वैदेशिक रोजगारीमा हुने ठगी रोक्न अब अनलाइन उजुरी, मुद्दाको प्रगति जुनसुकै बेला हेर्न सकिने
काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण गर्न अनलाइनमाध्यमबाट नै उजुरी दिन सक्ने व्यवस्था सुरु गरेको छ । मंगलबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बिभागमा पुगेर अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन् ।
मन्त्री यादवले वैदेशिक रोजगारीका क्रममा हुने ठगी, बढी रकम असुलीदेखि शोषण नियन्त्रण गर्न अनलाइनमाध्यमबाट नै उजुरी दिन सक्ने व्यवस्था गरिएको जानकारी दिए । उनले पीडितहरूले मोबाइल÷कम्प्युटरमार्फत उजुरी र प्रमाण दर्ता गर्न सक्ने र उजुरी दर्ता भएपछि आवेदकले इमेल÷सन्दशमार्फत प्राप्त ट्रयाकिङ कोड प्रयोग गरी आफ्नो मुद्दाको प्रगति जुनसुकै बेला हेर्न सक्ने बताए ।
मन्त्री यादवले २०५७ सालदेखि थन्किएर रहेका ४० हजार बढी पुराना उजुरीका फाइलहरूलाई मिलाएर डिजिटलाइज गर्ने काम समेत भइरहेको उल्लेख गरे । वैदेशिक रोजगारीमा हुने ठगीलाई शून्यमा झार्ने लक्ष्य राखिएको उनको भनाइ छ । उनले प्रहरी र अनुसन्धान निकायहरूसँगको समन्वयमा ठगी गर्ने व्यक्तिहरूलाई जहाँ भए पनि कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिए । त्यसअघि मन्त्री यादवले वैदेशिक रोजगार विभागको काम कारवाहीको अनुगमन समेत गरेका थिए । सो क्रममा उनले सेवाग्राहीका गुनासा सुनेका थिए ।
प्रतिक्रिया दिनुहोस !