होर्मुजलाई लिएर इरानले किन उठाइरहेको छ यति ठूलो जोखिम छ ?

होर्मुजलाई लिएर इरानले किन उठाइरहेको छ यति ठूलो जोखिम छ ?
सुन्नुहोस्

इरान : होर्मुज जलडमरूमध्यमाथिको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच धेरै दिनसम्म तनाव चलेपछि, इरानी नेतृत्वका सामु अहिले मुख्यतः तीन विकल्प देखिएका छन् । तर तीमध्ये कुनै पनि विकल्पले स्पष्ट रूपमा सहज जितको बाटो देखाउँदैन । 

पहिलो विकल्प : अमेरिकी मागहरू स्वीकार गन । इरानले अमेरिकाका अधिकांश मागहरू स्वीकार गर्न सक्छ। जसअन्तर्गतः व्यावसायिक जहाजमाथिको आक्रमण रोक्ने, होर्मुज जलडमरूमध्यबाट सुरक्षित र अवरोधरहित आवतजावतको ग्यारेन्टी गर्ने, उच्चस्तरसम्म संवर्धित युरेनियमको मौज्दात घटाउने वा हटाउने, तथा अन्तर्राष्ट्रिय आणविक निगरानी निकायको कडा निरीक्षण स्वीकार गर्ने । यसको बदलामा इरानले आफ्ना बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन, आर्थिक प्रतिबन्धमा राहत दिन र भविष्यमा थप आक्रमण नगर्ने सुरक्षा ग्यारेन्टी माग्न सक्छ ।

आर्थिक हिसाबले यो सबैभन्दा कम खर्चिलो विकल्प हुन सक्छ, तर राजनीतिक रूपमा सबैभन्दा महँगो पनि हुन सक्छ । यदि होर्मुज जलडमरूमध्य पुनः खुला गरियो तर त्यसको व्यवस्थापनमा इरानको भूमिकालाई औपचारिक मान्यता दिइएन भने, इरानले आफ्नो सबैभन्दा प्रभावकारी दबाबको माध्यम गुमाउने खतरा हुन्छ । अहिले इरानका धेरै विश्लेषकहरूका अनुसार यो दबाबको माध्यम उसका मिसाइल, क्षेत्रीय सहयोगी (प्रोक्सी) र परमाणु कार्यक्रमभन्दा पनि प्रभावकारी बनेको छ ।

के होर्मुज जलडमरूमध्य इरानको नयाँ शक्ति बनेको हो ?
पहिलो पटक इरानले देखाएको छ कि उसमाथि हुने कुनै पनि आक्रमणको मूल्य केवल इरानले मात्र होइन, सम्पूर्ण विश्व अर्थतन्त्रले तत्काल चुकाउनुपर्ने अवस्था आउन सक्छ । इरानले आफ्नो परमाणु कार्यक्रमलाई लामो समयदेखि राष्ट्रिय अधिकारको रूपमा प्रस्तुत गर्दै आएको छ । यदि सैन्य दबाबपछि उसले आफ्नो परमाणु कार्यक्रममा कडा सम्झौता स्वीकार गर्‍यो भने, त्यसले अमेरिका सैन्य शक्तिको बलमा सफल भएको सन्देश जान सक्छ ।

त्यसपछि अमेरिका र उसका सहयोगीहरूले इरानसँग मिसाइल कार्यक्रम सीमित गर्न तथा हिज्बुल्लाह, इराकका शिया समूह र यमनका हुथी विद्रोही जस्ता क्षेत्रीय सहयोगीहरूसँगको सम्बन्ध कमजोर बनाउन वा अन्त्य गर्न पनि दबाब दिन सक्छन् ।

दोस्रो विकल्प : द्वन्द्वलाई अझ तीव्र बनाउने
दोस्रो विकल्पका रूपमा इरानले संघर्षलाई अझ बढाउन सक्छ । यसअन्तर्गत उसले अमेरिकी सैन्य अड्डा, जहाज तथा खाडी क्षेत्रका महत्वपूर्ण पूर्वाधारमा आक्रमण तीव्र बनाउन सक्छ, जसले तेलको मूल्य बढाउन र विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्छ । यस्तो अवस्थामा अमेरिका र उसका सहयोगीहरू अन्ततः वार्ताका लागि तयार हुने अपेक्षा इरानको हुन सक्छ ।

तर यो विकल्पमा सबैभन्दा ठूलो सैन्य जोखिम छ । यदि कुनै आक्रमणमा ठूलो मानवीय क्षति भयो वा खाडी क्षेत्रका पूर्वाधारमा गम्भीर क्षति पुग्यो भने, छिमेकी मुलुकहरू प्रत्यक्ष रूपमा युद्धमा संलग्न हुन सक्छन् र इरानले अझ ठूलो अन्तर्राष्ट्रिय गठबन्धनको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

तेस्रो विकल्प : हालको अस्थिर अवस्था कायम राख्ने
तेस्रो विकल्प भनेको हालको अवस्थालाई निरन्तरता दिने हो । इरानले समुद्री व्यापार र ऊर्जा बजारमा यति मात्र दबाब कायम राख्ने कि आफ्नो प्रभाव कायम रहोस्, तर अमेरिका र पूर्ण युद्धको अवस्था नआओस् । यो रणनीति इरानको परम्परागत नीतिसँग मेल खान्छ ।

इरानको विश्वास छ कि आफूभन्दा शक्तिशाली शत्रुलाई हराउनु आवश्यक छैन । यदि उसले शत्रु युद्ध जारी राख्न इच्छुक नहुन्जेलसम्म आफूलाई टिकाइराख्न सक्यो भने, केवल अस्तित्व कायम राख्नु नै उसको जित हुन सक्छ । तर अर्कोतर्फ, आर्थिक प्रतिबन्ध, युद्धबाट भएको क्षति र बढ्दो महँगीले देशभित्रको दबाब लगातार बढाइरहेको छ ।

यदि इरानले लामो समयसम्म होर्मुज जलडमरूमध्यलाई राजनीतिक हतियारका रूपमा प्रयोग गरिरह्यो भने, अन्य देशहरूले तेल र सामान ढुवानीका वैकल्पिक मार्ग खोज्न सक्छन् । त्यसो भए इरानको रणनीतिक महत्व क्रमशः घट्न सक्छ । इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले पनि यही विरोधाभास स्वीकार गरेका छन् । उनका अनुसार होर्मुज जलडमरूमध्यको वास्तविक महत्व त्यहाँबाट धेरै जहाज गुज्रिनुमा छ, कम हुनुमा होइन। यदि यो मार्ग सधैं असुरक्षित रह्यो भने, विश्वले इरानलाई छलेर नयाँ समुद्री मार्ग खोज्न थाल्ने छ ।

इरानमा कसले लिइरहेको छ निर्णय छ ?
यस विषयलाई अझ जटिल बनाउने अर्को पक्ष भनेको इरानमा अन्तिम निर्णय कसले लिन्छ भन्ने हो । पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको समयमा निर्वाचित नेता, धार्मिक संस्था र रिभोलुसनरी गाड्र्सबीचको मतभेद अन्ततः सर्वोच्च नेताले समाधान गर्थे । तर अहिले नेतृत्व संरचनामा परिवर्तन आएपछि शक्ति सन्तुलन पहिले जस्तो स्पष्ट छैन ।

राष्ट्रपति मसुद पेजेशकियान र उनका कूटनीतिज्ञहरू आर्थिक दबाब कम गर्न र देशमा स्थिरता फर्काउन सम्झौताको पक्षमा हुन सक्छन् । तर संसदका कट्टरपन्थी नेता, शक्तिशाली गैरनिर्वाचित निकाय र रूढीवादी सञ्चारमाध्यमहरू भने ठूलो सम्झौताले इरानको वैचारिक आधार कमजोर हुने र समर्थकहरू टाढिने ठान्न सक्छन् । सबैभन्दा ठूलो प्रश्न भने रिभोलुसनरी गाड्र्सको भूमिकासँग सम्बन्धित छ ।

इरानको मिसाइल कार्यक्रम, क्षेत्रीय गठबन्धन र होर्मुज जलडमरूमध्यसम्बन्धी रणनीति मुख्यतः रिभोलुसनरी गाड्र्सकै प्रभाव क्षेत्रमा पर्दछ । तर तनाव बढाउने वा वार्ता गर्ने निर्णयमा उनीहरूको प्रभाव कति छ भन्ने स्पष्ट छैन । त्यसैले, इरानका विभिन्न शक्ति केन्द्रहरूले फरक–फरक विकल्पलाई समर्थन गर्न सक्छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.