गोविन्द केसीको अनशन : १२ घण्टाको वार्ता असफल, आज निर्णयक वार्ता हुँदै
धनगढी : प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आज निर्णायक वार्ता हुने भएको छ । प्राध्यापक डा. गोविन्द केसीको अनशन अन्त्य गराउने उद्देश्यले सरकार र केसी पक्षबीच आइतबार राती अबेरसम्म धनगढीमा अन्तिम सहमतिको प्रयास भएको थियो । तर डाक्टर केसीले सहिद दशरथभन्दा स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्टार दुबै जनालाई नहटाउँदासम्म अनशन नतोड्ने बताएपछि आइतबार वार्ता निष्कर्षबिहीन भएको हो।
‘आज १० बजेदेखि छलफल सुरु हुनेछ’ डाक्टर केसीका सहयोगी चिकित्सक डा. अमृत जैशीले भने । सरकारी पक्ष हालै नियुक्त गरेका रजिष्टार डा. भीम बहादुर चन्दलाई हटाउन तयार भएपनि डाक्टर केसीले उपकुलपति पनि नहटाउँदासम्म अनशन नछोडने बताएपछि आइतबार रातीको वार्ता विफल भएको थियो ।
आइतबार सेती प्रादेशिक अस्पतालमा करिब १२ घण्टा लामो छलफल हुँदा सहमतिको मस्यौदासमेत तयार भएको थियो । तर विश्वविद्यालयका पदाधिकारीको भविष्य र निजी मेडिकल कलेजमा सिट विस्तारसम्बन्धी केही प्राविधिक विषय टुंगोमा नपुग्दा सहमति हुन सकेको थिएन ।
धनगढी उपमहानगरका मेयर गोपाल हमाल, कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझासहितका स्थानीय जनप्रतिनिधिहरुले पनि गेटामा चिकित्सा शिक्षाको पढाई र ३ सय शैयाको अस्पताल यसै वर्षदेखि सञ्चालन हुनेगरी मात्रै कदम चाल्न सरकारलाई दबाब दिइरहेका छन् ।
विवादमा तानिएका रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई जिम्मेवारीबाट हटाउने विषयमा सरकार सकारात्मक देखिएको छ भने उपकुलपति डा. सुनिलप्रसाद जोशीको विषयमा अझै सहमति जुट्न बाँकी रहेको स्रोतले बतायो । डा. केसीले भने स्वार्थको द्वन्द्व हुने गरी भएका नियुक्ति खारेज हुनुपर्ने अडान राखेका छन्। विश्वविद्यालयको काम नरोकिने गरी वैकल्पिक नेतृत्वको व्यवस्था गर्नुपर्ने उनको माग छ ।
डा. केसीका सहयोगी डा. अमृत जैशीले अधिकांश विषयमा समझदारी बने पनि केही कानुनी तथा प्राविधिक पक्ष मिलाउन बाँकी रहेकाले आजको वार्ता निर्णायक हुने विश्वास व्यक्त गरे ।
गत बिहीबारदेखि धनगढीको राधाकृष्ण मन्दिरको धर्मशालामा अनशनमा बसेका डा. केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखिएको छ ।
वार्तामा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जगदीशचन्द्र अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा, शिक्षा सचिव चूडामणि पौडेल, प्रतिनिधिसभा सदस्य पुकार बम तथा डा. केसी पक्षका प्रतिनिधिहरू सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस !