हरेक मानिसको स्वाभाविक प्रवृत्ति सुख–दुःख भोग्दै जीवन जोगाउने, परिवारसँग रमाउने र आफ्ना सपनाहरू पूरा गर्ने नै हो। तर, पछिल्लो समय आर्थिक संकट, व्यावसायिक विफलता, बेरोजगारी र पारिवारिक तनावका कारण कतिपय व्यक्तिहरू चरम निराशामा पुगेर आत्मदाह वा आत्महत्या जस्तो आत्मघाती बाटो रोज्न पुगिरहेका छन्।
अनुसन्धान अनुसार करिब ७० देखि ८० प्रतिशत आत्महत्याका घटनामा डिप्रेसन, अत्यधिक तनाव वा अन्य मानसिक स्वास्थ्य समस्याको भूमिका हुन्छ। जब मानिसले चरम पीडा सहन सक्दैन र उसलाई आफ्नो समस्याको कुनै समाधान भेटिँदैन, तब मात्र उसले मृत्युलाई अन्तिम विकल्प ठान्न पुग्छ। तर बुझ्नुपर्ने मुख्य कुरा के हो भने, परिस्थिति जतिसुकै विषम वा जटिल भए पनि आत्मदाह कहिल्यै पनि समस्याको समाधान हुन सक्दैन।
यो क्षणिक आवेग वा गहिरो मानसिक संघर्षको उपज मात्र हो। विभिन्न अध्ययन र अभ्यासहरूले देखाएका छन् कि समयमै उचित परामर्श, औषधोपचार र परिवारको बलियो साथ पाउने हो भने चरम निराशामा पुगेका व्यक्तिहरू पनि पुनः सामान्य र सुन्दर जीवनमा फर्कन सक्छन्। त्यसैले मनमा नकारात्मक वा निराशाजनक सोच आउनासाथ त्यसलाई लुकाएर बस्नुको सट्टा परिवार, साथीभाइ वा विशेषज्ञसँग खुलेर कुरा गर्ने संस्कृतिको विकास गर्नुपर्छ।
हाम्रो वरिपरि रहेका व्यक्तिहरूको व्यवहारमा अचानक आएको परिवर्तन, एक्लोपन वा निराशाजनक कुराकानीलाई हामीले कहिल्यै सामान्य रूपमा लिनुहुँदैन। समयमै सोधिएको एउटा सानो प्रश्न वा गरिएको खुला संवादले कसैको अमूल्य जीवन जोगाउन सक्छ। आत्महत्या वा आत्मदाह व्यक्तिगत कमजोरी होइन, यो जनस्वास्थ्यको ठूलो चुनौती हो। जीवन अमूल्य छ, समस्याहरूसँग लडौं तर आत्मघाती बाटो कहिल्यै नरोजौं।
‘आत्महत्याको जोखिम घटाउन सकिन्छ’
कतिपय व्यक्तिहरू किन आत्मदाह गर्न खोज्छन् ?
