रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्षबीच भेटवार्ता
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिक्मतजंग कार्की र अमेरिकाको प्रभावशाली राजनीतिक संगठन 'योङ रिपब्लिकन' का अध्यक्ष हेडन प्याजेटबीच डलासमा भेटवार्ता भएको छ।
अमेरिका भ्रमणमा रहेका कार्कीले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन तथा दुई देशका राजनीतिक दलहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले उक्त भेटवार्ता गरिएको जानकारी दिए। प्याजेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक अभियानमा सक्रिय र प्रभावशाली युवा रिपब्लिकन नेता मानिन्छन्।
भेटका क्रममा नेता कार्कीले रास्वपाको राजनीतिक दृष्टिकोण, नेपालका प्राथमिकताहरू र नेपालको आर्थिक समृद्धिको लक्ष्यबारे प्याजेटलाई जानकारी गराएका थिए।
कार्कीले विशेष गरी नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई), निजी क्षेत्रको विकास, उद्यमशीलता र रोजगारी सिर्जनामा रास्वपाले दिएको प्राथमिकताका बारेमा चर्चा गरे। नेपाल र अमेरिकाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल सधैँ इच्छुक रहेको उनले बताए।
छलफलको अर्को उद्देश्य राष्ट्रिय स्वतन्त्र पार्टी र रिपब्लिकन पार्टीबीच संस्थागत सम्बन्ध (पार्टी-टू-पार्टी रिलेसन्स) स्थापना गर्नु थियो।
नेता कार्कीले नेपाल फर्किएपछि रास्वपाको केन्द्रीय नेतृत्वसँग यस विषयमा छलफल गर्ने र दुई पार्टीबीच दीर्घकालीन तथा औपचारिक सम्बन्ध गाँस्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्कीलाई केही समयअघि मात्र रास्वपाले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य पदमा मनोनीत गरेको थियो।
प्रतिक्रिया दिनुहोस !