नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना

नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना
सुन्नुहोस्

काठमाडौं :  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ। 

खोज र अनुसन्धानमूलक कार्यद्वारा इप्पानलाई थिंक ट्यांकका रुपमा विकास गर्न तथा आफ्नै भवनबाट इप्पानका गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको हो।

काठमाडौमा शुक्रबार भएको इप्पानको २२ औं साधारणसभाबाट दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिक रुपमा दुवै कोष स्थापना भएको इप्पानका कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तले जानकारी दिए।

उनका अनुसार इप्पान सम्पूर्ण ऊर्जा क्षेत्रको नेतृत्वदायी संगठन भएकोले सम्बन्धित क्षेत्रमा अध्ययन गरी आवश्यक तथ्यांक, जानकरी, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र विश्लेषणहरु संस्थागत रुपमा संकलन गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो। तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित स्थापना गरिएको कोषको छुट्टै कार्यविधि बनाई अघि बढ्ने इप्पानले लक्ष्य राखेको छ। 

ऊर्जा प्रवर्द्धक कम्पनी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र निकायहरुबाट रकम संकलन गर्ने लक्ष्य राखिएको कोषको रकमबाट ऊर्जासँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान र प्राज्ञिक कार्य गर्ने लक्ष्य लिइएको छ। 

इप्पानले ऊर्जा क्षेत्रले,  सामाजिक, कुल ग्राहस्थ उत्पादन (जीडीपी), बैंक तथा वित्तीय संस्थाले ऊर्जामा गरेको लगानीको अवस्था, ऊर्जाले रोजगारी सृजनामा पुर्‌याएको योगदान, ऊर्जा आयोजनामा सर्वसाधारणको सेयर लगानीको अवस्था,  निर्माण सम्पन्न र निर्माणधीन आयोजनाहरुमा देखिएका समस्याहरुको पहिचानसहित ऊर्जासँग सम्बन्धित तथ्य, तथ्यांक र सामाग्रीहरु प्रकाशन लगायतका कार्य गर्ने लक्ष्य राखेको छ। 

कोषमा इप्पानको २२ औं बार्षिक साधारणसभामा सम्मानित भएका पूर्व ऊर्जा सचिव सुमन शर्माले आफूले ऊर्जा ज्योती सम्मान वापत पाएको एक लाख रुपैयाँमा थप एक लाखसहित दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन्। यसैगरी यस कोषमा इप्पान सदस्य टीएन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्। उनले भवन निर्माण कोषमा पनि एक लाख रुपैयाँ दिने घोषणा गरेका छन्।
 
यसैगरी पाँच बर्षभित्र आफ्नै जग्गा खरिद  गरेर भवन निर्माण गर्ने लक्ष्यसहित स्थापना गरिएको जग्गा तथा भवन निर्माण कोषका लागि छुट्टै कार्यविधि र भवन निर्माण समिति गठन गरिने कोषाध्यक्ष पन्तले जानकारी दिए।

भवन निर्माणका लागि यस अघि इप्पान पूर्व अध्यक्ष डा. सुवर्णदास श्रेष्ठले दुई लाख तथा अन्य विभिन्न स्रोतबाट जम्मा नभएको ३४ लाख रुपैयाँसमेत यसै कोषमा राखिने इप्पानले जनाएको छ। 

इप्पान अध्यक्ष गणेश कार्कीले कार्यविधि बनाएपछि इप्पान पदाधिकारी र कार्य समितिबाट दुवै कोषमा सहायता संकलन गर्नुका साथै सबै ऊर्जा प्रवर्द्धक कम्पनीहरुबाट सहायता लिएर अध्ययन अनुसन्धान तथा भवन निर्माणको कार्य अघि बढाउने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.