वास्तवमा हरेक मानिस बाँच्न चाहन्छ। उसले सुखी जीवन बिताउन, परिवारसँग रमाउन, प्रेम गर्न, काम गर्न, पैसा कमाउन, यात्रा गर्न, आफ्ना सपना पूरा गर्न चाहन्छ। शरीरमा पीडा भयो भने उपचार खोज्छ, रोग लाग्यो भने निको हुन चाहन्छ। अर्थात् मानिसको स्वाभाविक प्रवृत्ति जीवन जोगाउने हो।
यही कारणले गर्दा कुनै व्यक्ति किन आफ्नै जीवन अन्त्य गर्न पुग्छ भन्ने प्रश्नको एउटै उत्तर हुँदैन। आत्महत्या सामान्य निर्णय होइन। यो धेरैजसो अवस्थामा लामो समयदेखि थुप्रिँदै आएको मानसिक, भावनात्मक, सामाजिक वा आर्थिक पीडाको अन्तिम अभिव्यक्ति हुन सक्छ।
यस विषयमा विश्वभर भएका अनुसन्धानले देखाएका छन् कि आत्महत्याको पछाडि एउटा मात्र कारण हुँदैन। धेरै कारणहरू एकआपसमा गाँसिएर व्यक्तिलाई यस्तो अवस्थामा पुर्याउँछन्। कतिपय अवस्थामा कारण स्पष्ट देखिन्छ। कतिपय अवस्थामा बाहिरबाट सबै कुरा सामान्य देखिए पनि व्यक्तिले भित्रभित्रै गहिरो मानसिक संघर्ष गरिरहेको हुन्छ। जस्तो एक जना युवा म समक्ष आए। उनलाई काउन्सिलिङ गरेँ। तर, घर जाँदा अभिभावकको कटुवचन सुन्नु पर्दो रहेछ।
यत्रो उमेर.... हुँदा सम्म पनि जागिर नपाएको, दुई पैसा कमाउनु छैन बूढाबूढीकै कमाइ खाइरहेको... जस्ता मनमा बिझाउने कुरा अभिभावकबाट सुन्नपर्दा पनि युवाहरूमा तनाव हुन्छ। अहिलेका युवालाई पढेअनुसारको जागिर नपाउनु, आम्दानीको स्रोत नहुनु मात्र होइन अर्को घरमा जाँदा पनि अभिभावकबाट व्यंग्य र कटु वाक्य सहनु पर्दा पनि भावनात्मक रूपमा चोट पुग्छ। वृद्ध बुवाआमासहित परिवार पाल्नुपर्ने समस्याले सताउँछ। आफ्नो सोंच वा योजनाविपरीतको परिस्थिति सिर्जना हुँदा पनि युवाहरू फ्रस्टेड हुन पुगिरहेका छन्। विषम वा जटिल परिस्थितिसँग संघर्ष गरिरहनु परेको तर समाधानको उपाय नभेटिँदा पनि युवाहरू मानसिक, भावनात्मक, सामाजिक वा आर्थिक पीडा भोगिरहन बाध्य भएका छन्।
यो समस्या अहिले प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखिन थालेको हो ?
अहिले आत्महत्या विश्वव्यापी जनस्वास्थ्य समस्याका रूपमा स्थापित भइसकेको छ। संसारका लगभग सबै देशमा आत्महत्याका घटना भइरहेका छन्। विकसित देशदेखि विकासोन्मुख राष्ट्रसम्म यसको चुनौती समान रूपमा देखिएको छ।
पछिल्लो समय तीव्र सामाजिक परिवर्तन, आर्थिक असुरक्षा, बेरोजगारी, बढ्दो प्रतिस्पर्धा, बसाइँसराइ, सहरीकरण, परिवारको संरचनामा आएको परिवर्तन तथा सामाजिक सम्बन्ध कमजोर बन्दै जानुले पनि मानिसको मानसिक स्वास्थ्यमा असर परेको छ। यस्ता परिवर्तनसँगै आत्महत्याको जोखिम पनि बढिरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। त्यसैले आत्महत्यालाई अब व्यक्तिगत समस्या मात्र नभई सार्वजनिक स्वास्थ्यको चुनौतीका रूपमा हेर्नुपर्ने अवस्था आएको छ।
विभिन्न अध्ययनले मानसिक रोगलाई आत्महत्याको प्रमुख कारण भनेका छन्। यसको सम्बन्ध कत्तिको गहिरो छ ?
