नविन प्रविधि र साझेदारीमा जोड दिँदै बोशद्वारा ‘पावर पार्टनर्स समिट नेपाल–२०२६’ आयोजना
काठमाडौं : बोश नेपालले आफ्नो आधिकारिक वितरक इन्फ्राटेक प्रालिसँगको सहकार्यमा ‘बोश पावर पार्टनर्स समिट नेपाल–२०२६’ कार्यक्रम सम्पन्न गरेको छ । असार १३ गते काठमाडौंमा आयोजित वार्षिक कार्यक्रममा देशभरका करिब १२० डिलर, रिटेलर र व्यावसायिक प्रयोगकर्ताको सहभागिता थियो ।
डिलर तथा व्यावसायिक साझेदारसँगको सम्बन्धलाई अझ सुदृढ बनाउनु, बजारसम्बन्धी अनुभव आदान–प्रदान गर्नु तथा बोश पावर टुल्सका नवीनतम प्रविधि र उत्पादन सार्वजनिक गर्नु कार्यक्रममा मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । समिटमा बोशका नयाँ आई–सिरिज, नेक्स्ट जेनेरेसन ह्यान्ड टुल्स तथा निर्माण, काठ उद्योग र औद्योगिक क्षेत्रमा प्रयोग हुने अत्याधुनिक कोर्डलेस समाधानहरू प्रदर्शन गरिएको थियो । यस्तै प्रत्यक्ष उत्पादन प्रदर्शन, व्यावसायिक छलफल र नेटवर्किङ सेसनमार्फत सहभागीलाई बजारका पछिल्ला प्रवृत्ति र नयाँ प्रविधिबारे जानकारी गराइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बोश पावर टुल्स इन्डियाका रिजनल प्रेसिडेन्ट सन्मय दासगुप्ताले नेपाल दक्षिण एसियामा बोशका लागि महत्वपूर्ण सम्भावना भएको बजार रहेको बताए । उनले डिलर साझेदारसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै कोर्डलेस तथा व्यावसायिक उत्पादनको दायरा विस्तार गर्ने, उत्कृष्ट बिक्रीपछिको सेवा तथा डिजिटल पहुँचमार्फत ग्राहकलाई थप मूल्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बोश नेपालका कन्ट्री हेड सन्दिप कामतले नेपाललाई बोश पावर टुल्सका लागि तीव्र रूपमा विकास भइरहेको बजारका रूपमा उल्लेख गर्दै नवीन उत्पादन, प्रभावकारी बिक्रीपछिको सेवा र डिलर सञ्जालसँगको सहकार्यलाई थप मजबुत बनाइने बताए । इन्फ्राटेक प्रालिका प्रबन्ध निर्देशक आकाश गोल्छाले बोशसँगको सहकार्यले देशभरका व्यावसायिक प्रयोगकर्तालाई गुणस्तरीय समाधान उपलब्ध गराउन सहयोग पुगेको उल्लेख गर्दै ग्राहक सन्तुष्टि र गुणस्तरप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा बोश पावर टुल्स इन्डिया क्षेत्रकी मार्केटिङ प्रमुख ऋतु झाले कम्पनीका नवीनतम उत्पादन तथा प्रविधिबारे प्रस्तुति दिएकी थिइन् । साथै, उत्कृष्ट व्यावसायिक प्रदर्शन, ब्रान्डप्रतिको प्रतिबद्धता र बजार विस्तारमा योगदान पुर्याएका उत्कृष्ट १० डिलर तथा ग्राहकलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !