पानीजन्य रोगले पिरोल्ला है !
काठमाडौं: वर्षायामको समय छ। बाढी, पहिरोका कारण पानीका मुहानहरू दूषित हुन सक्छन्। पिउनका लागि मात्र होइन, तरकारी र काँचै खान मिल्ने फलफूल पखाल्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्। यदि पानी सफा (शुद्ध) छैन भने रोगले पिरोल्न सक्छ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, वर्षायामसँगै पानीजन्य रोगले सताउने जोखिम हुन्छ। डा. पुन भन्छन्, ‘मनसुन सक्रिय होउन्जेलसम्म पानीजन्य रोगको जोखिम रहिरहन्छ, तसर्थ, सबै सजग हुनुपर्छ।’ यसका लागि शुद्धीकरण गरिएको पानी पिउनुपर्छ।
त्यस्तै, रोगबाट बच्न बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा खानु हुँदैन। काँचै खान मिल्ने फलफूल तथा तरकारी शुद्धीकरण गरेको पानी प्रयोग गरी राम्ररी सफा गरेर मात्र खानुपर्छ। भान्छालाई व्यवस्थित र सफा राख्नुपर्छ। भाँडाकुँडालाई राम्रोसँग भित्रबाहिर सफा गर्नुपर्छ। खानेकुरा र पानीलाई राम्ररी छोपेर राख्नुपर्छ। राम्रोसँग पाकेको खानेकुरा मात्रै खानुपर्छ। खाना पकाउनु र पस्कनुअघि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ।
झरी र वर्षासँगै महामारीको जोखिम
झरी र वर्षासँगै पानीका मुहानहरू (जस्तै इनार, मूल, धारा, बोरिङ) दूषित हुन पुग्छन्। शुद्धीकरण नगरी पानी पिउँदा वा उपभोग गर्दा झाडापखाला तथा हैजा जस्ता सरुवाजन्य रोगको जोखिम हुन्छ। बाढी र ढलको फोहोर पिउने पानीमा मिसिँदा पानीजन्य रोगको जोखिम बढ्छ। डा. पुन भन्छन्, ‘वर्षात्को बेला विशेषगरी झाडापखाला, टाइफाइड, हेपाटाइटिस, डेंगुको जोखिम हुन्छ।’
झाडापखाला र हैजाबाट बालबालिका बचाऔं
पातलो दिसा हुने, धेरै तिर्खा लाग्ने, बान्ता हुने र पेट दुख्ने लगायतका लक्षणहरू देखिएमा झाडापखाला हुनसक्छ। झाडापखालाको बढी जोखिम बालबालिकालाई हुन्छ। बालरोग विशेषज्ञहरूका अनुसार, आमाको स्तनपान नगराई बोतलको दूध खुवाइएका बालबालिका, कुपोषित बालबालिका, व्यक्तिगत सरसफाइ नभएका र फोहोर वातावरणमा रहने बालबालिका तथा खोप नलगाएका बालबालिकालाई झाडापखालाको जोखिम हुन्छ। झाडापखाला लागेमा बालबालिकालाई घरैमा पनि उपचार गर्न सकिन्छ। प्रशस्त मात्रामा सफा र झोल कुराहरू पटक–पटक खान दिनुपर्दछ। आमाको दूध, गेडागुडी अथवा दालको रस, फलफूलको रस, भातको माड, पुनर्जलीय झोल तथा सुरक्षित र सफा पिउने पानी खुवाउनुपर्छ।
टाइफाइड र हेपाटाइटिसबाट जोगिऔं
हेपाटाइटिसका कारण हुने जन्डिसले पनि सताउन सक्छ। हेपाटाइटिस हुँदा बिरामीको आँखा तथा पिसाब पहेंलो हुन्छ। यसैगरी कमदेखि १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आउन सक्छ। वाकवाकी लाग्ने, पेट दुख्ने हुन्छ। यी सबै साधारण जन्डिसका लक्षण हुन्। जन्डिसले जटिल रूप लिएमा भने बिरामी बेहोस भएर बर्बराउने हुन सक्छ। बिरामीले मान्छे नचिन्ने, बिरामीको मुखबाट तथा दिसा गर्दा रगत आउने हुन्छ। पेटमा पानी जमेर शरीर सुन्निन्छ। पिसाब कम लाग्छ। यसैगरी टाइफाइड हुँदा ज्वरो आउँछ। टाउको, पेट दुख्ने तथा फुल्ने गर्छ। कसैलाई कब्जियत हुन्छ भने कसैलाई डायरिया हुन्छ। जिब्रो सेतो हुन्छ।
त्यस्तै यो समय डेंगुको पनि जोखिम रहेको सरुवा रोग विशेषज्ञ डा. पुन बताउँछन्। डेंगु लामखुट्टेजन्य भाइरल संक्रमण हो। संक्रमित बिरामीलाई शरीर, हात, जोर्नी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, आलस्य हुने, रिँगटा लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिन्छन्। प्रभावित क्षेत्रका बासिन्दाले यी लक्षणलाई सामान्य ठानेर हेलचेक्याइँ गर्नुहुँदैन। चिकित्सकसँग सल्लाह गरेर डेंगु परीक्षण गराउनुपर्छ। रोगको उपचार सम्भव छ।
कसरी जोगिने ?
उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउनुपर्छ। खानेपानीलाई सधैं भाँडामा ढाकेर राख्नुपर्छ। सफा भाँडोले मात्र पानी निकाल्नुपर्छ। खानेकुरा राम्ररी पकाएर मात्र खानुपर्छ। सडेगलेको, बासी, झिँगा भन्केको खानेकुरा खानु हुँदैन। खानेकुरा सफा भाँडोले ढाकेर राख्नुपर्छ।
खाना बनाउनुअघि, खाना खानु र खुवाउनुअघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि साबुनपानीले मिचिमिची हात धुनुपर्छ। बाहिरी फोहोर सामान छोएपछि साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्छ। दिसापिसाब चर्पीमा मात्र गर्नुपर्छ। बालबालिकाको दिसापिसाब चर्पीमा नै फ्याँक्नुपर्छ। झाडापखाला भइहालेमा पुनर्जलीय झोलसँगै प्रशस्त मात्रामा झोलिलो खानेकुरा खुवाउनुपर्छ। हैजा तथा झाडापखालाका लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा उपचार गराउन जानुपर्छ।
कीटजन्य रोग विशेषज्ञहरूका अनुसार, एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातका पोथी लामखुट्टेले पानीमा पारेका अन्डा, लार्भा र प्युपा नष्ट नगरेसम्म डेंगु नियन्त्रण हुँदैन। लामखुट्टे मार्न फगिङ (कीटनाशक औषधि छर्कने) ले डेंगु नियन्त्रणमा प्रभावकारी हुँदैन। यसले अन्डा, लार्भा, प्युपा नष्ट गर्न सक्दैन। घरवरपर सफा राखी पानी जम्न दिनुहुँदैन।
घर, कार्यालयका फ्रिज, एसी, कुलर र गमला राख्ने प्लेटलगायतमा जम्मा भएको पानीमा रहेका लार्भा नष्ट गर्नुपर्छ। घरको झ्यालढोकामा जाली लगाउनुपर्छ। सुत्दा झुल प्रयोग गर्ने बानीले पनि संक्रमित लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ।
प्रतिक्रिया दिनुहोस !