होर्मुजलाई लिएर इरानले किन उठाइरहेको छ यति ठूलो जोखिम छ ?
इरान : होर्मुज जलडमरूमध्यमाथिको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच धेरै दिनसम्म तनाव चलेपछि, इरानी नेतृत्वका सामु अहिले मुख्यतः तीन विकल्प देखिएका छन् । तर तीमध्ये कुनै पनि विकल्पले स्पष्ट रूपमा सहज जितको बाटो देखाउँदैन ।
पहिलो विकल्प : अमेरिकी मागहरू स्वीकार गन । इरानले अमेरिकाका अधिकांश मागहरू स्वीकार गर्न सक्छ। जसअन्तर्गतः व्यावसायिक जहाजमाथिको आक्रमण रोक्ने, होर्मुज जलडमरूमध्यबाट सुरक्षित र अवरोधरहित आवतजावतको ग्यारेन्टी गर्ने, उच्चस्तरसम्म संवर्धित युरेनियमको मौज्दात घटाउने वा हटाउने, तथा अन्तर्राष्ट्रिय आणविक निगरानी निकायको कडा निरीक्षण स्वीकार गर्ने । यसको बदलामा इरानले आफ्ना बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन, आर्थिक प्रतिबन्धमा राहत दिन र भविष्यमा थप आक्रमण नगर्ने सुरक्षा ग्यारेन्टी माग्न सक्छ ।
आर्थिक हिसाबले यो सबैभन्दा कम खर्चिलो विकल्प हुन सक्छ, तर राजनीतिक रूपमा सबैभन्दा महँगो पनि हुन सक्छ । यदि होर्मुज जलडमरूमध्य पुनः खुला गरियो तर त्यसको व्यवस्थापनमा इरानको भूमिकालाई औपचारिक मान्यता दिइएन भने, इरानले आफ्नो सबैभन्दा प्रभावकारी दबाबको माध्यम गुमाउने खतरा हुन्छ । अहिले इरानका धेरै विश्लेषकहरूका अनुसार यो दबाबको माध्यम उसका मिसाइल, क्षेत्रीय सहयोगी (प्रोक्सी) र परमाणु कार्यक्रमभन्दा पनि प्रभावकारी बनेको छ ।
के होर्मुज जलडमरूमध्य इरानको नयाँ शक्ति बनेको हो ?
पहिलो पटक इरानले देखाएको छ कि उसमाथि हुने कुनै पनि आक्रमणको मूल्य केवल इरानले मात्र होइन, सम्पूर्ण विश्व अर्थतन्त्रले तत्काल चुकाउनुपर्ने अवस्था आउन सक्छ । इरानले आफ्नो परमाणु कार्यक्रमलाई लामो समयदेखि राष्ट्रिय अधिकारको रूपमा प्रस्तुत गर्दै आएको छ । यदि सैन्य दबाबपछि उसले आफ्नो परमाणु कार्यक्रममा कडा सम्झौता स्वीकार गर्यो भने, त्यसले अमेरिका सैन्य शक्तिको बलमा सफल भएको सन्देश जान सक्छ ।
त्यसपछि अमेरिका र उसका सहयोगीहरूले इरानसँग मिसाइल कार्यक्रम सीमित गर्न तथा हिज्बुल्लाह, इराकका शिया समूह र यमनका हुथी विद्रोही जस्ता क्षेत्रीय सहयोगीहरूसँगको सम्बन्ध कमजोर बनाउन वा अन्त्य गर्न पनि दबाब दिन सक्छन् ।
दोस्रो विकल्प : द्वन्द्वलाई अझ तीव्र बनाउने
दोस्रो विकल्पका रूपमा इरानले संघर्षलाई अझ बढाउन सक्छ । यसअन्तर्गत उसले अमेरिकी सैन्य अड्डा, जहाज तथा खाडी क्षेत्रका महत्वपूर्ण पूर्वाधारमा आक्रमण तीव्र बनाउन सक्छ, जसले तेलको मूल्य बढाउन र विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्छ । यस्तो अवस्थामा अमेरिका र उसका सहयोगीहरू अन्ततः वार्ताका लागि तयार हुने अपेक्षा इरानको हुन सक्छ ।
