अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर र अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजीव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
भिसा नै कीर्ते गरेको आरोपमा आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजीव महतोले अध्यागमन सूचना प्रणाली (नेपाली पोर्ट) मा रहेको ट्राभलर सेन्ट्रलाइजेसन सुविधाको दुरुपयोग गरेको पाइएको छ।
आयोगले उनले लक्जेम्बर्गको नागरिकको नाममा जारी भएको आवासीय भिसालाई किर्ते गरी आवश्यक प्रक्रिया नपुगेको र आवासीय भिसा प्राप्त गर्न अयोग्य अमेरिकी नागरिकको नाममा एकीकृत गरी भिसा प्रिन्ट गरेको र सोही भिसा अमेरिकी नागरिकको राहदानीमा टाँस भएको देखिएको जनाएको छ।
कम्प्युटर अपरेटर महतोले २०८० फागुनमा अमेरिकी नागरिकलाई गैरकानुनी रूपमा आवासीय भिसा उपलब्ध गराएका थिए।
प्रतिक्रिया दिनुहोस !