सूचना प्रविधिमा विद्यार्थीको आकर्षण, आईबीएमको साथ

सूचना प्रविधिमा विद्यार्थीको आकर्षण, आईबीएमको साथ
सुन्नुहोस्

भक्तपुर: ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंको कक्षा ९ मा अध्ययनरत छात्र रियाज भुजेल सूचना प्रविधिमै आफ्नो भविष्य देख्छन्।क्रियटिभ लनर्स स्कुल भक्तपुरकी छात्रा दीक्षा गिरीलाई पनि सूचना प्रविधिको पढाइले मात्र शिक्षा पूर्ण हुने भन्ने लागेको छ।भक्तपुरको बालकोटस्थित माउन्ट भ्यु विद्यालयमा भुजेल र गिरीसहित ७ विद्यालयका ३१ विद्यार्थीले सूचना प्रविधिसम्बन्धी अन्तर्रास्ट्रियस्तरको आधारभूत तालिम लिएका छन्।तालिमले सूचना प्रविधिको क्षेत्रमा आफूहरूको ज्ञान र लगाव बढाउनुका साथै यस क्षेत्रमा राम्रो गर्न सक्ने आत्मविश्वास बढेको उनीहरू बताउँछन्।

विद्यालय तहका यी विद्यार्थीलाई सूचना प्रविधिको तालिम भने सूचना प्रविधिको क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय संस्था आईबीएम, यूकेले उपलब्ध गराएको हो।सो संस्थामा कार्यरत नेपाली मूलकी विज्ञ आरुषी कार्कीको पहलमा नेपाली विद्यार्थीका लागि तालिम सञ्चालन गरिएको आयोजक ‘इंगेज नेपाल विथ साइन्स’ की नेपाल संयोजक शुभेक्षा 
बास्तोलाले बताइन्।

प्रविधिको क्षेत्रमा उत्सुक र करिअर बनाउन जागरुक विद्यार्थीलाई लक्षित गरी ‘कोड द फ्युच’ कार्यक्रमअन्तर्गत डिजिटल सीप विकास तालिम निःशुल्क सञ्चालन गरिएको उनले जानकारी गराइन्।एक सातासम्म सञ्चालित तालिम शुक्रबार समापन गरिएको छ।तालिममा सहभागीलाई एचटीएमएल, सीएसएस र गिटलगायत वेब विकासका आधारभूत सीप सिकाइएको छ।सहभागीहरूले अनुभवी आईबीएम वेब डेभलपरसँगको प्रत्यक्ष निगरानी, अन्तरक्रिया, परामर्श र परियोजनाका रूपमा आफ्नै वेबसाइट निर्माण गर्ने अवसर पाएका छन्।साथै, एआई सत्रमा कोडिङका लागि एआईलाई सही तरिकाले प्रयोग गर्नसमेत सिकाइएको छ।

आईबीएम, यूकेका विषय विज्ञ प्रशिक्षकहरू सारा निनन, जेकब बोर्डम्यान, रेम्या मुरलीधरन, ज्याक्लिन जोन्स, क्रिस्टेल कैसिप, खदिजा अल्लाराखिन, दुआ रदवान, बेल्स वोडिके, एम्बर इडुम्बोन्यी, ग्रेस बर्डेटले सहभागी विद्यार्थीलाई अनलाइन कक्षामार्फत सिकाएका थिए।उनीहरूको सिकाइबारे नियमित अन्तरक्रियामा भने ज्याक्लिन जोन्स, अमर राई र आरुषी कार्की सहभागी रहे।
सूचना प्रविधिको युगमा वेबसाइटबारे ज्ञान दिन र विद्यार्थीलाई सही दिशानिर्देश गर्न तालिम प्रभावकारी भएको नेपाली स्वयंसेवक मोनिमा कर्माचार्य र उत्सव दाहालको भनाइ छ।यसले विद्यार्थीलाई समूहमा काम गर्न, आफ्नो ज्ञानको दायरा बढाउन र सिर्जनशीलता विकास गर्न महत्वपूर्ण प्लेटफर्म निर्माण गरेको शिक्षासेवी एवं माउन्ट भ्यु स्कुलकी प्रिन्सिपल मीना महर्जनले प्रतिक्रिया दिएकी छन्।

तालिमले विद्यार्थीको आईटीसम्बन्धी ज्ञान उच्च तहमा पुगेको उनले अनुभव सुनाइन्।यस्ता कार्यक्रमले नेपाली विद्यार्थीलाई विज्ञान र अनुसन्धानतर्फ अभिरुचि बढाउने र नवप्रवर्तनमा योगदान पुग्ने स्थानीय समाजसेवी एवं युवा विकास अभियन्ता नरेश रन्जित विश्वास व्यक्त गर्छन्। अभिभावकहरूले पनि तालिम समयसापेक्ष भएको भन्दै सन्तोष व्यक्त गरेका छन्।उनीहरूले यस्ता कार्यक्रमको निरन्तरताका लागि सरकारले समेत अवसर उपलब्ध गराइ विद्यार्थीलाई थप तिखार्नुपर्ने प्रतिक्रिया दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.