तर यो विकल्पमा सबैभन्दा ठूलो सैन्य जोखिम छ । यदि कुनै आक्रमणमा ठूलो मानवीय क्षति भयो वा खाडी क्षेत्रका पूर्वाधारमा गम्भीर क्षति पुग्यो भने, छिमेकी मुलुकहरू प्रत्यक्ष रूपमा युद्धमा संलग्न हुन सक्छन् र इरानले अझ ठूलो अन्तर्राष्ट्रिय गठबन्धनको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।
तेस्रो विकल्प : हालको अस्थिर अवस्था कायम राख्ने
तेस्रो विकल्प भनेको हालको अवस्थालाई निरन्तरता दिने हो । इरानले समुद्री व्यापार र ऊर्जा बजारमा यति मात्र दबाब कायम राख्ने कि आफ्नो प्रभाव कायम रहोस्, तर अमेरिका र पूर्ण युद्धको अवस्था नआओस् । यो रणनीति इरानको परम्परागत नीतिसँग मेल खान्छ ।
इरानको विश्वास छ कि आफूभन्दा शक्तिशाली शत्रुलाई हराउनु आवश्यक छैन । यदि उसले शत्रु युद्ध जारी राख्न इच्छुक नहुन्जेलसम्म आफूलाई टिकाइराख्न सक्यो भने, केवल अस्तित्व कायम राख्नु नै उसको जित हुन सक्छ । तर अर्कोतर्फ, आर्थिक प्रतिबन्ध, युद्धबाट भएको क्षति र बढ्दो महँगीले देशभित्रको दबाब लगातार बढाइरहेको छ ।
यदि इरानले लामो समयसम्म होर्मुज जलडमरूमध्यलाई राजनीतिक हतियारका रूपमा प्रयोग गरिरह्यो भने, अन्य देशहरूले तेल र सामान ढुवानीका वैकल्पिक मार्ग खोज्न सक्छन् । त्यसो भए इरानको रणनीतिक महत्व क्रमशः घट्न सक्छ । इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले पनि यही विरोधाभास स्वीकार गरेका छन् । उनका अनुसार होर्मुज जलडमरूमध्यको वास्तविक महत्व त्यहाँबाट धेरै जहाज गुज्रिनुमा छ, कम हुनुमा होइन। यदि यो मार्ग सधैं असुरक्षित रह्यो भने, विश्वले इरानलाई छलेर नयाँ समुद्री मार्ग खोज्न थाल्ने छ ।
इरानमा कसले लिइरहेको छ निर्णय छ ?
यस विषयलाई अझ जटिल बनाउने अर्को पक्ष भनेको इरानमा अन्तिम निर्णय कसले लिन्छ भन्ने हो । पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको समयमा निर्वाचित नेता, धार्मिक संस्था र रिभोलुसनरी गाड्र्सबीचको मतभेद अन्ततः सर्वोच्च नेताले समाधान गर्थे । तर अहिले नेतृत्व संरचनामा परिवर्तन आएपछि शक्ति सन्तुलन पहिले जस्तो स्पष्ट छैन ।
राष्ट्रपति मसुद पेजेशकियान र उनका कूटनीतिज्ञहरू आर्थिक दबाब कम गर्न र देशमा स्थिरता फर्काउन सम्झौताको पक्षमा हुन सक्छन् । तर संसदका कट्टरपन्थी नेता, शक्तिशाली गैरनिर्वाचित निकाय र रूढीवादी सञ्चारमाध्यमहरू भने ठूलो सम्झौताले इरानको वैचारिक आधार कमजोर हुने र समर्थकहरू टाढिने ठान्न सक्छन् । सबैभन्दा ठूलो प्रश्न भने रिभोलुसनरी गाड्र्सको भूमिकासँग सम्बन्धित छ ।
इरानको मिसाइल कार्यक्रम, क्षेत्रीय गठबन्धन र होर्मुज जलडमरूमध्यसम्बन्धी रणनीति मुख्यतः रिभोलुसनरी गाड्र्सकै प्रभाव क्षेत्रमा पर्दछ । तर तनाव बढाउने वा वार्ता गर्ने निर्णयमा उनीहरूको प्रभाव कति छ भन्ने स्पष्ट छैन । त्यसैले, इरानका विभिन्न शक्ति केन्द्रहरूले फरक–फरक विकल्पलाई समर्थन गर्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस !