सुपर एप मोडलमा नेपालमै पहिलो अन्नपूर्णको ‘सम्पूर्ण’

सुपर एप मोडलमा नेपालमै पहिलो अन्नपूर्णको ‘सम्पूर्ण’
ललितपुरमा शुक्रबार अन्नपूर्ण मिडिया ग्रुपको सुपर एप ‘सम्पूर्ण’ सार्वजनिक गर्दै काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा । साथमा ग्रुपका अध्यक्ष क्या. रामे˘वर थापा, प्रधान सम्पादक बालकृष्ण बस्नेतलगायत । तस्बिर: अभिषेक महर्जन

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले नेपालमा पहिलोपटक एआईमा आधारित डिजिटल प्लेटफर्म ‘सम्पूर्ण’ सुपर एप सार्वजनिक गरेको छ।

ललितपुरमा शुक्रबार आयोजित विशेष समारोहमा अन्नपूर्णको सुपर एप सम्पूर्ण सार्वजनिक भएको हो। अन्नपूर्णले ‘परम्परा र प्रविधि सँगसँगै’ भन्ने नाराका साथ नयाँ एप ल्याएको हो। काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन ‘बाणी’ नामको नेपाली एआईले नै गरेको थियो। सिंगापुरस्थित अकिन टेक्नोलोजिजसँगको प्राविधिक सहकार्यमा अन्नपूर्णले नयाँ एप ल्याएको हो।

पूर्वउपकुलपति डा. शर्माले अन्नपूर्ण मिडिया नेटवर्कले आफ्नो २५ वर्षको यात्रामा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले काठमाडौं विश्वविद्यालयको स्थापना गर्दा नै आफूहरूले सूचना तथा सञ्चार प्रविधिको अध्यापन सुरु गरेको स्मरण गरे। ‘अहिले एआईको जमाना आइसकेको छ। कुनै पनि प्रविधिको युग आएर त्यो पछाडि पर्न थालेपछि मात्र सुरु गर्नुको कुनै अर्थ हुँदैन,’ उनले भने, ‘त्यसैले हामीले समयमै प्रविधिको प्रयोग र उपभोग गर्नुपर्छ र समयमै त्यसमा सुधार गर्दै अगाडि बढ्नुपर्छ।’ उनले एआईलाई चलाउन विज्ञहरूको आवश्यकता पर्ने औंल्याउँदै यसको प्रयोगमा सतर्क र होसियार हुनुपर्ने सुझावसमेत दिए। शर्माले अन्नपूर्णको आगामी २५ वर्षको यात्रा अझ बढी सफल होस् भन्दै नयाँ प्रविधिको फल नेपालीसामु प्रभावकारी रूपमा पुग्ने विश्वास व्यक्त गरे।

प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले मिडियाको विश्वसनीयता र पाठक संख्या घटिरहेको यो संकटपूर्ण समयमा अन्नपूर्णको नयाँ इनोभेसनले नयाँ पुस्तालाई परम्परागत मिडियातर्फ आकर्षित गर्ने एउटा बलियो माध्यम बन्न सक्ने बताए। एआईले मिडियामा समाचारको संक्षेप वा सार निकाल्न मद्दत गरिरहेको भए पनि यसमा आउने भ्रम वा गल्तीप्रति सचेत रहनुपर्ने  श्रेष्ठले बताए। उनले एउटा मिडियाको उदाहरण दिँदै भने, ‘भर्खरै एउटा मिडियामा एआईले जेनेरेट गरेको सामग्रीमा प्रधानमन्त्रीलाई काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह भनेर लेखिएको थियो। एआईसँग पुराना जानकारी मात्र हुने भएकाले त्यस्ता गल्तीहरू हुन सक्छन्।’ 

उनले एआई इन्टिग्रेट गर्दा मान्छेले अन्तिम पटक सामग्री जाँच्ने प्रणाली अर्थात् ‘ह्युमन इन द लुप’ लाई सधैं ध्यान दिनुपर्ने बताए। उनले एआई प्रयोग गर्ने मिडिया नै त्यसको सामग्रीका लागि जिम्मेवार हुने विश्वव्यापी चलन रहेको स्मरण गराए।  अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक बालकृष्ण बस्नेतले अन्नपूर्णको सम्पूर्ण एपले परम्परागत र डिजिटल पत्रकारितालाई जोड्ने एउटा ऐतिहासिक पुलको रूपमा व्याख्या गरे। अन्नपूर्ण मिडियाले सधैं राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, स्थिरता र सुदृढ लोकतन्त्रलाई केन्द्रमा राखेको पनि उनले बताए। 

