आफन्तलाई शव बुझ्न झनै सास्ती

आफन्तलाई शव बुझ्न झनै सास्ती

पोखरा : विमान चढेर आइतबार पोखरा उडेकाले ओर्लिएर वा फर्किएर आफन्त त भेट्न पाएन् नै। आफन्तलाई दुर्घटनामा ज्यान गुमाएकाको शव पाउन पनि सोमबार दिनभर निक्कै मुस्किल पर्‍यो। पोखराको अस्पताल परिसरमा सोमबार दिनभर आफन्तको रुवावासी चल्यो भने दुर्घटना स्थलमा हराएका ३ जनाको खोजीकार्य जारी रह्यो। 

दुघर्टनास्थल सेती खोंचबाट उद्धार गरी ल्याएका शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो। सोमबार दिउँसो काठमाडौंबाट मेडिकल टिम आएपछि पोस्टमार्टमको काम सुरु भएको थियो। सोमबार शव बुझाउने अस्पताल प्रशासनले जानकारी दिएपछि अस्पताल परिसरमा आफन्त र शुभ चिन्तकको भीड थियो। दिनभर आफन्त रुवावासी गर्दै शव पाउने प्रतिक्षामा बसे पनि साँझसम्म शव नपाएपछि निराश र आक्रोशित भएका थिए। साँझ अबेर पोस्टमार्टम सकिएको शव आफन्तलाई बुझाइएको थियो।

दिनभर अस्पतालमा आफन्तको शव बुझ्न रुँदै बसेका आफन्त प्रक्रिया छिटो–छरिटो पूरा गर्नुपर्नेमा ढिला भएको भन्दै आक्रोशित भएका थिए। नाराबाजीसमेत गरेका थिए। ‘आफन्तलाई त गुमायौं। शव बेलैमा नपाउँदा अर्को पीडा भयो,’ एक मृतकका आफन्त सा खलिद मियाँले बताए। उनी भन्दै थिए, ‘परिचय खुलेको छ। अनुहार पनि चिनिने अवस्थामा रहेका शवको छिटो प्रक्रिया पुर्‍याएर दिनुपर्नेमा त्यो हुन नसक्दा पीडित थप पीडामा छौं,’ उनले गुनासो गरे। यति प्रक्रिया पुर्‍याउँदा समय लाग्छ भने बेलैमा सूचना दिनुपर्नेमा त्यसो नहुँदा अस्पताल र घरमा आफन्तको दिनभर रुवावासी भएको र पीडा थपिएको उनको भनाइ थियो।

पोखरा १३ मियाँपाटनका २५ वर्षीय सदाकत अलिमियाँ साउदीमा हज गर्न जानलागेकी सानिमालाई काठमाडौंमा प्लेनमा चढाएर फर्कंदै गर्दा दुर्घटनामा परेका थिए। ‘सानिमा प्लेन चढेर साउदी जानुभयो। बाबु यता आउँदै गर्दा यास्तो दुर्घटनामा पर्नुभयो,’ आफन्त मुहमद खली मियाँले सुनाए। ‘बुद्ध एयरको टिकट काट्नु भएको थियो कसरी यतीमा आउनुभयो थाहा छैन। त्यसको पनि छानबिन हुनुपर्‍यो नि !,’ उनले भने। सदाकत अलिमियाँको शव पोस्टमार्टमपछि साँझ करिब ८ बजे आफन्तलाई बुझाइसकिएको छ। सोमबार रातिसम्म एक जनाले मात्र शव बुझेका छन्।

विमान दुर्घटनामा परेर मृत्यु भएकी बागलुङकी नीरा छन्त्यालका आफन्त पनि दिनभर शव पाउने आशामा कुरेर बसे पनि शव पाउन लामो प्रक्रिया लागेको सुनाए। कलाकार नीरा कार्यक्रममा प्रस्तुति दिन विमानबाट पोखरा आएकी थिइन। गाउँबाट र पोखरामै रहेका आफन्तसमेत गरी ३५÷४० जना नीराको अन्तिम दर्शन गर्न अस्पताल परिसरमा भेला भएका थिए। काठमाडौं पठाइने मृतकको शव लिनका लागि आफन्तलाई काठमाडौं जान प्रशासनले आग्रह गरेको छ। 

जिल्ला प्रशासन कास्कीले भोलिका दिनमा कुनै पनि समस्या नआउने गरी प्रक्रिया पुर्‍याउनुपर्ने बाध्यताका कारण आफन्तलाई शव बुझाउन समय लागेको जनाएको छ। शव पहिचान हुन नसक्ने अवस्थाको शव पहिचान गरी बुझाउनु पर्ने अवस्था रहेको बताइएको छ 

७०  जनाको शव फेला पर्‍यो  

यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनाको शव घटनास्थल सेती खोंचबाट निकालेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। दुर्घटनामा परेका ७२ जनामध्ये ७० जनाको शव फेला परेको हो। अन्य दुई जनाको खोजीकार्य जारी छ। 

६८ यात्रु र चालक दलका ४ सदस्यसहित काठमाडौंबाट उडेको यती एयरलाइन्सको कल साइन नाइन एन–एएनसी (एटीआर ७२) विमान पोखराको व्यस्त बजारको मध्यभाग भएर बगेको सेती नदीमा आइतबार दुर्घटना भएको थियो। गहिरिएर बगेको सेती खोंचमा दुर्घटना भएकाले उद्धार कार्य निकै चुनौती र जोखिम पूर्ण छ। उद्धारमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थानीयको समेत सहयोगमा सोमबार बिहानैदेखि दुर्घटनामा परेकाको खोजी कार्य भएको थियो। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकका अनुसार दुर्घटनामा परेका मध्ये २० जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई बुझाइने तयारी भइरहेको छ। बाँकी ५० जनाको शव भने काठमाडौं पठाउने लागिएको छ। काठमाडौंमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको बताइएको छ। 

भेटियो ब्ल्याक बक्स 

यती एयरको विमान दुर्घटना भएको स्थानबाट सोमबार ब्ल्याक बक्स भेटिएको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीको टोलीले घट्ना स्थलमा ब्ल्याक बक्स फेला पारेका हुन्। ब्ल्याक बक्सबाट जाहाज दुर्घटनाको कारण पत्ता लाग्न सहज हुने छ।

बक्समा ‘फ्लाइट राडर रेकर्ड’ सँगै ‘ककपिट भ्वाइस रेकर्ड’ अर्थात् पाइलट र को पाइलट सँगै विमानस्थलको टावरसँग भएको कुरा रेकर्ड बक्समा रहने भएकाले। विमान दुर्घटनाको कारण पत्ता लाग्न सहज हुने अधिकारीले बताएका छन्। 

भेटिएको ब्ल्याक बक्स नेपाली सेनाका सहसेनानी सरोज कोइरालाले नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भरतराज पराजुलीलाई हस्तान्तरण गरेको बताइएको छ। ब्ल्याक बक्स दुर्घटना जाँचका लागि सरकारले आइतबार गठन गरेको ‘विमान दुर्घटना जाँच आयोग’ लाई बुझाइएको छ। समितिले सोमबारदेखि आफ्नो कामसमेत सुरु गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.