आत्महत्याका कारण धेरै छन्। तर, अनुसन्धानहरूले करिब ७० देखि ८० प्रतिशत आत्महत्याका घटनामा कुनै न कुनै मानसिक रोगको भूमिका रहेको देखाएका छन्। विशेषगरी डिप्रेसन, बाइपोलार डिसअर्डर, स्किजोफ्रेनिया, मदिरा तथा लागुपदार्थको लत, अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसीडी), व्यक्तित्वसम्बन्धी विकार (पर्सनालिटी डिसअर्डर) लगायतका मानसिक समस्याले व्यक्तिको सोच्ने क्षमता, निर्णय गर्ने क्षमता र भावनात्मक सन्तुलनमा गम्भीर असर पार्न सक्छ।
तर, मानसिक रोग मात्र कारण होइन। कसैले आफू परिवार वा समाजका लागि बोझ भएको महसुस गर्न थाल्नु, निरन्तर अपमान वा हिंसा सहनु, यौन दुर्व्यवहारको सिकार हुनु, सम्बन्ध विच्छेद, प्रियजनको मृत्यु, ठूलो आर्थिक संकट, दीर्घकालीन असाध्य रोग वा लगातारको शारीरिक पीडाले पनि आत्महत्याको जोखिम बढाउन सक्छ।
केही परिवारमा एउटै वंशका धेरै सदस्यले फरक–फरक समयमा आत्महत्या गरेको उदाहरण पनि भेटिन्छ। यसले आनुवंशिक वा जैविक पक्षको पनि केही भूमिका हुन सक्ने अनुसन्धानहरूले संकेत गरेका छन्। यद्यपि, जीन मात्र निर्णायक कारण भने होइन, वातावरण र सामाजिक अवस्था पनि उत्तिकै महत्वपूर्ण हुन्छन्।
आत्महत्याको प्रयास गरेर बाँचेकाहरूमा पुनः त्यही प्रयास दोहोरिने सम्भावना कत्तिको हुन्छ ?
धेरै मानिसहरूले आत्महत्याको पहिलो प्रयासलाई सामान्य रूपमा लिन्छन्, तर वास्तवमा यो भविष्यको सबैभन्दा ठूलो जोखिम संकेत हो। विभिन्न अध्ययनका अनुसार आत्महत्याको प्रयास गरेर बाँचेका करिब १६ प्रतिशत व्यक्तिले केही वर्षभित्र फेरि आत्महत्याको प्रयास गर्न सक्छन्।
त्यसैले यस्तो घटना भएपछि केवल शारीरिक उपचार गरेर घर पठाउनु पर्याप्त हुँदैन। उनीहरूको मानसिक स्वास्थ्यको विस्तृत मूल्यांकन, नियमित परामर्श, औषधोपचार आवश्यक भए त्यसको निरन्तरता तथा परिवारको सहयोग अत्यावश्यक हुन्छ।
कसैको मनमा आत्महत्याको सोच आउन थालेको छ भन्ने संकेत कसरी पहिचान गर्न सकिन्छ ?
धेरैजसो अवस्थामा व्यक्तिले प्रत्यक्षरूपमा ‘म आत्महत्या गर्छु’ भन्ने कुरा भन्दैन। तर उनले घुमाउरो भाषामा आफ्ना भावना व्यक्त गरिरहेका हुन्छन्। उदाहरणका लागि, अब बाँचेर के गर्नु ? जीवनको कुनै अर्थ छैन, अब फेरि भेट नहुन पनि सक्छ, मेरो सपना कहिल्यै पूरा भएन, सबैलाई मेरो कारण
दुःख भयो जस्ता अभिव्यक्तिहरूलाई सामान्य रूपमा लिनुहुँदैन।
त्यस्तै अचानक सबैसँग टाढिनु, एक्लै बस्न रुचाउनु, पहिले मन पर्ने काममा रुचि हराउनु, अत्यधिक निराश देखिनु, आफ्नो सामान बाँड्न थाल्नु, विष, डोरी, धारिलो हतियार वा अन्य घातक सामग्री जुटाउन खोज्नु, जागिर छोड्नु, ठूलो आर्थिक क्षतिपछि पूर्णरूपमा निष्क्रिय हुनु, सम्बन्ध विच्छेदपछि जीवनप्रति चासो हराउनु जस्ता व्यवहार पनि जोखिमका संकेत हुन सक्छन्। यस्तो अवस्थामा परिवारका सदस्यले किन यस्तो भइरहेको छ ? भनेर खुला संवाद गर्नुपर्छ। समयमै सोधिएको एउटा प्रश्नले पनि कसैको ज्यान बचाउन सक्छ।
यदि कसैको मनमा बारम्बार आत्महत्याको विचार आउन थाल्यो भने त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?