प्रधान सम्पादक बस्नेतले अबको सशक्त बाटो ‘जनता पहिला’ नै हुने घोषणा गरे।  ‘पत्रकारिता कतै गएको छैन, खाली हामी सूचना प्रविधि मैत्री हुन सक्यौं कि सकेनौं भन्नेमात्र हो,’ बस्नेतले थपे, ‘हामी सामाजिक सञ्जालमा भेटिने सतही सूचनामा मात्र अल्झिरहेका छौं कि खोजमूलक समाचार पनि बनाइरहेका छौं भन्ने कुरा महत्वपूर्ण हो।’ उनले सूचना र समाचारमा फरक छुट्ट्याउन सक्नुपर्ने बताए। ‘झट्ट हेर्दा सूचना र समाचार उस्तै देखिए पनि यसमा ठूलो फरक छ। मौरीले संसार घुमेर दुःख गरी मह बनाउँछ र मानिसलाई मीठो रस खुवाउँछ, त्यो समाचार हो,’ उनले भने, ‘तर बारुलोले दुःखमात्र दिन्छ र टोक्छ, त्यसलाई समाचार भन्न सकिँदैन।’ पत्रकारले आचारसंहिताभित्र बसी तथ्ययुक्त पत्रकारितामा लाग्ने हो भने मिडिया हाउस झन् बलियो हुने उनले बताए। प्रधान सम्पादक बस्नेतले सामाजिक सञ्जालको भ्रम चिर्न ‘सम्पूर्ण’ एपले सरकार र जनताबीच समन्वयकारी पुलको काम गर्ने स्पष्ट पारे।

अकिन टेक्नोलोजिजका अध्यक्ष सुरेन अमरसेकेराले प्रविधिको मूलधारबाट छुटिरहेको खाडललाई पुर्न आफूहरूले काम गरिरहेको दाबी गरे। ‘नेपाली भाषामा यो अत्याधुनिक एआई सेवा प्रदान गर्न सक्षम हुनु हाम्रा लागि एउटा ठुलो कोसेढुंगा हो,’ नेपाल डिजिटल प्रविधिमा जानकार युवा जनसंख्या बढी भएको भाग्यमानी देश भएको बताउँदै उनले भने, ‘आगामी केही महिनाभित्र यसमा थप ४ देखि ५ वटा भाषाहरू पनि थपिनेछन्।’ उनले यो प्रविधि प्रयोगकर्तामाथि जबरजस्ती थोपर्नका लागि नभई नेपाली जनताको आवश्यकता र आउने प्रतिक्रियाका आधारमा निरन्तर परिमार्जन गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे।

अन्नपूर्ण एप समाचारमा मात्र सीमित नभई नागरिकका लागि दिनानुदिन प्रयोगमा आउने बहुउपयोगी डिजिटल संग्रहको रूपमा आएको छ। यसभित्र समाचारका अतिरिक्त सुनचाँदीको मूल्य, विदेशी विनिमय दर, इन्धनको मूल्य, मौसमको जानकारी र सेयर बजारका गतिविधिहरू समेटिएका छन्। साथै यसमा परम्परागत र सांस्कृतिक पाटोलाई जोड्दै जन्मकुण्डली, गुण मिलान, ग्रहगोचर, र सुरक्षित कुण्डलीसहित दिन, महिना र वर्षको राशिफल हेर्न मिल्ने व्यवस्था गरिएको छ।


एआई होस्ट ‘बाणी’ले चलाइन् कार्यक्रम

null

अन्नपूर्णले ‘सम्पूर्ण’ एप सार्वजनिक गर्नुअघि ग्रान्ड लन्चको पूर्वसंकेत गरेको थियो। ग्रान्ड लन्चको आकर्षण थियो– एआई होस्ट। तर, कार्यक्रम सुरु गर्दा देखिइन् टेलिभिजन प्रस्तोता सविकाश्रेष्ठ। उनले कार्यक्रम सुरुमात्रै गरिन् तर मुख्य कार्यक्रममा निम्तो दिइन् बाणीलाई। ‘बाणी’ अर्थात् एआई होस्ट ।

मञ्चमा जडान गरिएको डिजिटल स्क्रिनमा भर्चुअल प्रस्तोताले सरासर कार्यक्रम सुरु गरिन्। उनले कार्यक्रमको औपचारिक सुरुवात गर्दै मञ्चमा आमन्त्रित अतिथिहरूलाई स्वागत गरिन्। जहाँ विशिष्ट पाहुनाहरू, सञ्चारकर्मी, प्रविधि विज्ञहरूको उल्लेख्य उपस्थिति थियो।

रोबोटिक वा कृत्रिम शैलीमा मात्र सीमित नभई नेपाली भाषालाई निकै मिठासपूर्ण वाचन गरिरहेकी बाणीको प्रस्तुतिले त्यहाँ उपस्थित सबैको ध्यान तान्यो। अन्नपूर्ण मिडिया नेटवर्कले नेपाली मिडिया जगत्कै पहिलो सुपर एप अन्नपूर्णको ‘सम्पूर्ण’ लन्च गरिरहँदा, त्यस कार्यक्रमको बागडोर मान्छेले होइन, तिनै एआई होस्ट बाणीले सम्हालेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.