम्रो उत्पादन भएपछि फलफूल तथा तरकारी खरिद गर्न व्यापारीहरू बगरमै आउन थालेका छन्। अहिलेसम्म खर्बुजा बिक्रीका लागि कुनै समस्या छैन। बढ्दै गएको गर्मीसँगै स्थानीय बजारमा चिसो फलको माग बढेकाले आफ्नो उत्पादन बजारसम्म पु¥याउन समस्या नहुने उनीहरूको भनाइ छ।

अन्य पेसामा भन्दा छिटो र राम्रो आम्दानी हुने भएपछि बगरखेतीमा लागेको युवाहरूको भनाइ छ। ‘हामीले रोजगारको अवसरको खोजी गर्दा स्थानीय स्तरमै सामूहिक खेतीलाई रोजेका छौं। पहिलो वर्षमै राम्रो आम्दानी हुने देखिन्छ यसलाई आगामी वर्ष थप विस्तार गर्नेछौं,’ उनीहरूले भने।

नक्कलीमा उत्पादन भएको तरकारी तथा खर्बुजा राम्रो हावापानी भएकाले उत्पादन राम्रो, गुणस्तरीय, तराईतिरको भन्दा पनि स्वादिलो भएको बताइन्छ। 

आधुनिक प्रविधिसहित खेती थालेका युवाहरूले आगामी दिनमा २० बिघा क्षेत्रफलमा अकबरे खुर्सानी खेती गर्ने योजना बनाएका छन्। जसका लागि अछामबाट २० लाख रुपैयाँ अकबरे खुर्सानीका बिउ झिकाएर बेर्ना उत्पादन गरिएको छ। नेट जातको पाँच हजार बिरुवा त्रिशूलीबाट झिकाइएको छ। त्यसका लागि २० टनेल निर्माण गरिएको छ भने थप ३० वटा निर्माण भइरहेको छ।

कृषिबाटै राम्रो आम्दानी गर्न सक्ने सम्भावना देखिएपछि युवाहरूले आगामी वर्षसम्ममा एक सय बिघामा कृषि खेतीलाई विस्तार गर्ने योजना बनाएका छन्। 

कृषि बालीका लागि आवश्यक पर्ने मलमूत्रका लागि गाईपालन र माछापालनसमेत थपेर बागमती प्रदेशकै नमुना फर्मको रूपमा विकास गर्ने योजना बनाएको किसान नीलकुमार विकले बताए। 

‘एक्लै व्यवसाय गर्नुभन्दा सामूहिक लगानी गर्दा सहज हुने भएपछि बैंकबाट ऋण लिएरै भए पनि व्यवसाय विस्तार गर्दै लगिएको हो। आगामी वर्षबाट वार्षिक रूपमा तीनदेखि पाँच करोडसम्म आम्दानी गर्ने गरी तरकारी र फलफूल उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने।

युवाहरूको सामूहिक फर्ममा आंशिक र पूर्णकालीन गरेर हाल ४८ जनाले रोजगारसमेत पाएका छन। उक्त कृषि फर्ममा बागमती प्रदेशका मन्त्रीदेखि पालिकाका जनप्रतिनिधिले समेत नियमित अवलोकन गर्ने गरेका छन्।

उता सीप र मेहनतले सुक्खा बगरमा पनि रसिलो खर्बुजा तथा अर्गानिक तरकारी फलाएर युवाले उदाहरण प्रस्तुत गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानको भनाइ छ। यो बगरखेती पालिकाकै उत्कृष्ट उत्पादन हो।

‘वर्षौंदेखि प्रयोगविहीन बगरमा खर्बुजा तथा तरकारी खेती गरेर किसानले आफ्नो जाँगर मात्र देखाएका छैनन्, राम्रो आम्दानी गरेर गाउँपालिकामै सफल कृषकका रूपमा उदाहरण प्रस्तुत गरेका छन,’ उनले भने। 

अध्यक्ष मोक्तानले गाउँपालिकालाई कृषि उत्पादनका दृष्टिले पकेट क्षेत्रको रूपमा विकास गर्ने योजनालाई थप सार्थक बनाउने गरी युवा किसानहरूले व्यावसायिक कृषि खेती सुरु गरेकोमा खुसी व्यक्त गरे। अध्यक्ष मोक्तानले गाउँपालिकाको तर्फबाट यस्ता किसानलाई लगानीमा अनुदान, प्रविधिमा यान्त्रीकरण र बजारीकरणजस्ता क्षेत्रमा प्रोत्साहन गरिने स्पष्ट पारे। 

उनले भने, ‘हाम्रो पालिकाको निति अनुरूप कृषि तथा तरकारी, फलफूल, दूध र मासु उत्पादनको क्षेत्रमा व्यावसायिक रूपमा लाग्ने कृषकलाई प्रोत्साहन गरिनेछ।’

मरिण गाउँपालिकाले कृषि उत्पादनमा आधारित अनुदान दिने नीतिगत व्यवस्था गरेको छ। किसानहरूले उत्पादन गरेका यस्ता कृषि उत्पादनलाई बजारीकरण गर्न गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको छ। कृषि उत्पादनलाई सुरक्षित गर्न चिस्यान केन्द्र, व्यवस्थित कृषि हाटबजार र अत्याधुनिक वधशालाको व्यवस्थापन गरिएको पनि अध्यक्ष मोक्तानले बताए। यस्तै पालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी तरकारीजन्य वस्तुको आयातलाई बन्द गर्ने नीतिगत निर्णय गरेको छ। ‘गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्मर बनाउन पालिकाले १ सय ७४ क्रस मुर्रा जातका पाडीहरू किसानलाई अनुदानमा वितरण गरेको छ। मासु उत्पादका लागि ९ सयवटा बंगुर वितरण गरेको छ। पालिकाले दूधमा लिटरको ५ रुपैयाँ र मासुमा किलोको ५ रुपैयाँ अनुदान सहयोग गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.