गण्डकीको उपसभामुख बिनाकुमारी थापा निर्वाचित

गण्डकीको उपसभामुख बिनाकुमारी थापा निर्वाचित

पोखरा : बागलुङकी एमाले सांसद बिनाकुमारी थापा गण्डकी प्रदेश सभाको उपसभामुख निर्वाचित भएकी छन्। 

समानुपातिक तर्फकी सांसद थापालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाले सोमबार बहुमतले पारित गरेको हो।

यसअघि प्रदेश सभाले शनिबार सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित गरेको थियो। 

सत्ता गठबन्धनका दल एमाले र माओवादी केन्द्रले फरक-फरक पार्टी र फरकफरक लिंगबाट हुने गरी सभामुख र उपसभामुखको भागबन्डा गरेका हुन्। 

प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि उपसभामुखमा पार्वती तामाङलाई उम्मेदवार दर्ता गराएको थियो। 

तर सभामुखले पहिलो उम्मेदवारी दर्ता भएको  थापाबारे मत विभाजन गराए। सुरुमै उनको पक्षमा ६० सदस्यीय प्रदेश सभाका बहुमत अर्थात् ३२ सदस्यको मत परेपछि थापा निर्वाचित भएको घोषणा सभामुखले गरे। 

तामाङको उम्मेदवारीमाथि मत विभाजनमा जानु परेन। थापालाई एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र एक जना स्वतन्त्र सांसदले मत हालेका हुन्। 

उनको विपक्षमा कांग्रेसका २६ जनाले मतदान गरे। २७ सदस्य रहेको कांग्रेसकी एक सदस्य टीकाकुमारी बस्याल अनुपस्थित थिइन्। 

एमालेका सांसद गोविन्दबहादुर नेपालीले थापालाई उपसभामुख निर्वाचित गराइयोस् भनेर राखेको प्रस्तावमा माओवादीकी सुशीला सिम्खडाले समर्थन जनाएकी थिइन्। 

कांग्रेसकी तामाङको उम्मेदवारी उनकै पार्टीका नन्दप्रसाद न्यौपानेको प्रस्ताव र द्रोण कुँवरको समर्थन थियो। 

पोखरामा आइतबार जहाज दुर्घटना भएर ७२ जनाको ज्यान गएपछि सरकारले सोमबार शोक बिदा घोषणा गरेको थियो। तर, पनि गण्डकी प्रदेश सभाले भने उपसभामुख निर्वाचन गर्नै पर्ने बाध्यता थियो। 

संविधानतः प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख, उपसभामुख निर्वाचित गर्नुपर्ने हुँदा प्रदेश सभा बैठक बिदाको दिन पनि बसेको हो। सभाको सोमबारै दोस्रो बैठक पनि बसी शोकमा राष्ट्रिय झण्डा झुकाइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.