पूर्णरूपमा यस्तो विचार कहिल्यै नआउने बनाउन सकिन्छ भन्ने होइन। तर यसको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ। सबैभन्दा महŒवपूर्ण कुरा, यस्तो सोच मनमा आयो भने त्यसलाई लुकाएर बस्नुहुँदैन। परिवारका सदस्य, साथीभाइ वा विश्वासिलो व्यक्तिसँग खुला रूपमा कुरा गर्नुपर्छ। मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिन ढिलाइ गर्नु हुँदैन।
धेरै मानिसले तीव्र भावनात्मक पीडा सहन नसकेर आत्महत्याको निर्णय गर्छन्। यो पीडाको स्रोत पारिवारिक विवाद, आर्थिक समस्या, सम्बन्धमा आएको संकट, आत्मसम्मानमा चोट, शारीरिक वा मानसिक रोग–जे पनि हुन सक्छ। त्यतिबेला उनीहरूलाई मृत्युबाहेक अर्को विकल्प नै देखिँदैन। तर, उपचार र सहयोग पाएपछि त्यही व्यक्तिले फेरि सामान्य जीवन बिताइरहेको धेरै उदाहरण छन्। त्यसैले समयमै सहयोग पुग्नुनै सबैभन्दा प्रभावकारी रोकथाम हो।
आत्महत्या रोकथामका लागि के गर्नुपर्ने आवश्यकता छ ?
सबैभन्दा पहिले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिनुपर्छ। अझै पनि नेपालमा मानसिक रोगलाई लुकाउने, लाज मान्ने वा कमजोरीका रूपमा हेर्ने प्रवृत्ति छ। यो सोच परिवर्तन गर्नुपर्छ। विद्यालय, कलेज, कार्यस्थल र समुदायस्तरमा मानसिक स्वास्थ्यबारे सचेतना बढाउनुपर्छ। प्राथमिक स्वास्थ्य सेवामै मानसिक स्वास्थ्य सेवा विस्तार गर्नुपर्छ।
जोखिममा रहेका व्यक्तिको पहिचान, परामर्श र उपचार सहज रूपमा उपलब्ध हुनुपर्छ। आजकल माइन्डफुलनेस मेडिटेसन (स्मृति ध्यान) जस्ता अभ्यासहरूले पनि व्यक्तिलाई आफ्ना भावना बुझ्न, तनाव व्यवस्थापन गर्न र भावनात्मक पीडाको सामना गर्न सहयोग गरिरहेका छन्। यस्ता अभ्यास उपयोगी हुन सक्छन्। तर, आवश्यक परेको अवस्थामा विशेषज्ञ उपचार पनि लिनुपर्छ।
सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र समुदायबीच समन्वय गर्नुपर्छ। राष्ट्रिय स्तरमै आत्महत्या रोकथाम कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। यो कार्यक्रम सञ्चालन गर्न अब ढिलाइ गर्न हुँदैन। किनकी यो सार्वजनिक स्वास्थ्यको विषय हो।
काउन्सिलिङ वा अन्य उपचारपद्दति अपनाउन सकिन्छ। मानसिक, सामाजिक वा भावनात्मक समस्याको समयमै संकेत पहिचान गर्नुपर्छ। कुनै समस्या छ भने खुलेर कुरा गर्ने र विशेषज्ञको सहयोग लिने संस्कृतिको विकास गर्दा मानसिक स्वास्थ्य सबल बनाउन सहयोग पुग्छ।
प्रस्तुति : दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !