इरानको परमाणु केन्द्रमा हमला गर्ने ट्रम्पको चेतावनी
काठमाडौं : अमेरिकाले इरानका सैन्य अड्डालाई लक्षित गर्दै लगातार ११ औँ रात पनि भीषण आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार सामरिक दृष्टिले महत्वपूर्ण हर्मुजमा व्यावसायिक जहाजहरूको आवागमन सुरक्षित बनाउन र इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको हो।
अमेरिकाले इरानी सैन्य अपरेशन सेन्टर, ड्रोन भण्डारण केन्द्र, विमान ह्याङ्गर र सैन्य आपूर्ति प्रणालीहरूमा क्षति पुर्याएको दाबी गरेको छ। विगत तीन महिनामा इरानले ३० भन्दा बढी व्यावसायिक जहाजहरूमाथि आक्रमण गरेको अमेरिकाको आरोप छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको 'नातान्ज' नजिकै रहेको 'पिक्याक्स माउन्टेन'नामक भूमिगत परमाणु केन्द्रमा छिट्टै कडा हमला गर्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरानले उक्त स्थानमा अघोषित रूपमा परमाणु प्रविधि विकास गरिरहेको आशङ्का व्यक्त गरे ।
अमेरिकी धम्कीपछि इरानको सैन्य कमाण्डले कडा आपत्ति जनाएको छ। यदि अमेरिकाले परमाणु स्थलमा आक्रमण गरेमा त्यसलाई 'पूर्ण युद्धको घोषणा' मानिने र मध्यपूर्वमा रहेका सम्पूर्ण अमेरिकी हित तथा उसका सहयोगी राष्ट्रहरूमाथि तीव्र जवाफी हमला गरिने इरानले चेतावनी दिएको छ।
इरानले छोडेका ड्रोन र मिसाइलहरूलाई कुवेत, बहराइन र जोर्डनका वायु रक्षा प्रणालीले आकाशमै ध्वस्त पारेको दाबी गरेका छन्।यसैबीच, यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका बन्दरगाह र 'बाब अल-मन्दब' जलडमरू बन्द गर्ने धम्की दिएपछि साउदी तेल बोकेका ट्याङ्करहरूले आफ्नो बाटो मोडेका छन्। यस द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उतारचढाव आएको छ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथका अनुसार इरानसँगको यस सैन्य द्वन्द्वमा अमेरिकाको हालसम्म ३७.५ अर्ब अमेरिकी डलर भन्दा बढी खर्च भइसकेको छ। दुवै देशबीच गत अप्रिल र जुनमा भएका युद्धविरामका प्रयासहरू भङ्ग भएपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ।
प्रतिक्रिया दिनुहोस !