झन् अशान्त बन्दै सुनसरी : कर्फ्युबीच हिंसा फैलिँदै, रोकिएन आगजनी र आक्रमण
विराटनगर : सुनसरीमा जारी तनाव नियन्त्रणभन्दा बाहिर जान थालेपछि जिल्लाको सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेको छ। कर्फ्यु आदेश लागू रहेकै समयमा विभिन्न स्थानमा आक्रमण, प्रत्याक्रमण, आगजनी, तोडफोड, कुटपिट र प्रदर्शनका घटना निरन्तर भइरहँदा सर्वसाधारण त्रासमा बाँच्न बाध्य भएका छन्।
देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर ९ जना सर्वसाधारण घाइते भएका थिए भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज तथा देवानगन्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गर्यो। तर, कर्फ्यु उल्लंघन गर्दै बिहानैदेखि ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिए। कप्तानगञ्ज चोकमा टायर बाल्दै नाराबाजी गरेका प्रदर्शनकारी केहीबेरमै आगजनी र तोडफोडमा उत्रिएपछि स्थानीय व्यापारी तथा सर्वसाधारणमा त्रास फैलियो।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला सुरक्षा समितिले नेपाली सेना परिचालन गर्ने आकस्मिक निर्णय गर्यो। बख्तरबन्द गाडीसहित सेना परिचालन भएपछि मुख्य सडकको भिड केही नियन्त्रणमा आए पनि गाउँबस्तीमा भने छुट्टाछुट्टै समूहबीच आक्रमण र प्रत्याक्रमण जारी रहेको स्थानीयले बताएका छन्। सुरक्षाकर्मीको उपस्थिति कमजोर रहेका स्थानमा धारिलो हतियारसहित आक्रमण, कुटपिट र हिंसात्मक गतिविधि बढेको जनाइएको छ।
सोमबार दिउँसो देवानगन्ज गाउँपालिका–२ गाउँपालिका कार्यालय अगाडि करिब १५० जनाको समूहले स्थानीय अनबर अन्सारीको डेढतले पक्की घर, हार्डवेयर पसल र घरअगाडि पार्किङ गरिएको को २ त ५८५२ नम्बरको ट्याक्टरमा आगजनी गरेको प्रहरीले जनाएको छ। यसबाट प्रारम्भिक रूपमा करिब ९० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
त्यसैगरी अबाफ अन्सारीको टिनले छाएको कच्ची घर र दुईवटा मोटरसाइकलमा आगजनी हुँदा करिब ९ लाख रुपैयाँ तथा अपास अन्सारीको घर र मोटरसाइकल जलेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ। देवानगन्ज–३ कप्तानगञ्जमा परालको दुईवटा टालीमा आगजनी भएपछि भिड नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा १० सेल अश्रुग्यास प्रहार गरेका थिए। त्यसपछि स्थिति केही समयका लागि नियन्त्रणमा आएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए।
यसअघि इनरुवा नगरपालिका–४ मा बजार बन्द गराउँदै हिँडेको ५०–६० जनाको समूहले बजाज शोरुमका चारवटा झ्यालका सिसा र होर्डिङ बोर्ड फुटाएको थियो। त्यसलगत्तै इनरुवा–३ अदालत रोडमा अज्ञात नम्बरको म्याजिक गाडीको अगाडिको सिसासमेत फुटाइएको थियो। सुनसरी सदरमुकाम इनरुवास्थित प्रहरी बिटमा समेत तोडफोड भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लौकही र फूलचोक क्षेत्रमा टायर बालेर प्रदर्शन गरिँदा यातायात सेवा प्रभावित बनेको छ। राजमार्गमा सवारीसाधन रोकिँदा यात्रु अलपत्र परेका छन्। सुरक्षाकर्मीले यातायात सञ्चालन गराउने प्रयास गरे पनि अवस्था पूर्ण रूपमा सामान्य हुन सकेको छैन।
हिंसात्मक घटनाकै क्रममा देवानगन्ज–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ। बजारबाट घर फर्कने क्रममा एक समूहले उनलाई नियन्त्रणमा लिएर दिउँसो १:३० बजेतिर टाउकोमा धारिलो हतियारले प्रहार गरेको परिवारले जनाएको छ। दाहिने हातको पञ्जामा गम्भीर चोट लागेका तथा शरीरभरि निलडाम देखिएका उनलाई विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकले उनको अवस्था गम्भीर रहेको बताएका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भएपछि सुरक्षा अवस्था थप जटिल बनेको र त्यसपछि नेपाली सेना परिचालन गरिएको बताए। उनका अनुसार समस्या देखिएका क्षेत्रमा तत्काल थप सुरक्षाकर्मी परिचालन गरिएको छ। अवस्था अझ बिग्रिए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा थप कारबाही अघि बढाउने चेतावनी पनि उनले दिएका छन्। उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गरिने उनको भनाइ छ।
सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट थप नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोली सुनसरी पठाइएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले कप्तानगञ्जसहित संवेदनशील क्षेत्रको सुरक्षा थप सुदृढ पार्न अतिरिक्त जनशक्ति परिचालन गरिएको जानकारी दिए। घटनापछि जिल्ला प्रशासन कार्यालय इनरुवामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले घटनाको निष्पक्ष छानबिन, सामाजिक सद्भाव कायम राख्ने, अफवाह नफैलाउने र शान्ति–सुरक्षा कायम गर्न सबै पक्षले सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
तर, बैठकमा संयमता अपनाउने सहमति भए पनि जमिनको अवस्था भने अझै सामान्य बन्न सकेको छैन। विभिन्न बस्तीमा छिटपुट हिंसात्मक गतिविधि जारी रहँदा सर्वसाधारण असुरक्षित महसुस गरिरहेका छन्। लगातार भइरहेका आगजनी, तोडफोड, कुटपिट र आक्रमणका घटनाले सुनसरीको शान्ति सुरक्षाको अवस्था गम्भीर चुनौती थपिएको सुरक्षा अधिकारीहरूको विश्लेषण छ। कर्फ्युबीच हिंसा फैलिँदा एवं आगजनी र आक्रमण नरोकिँदा सुनसरी झन् अशान्त बन्दै गएको छ।
प्रतिक्रिया दिनुहोस !