७० वर्षमा साढे ३६ सयले गरे मनास्लु आरोहण
गोरखा : विश्वको आठौं, नेपालको सातौं अग्लो मनास्लु हिमाल आरोहण गर्न सुरु भएको ७० वर्ष पूरा भयो। सन् १९५६ मे ९ मा ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल प्रथमपटक जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ज्याल्जेन नोर्बु शेर्पाले सफल आरोहण गरेका थिए।
त्यसयता यो हिमाल ३ हजार ६ सय ४३ जनाले आरोहण गरिसकेका छन्। पर्यटन विभागले सन् २०२५ मा तयार गरेको अभिलेखमा मनास्लुको हालसम्म सफल आरोहण गर्ने संख्या उल्लेख गरिएको छ।
प्रथमपटक आरोहण गरेको मे ९ को दुई दिनपछि अर्थात् मे ११ मा जापानी नागरिक मिनोरु हिगेता र किचिरो कातोले आरोहण गरेका थिए। उनीहरू चारै जनाको टिमको नेतृत्व भने अर्का जापानी नागरिक योकु माकीले गरेका थिए। तर, उनी आरोहण गर्न सफल नभएको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ।
त्यसपछि १५ वर्षसम्म कसैले पनि आरोहण नगरेका मनास्लुको सन् १९७१ मा मात्र फेरि आरोहण गर्न सुरु गरिएको थियो। सन् १९७३ अप्रिल २२ मा पहिलोपटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए।
विश्वको सर्वोच्च शिखर सगरमाथाको भने हालसम्म ९ हजार ७७ जनाले आरोहण गरेका छन्। मनास्लु हिमाल आरोहण गर्न थालेको ७० वर्ष पुगेको अवसरमा हालै गोरखा र पोखरामा हीरक जयन्ती मनाइएको छ। नेपाल पर्वतारोहण संघ, मनास्लु संरक्षण क्षेत्र आयोजनासँगको सहकार्यमा चुमनुब्री गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरियो।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गाउँपालिकाका प्रमुख निमा लामालगायतले प्रथम आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसी र नेपाली आरोही उर्गेनका छोरा छिरिङ शेर्पालाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे। साथै मनास्लुको काखमा अवस्थित चुमनुब्री– १ सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा, र अन्य आरोहीहरू नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरियो। पर्वतारोहण संघले पोखरामा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको थ्रीडी फोटो लोकार्पण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !