पाइलट प्रोजेक्टका रुपमा फोहोरबाट उर्जा उत्पादनको तयारी हुँदैछ : मन्त्री श्रेष्ठ
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भावी जलवायु परिवर्तनका जोखिमलाई मध्यनजर गर्दै अन्य नवीकरणीय ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको ऊर्जा तथा जलस्रोतसम्बन्धी विषयगत समितिको बैठकमा मन्त्री श्रेष्ठले नेपालको मुख्य आधार जलविद्युत् भए पनि भावी जलवायु परिवर्तनका जोखिमहरूबाट जोगिन सौर्य ऊर्जा जस्ता अन्य नवीकरणीय ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
मन्त्री श्रेष्ठले पाइलट प्रोजेक्टका रूपमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने कार्यक्रम तयार पारिएको र यो सफल भएमा प्रदेश तथा स्थानीय तहसम्म विस्तार गरिने योजना रहेको जानकारी दिए । सिँचाइले मात्र सोचे जस्तो प्रतिफल नदिने भएकाले सिँचाइ र कृषिलाई सँगै जोडेर उत्पादकत्व बढाउन गृहकार्य भइरहेको उनले बताए ।
उनले जलस्रोत र ऊर्जा आयोगलाई अधिकारसम्पन्न बनाई सम्पूर्ण तथ्याङ्क तथा अनुसन्धानको एउटा बलियो ज्ञान केन्द्रको रूपमा विकास गर्न खोजिएको पनि बताए । जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा तिनै तहका सरकारबीच न्यायोचित अधिकार बाँडफाँड गर्दै प्रदेशलाई थप अधिकार, स्रोत र प्राविधिक सहयोग दिने लक्ष्य राखिएको मन्त्री श्रेष्ठले जानकारी दिए । बैठकमा संघ, प्रदेश र स्थानीय तहबीच जलस्रोत, सिँचाइ, नदी व्यवस्थापन तथा भूमिगत सिँचाइका अधिकार र जिम्मेवारीहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !