झापा प्रहरीको गोदाम छापामाथि व्यवसायको प्रश्नः ‘वैध सामान किन जफत गरियो’

झापा प्रहरीको गोदाम छापामाथि व्यवसायको प्रश्नः ‘वैध सामान किन जफत गरियो’
सुन्नुहोस्

झापा : झापा प्रहरीले गृह प्रशासनलाई आफ्नो काम देखाउने उद्देश्यले बिलबिजक (वैध कागजात) भएका सामान गोदामको ताला फोडेर बलजफ्ती शैलीमा उठाएर भन्सार कार्यालयमा बुझाएको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका छन्।

वैधानिक रूपमा तेस्रो मुलुकबाट आयात गरिएका र आवश्यक बिलबिजक तथा भन्सार कागजात भएका ‘चाइनिज खरबुजाको बीउ’ प्रहरीले गोदामबाटै जफत गरी भन्सार बुझाएपछि सम्बन्धित व्यवसाय मारमा परेका छन्। त्यति मात्र नभई प्रहरीले कानुनबमोजिमको (मुचुल्का) प्रक्रियासमेत पूरा नगरी हचुवाको भरमा गोदाम फोडेर सामान जफत गर्नु कानुन संवत् नभएको व्यवसायीहरूले आरोप लगाएका छन्। 

झापा उद्योग वाणिज्य संघको प्रतिनिधिहरूको उपस्थितिमा ‘खरबुजाको बीउ’ खरिदकर्ता माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो। नेपालको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार खानतलासी र बरामद गर्दा प्रक्रिया पारदर्शी र प्रमाणित बनाउनुपर्छ। 

तर, प्रहरीले बीउबिजन जफत गर्दा सम्बन्धित व्यवसायको उपस्थिति बिना, कृषि विभाग, बीउबिजन गुण नियन्त्रण केन्द्र, प्लान्ट क्वारेन्टिन प्रतिनिधिको उपस्थित बिना, बरामद गरिएको बीउको भरपाई सम्बन्धी व्यवसायीलाई नदिईकन गोदामबाट सामान उठाउनु प्रक्रिया कानुन बमोजिम नरहेको व्यवसायहरूले बताएका छन्। प्रहरीले मुचुल्का उठाउँदा स्थानीयको हस्ताक्षर गराएका रहेछन्। 

घटनास्थलमा उपस्थिति भएका भन्सार, आन्तरिक राजश्व र झापा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले मुचुल्का पत्रमा हस्ताक्षर गरी फर्किएका थिए। प्रहरीले सामान बरामद गर्दा गोदामबाहिर टाँसको खानतलासी पत्रमा समेत भन्सार छली कसुर सम्बन्धी भनेर लेखेका थिए। 

‘तर, प्रहरीले बरामद गरेको सामान भन्सार छली नभएको भीसीटीएस भएको अनलाइन बिलबिजकबाट समेत पुष्टि हुन्छ। माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरका सञ्चालक राजेन्द्र थापामगरले आफू झापा बाहिर रहेको भन्दा भन्दै पनि प्रहरीले कानुनी व्यवस्थाको धज्जी उडाउँदै बल प्रयोग सामान लगेर भन्सार बुझाइसकेको दिएको हो। व्यवसायमाथि प्रहरीले गरेको यो ज्यादती हो। प्रहरीले भन्सार छलीको उदेश्य भन्दै बिलबिजक भएको वैध सामान भन्सार बुझाउन पाउँछ ? उद्देश्य भन्दैमा भोलिदेखि प्रहरीले अरू गोदाम पनि फुटाउन थालेमा यसको नियन्त्रण कसले गर्ने हो ?‘ उनले लेखेका छन्। भन्सारले पनि बिलबिजक भएको वैध सामान प्रहरी दबाबको बुझेको उनको आरोप छ। अब प्रहरीको ज्यादतीविरुद्ध न्यायका लागि अदालत जानै पर्ने उनको भनाइ छ। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य उमेश डालमियाका अनुसार चाइनिज खरबुजा लगायत अन्य बीउहरू नेपाली बजारमा अहिले पाइन्छ। ‘यो विदेशबाट आयातित सामान हो। सम्बन्धित व्यवसायसँग प्रहरीको सम्पर्क हुँदा हुँदै गोदामबाटै सामान उठाउनु निजी क्षेत्रको तर्फबाट भन्नुपर्दा यो प्रक्रिया सरासर गलत हो। सम्बन्धित व्यवसाय सम्पर्क आइसकेपछि प्रहरीले गोदाम सिल गर्नुपर्थ्यो। अनि कानुनी प्रक्रिया पूरा गरी व्यवसायहरूको उपस्थितिमा गोदाम खोलिनु पर्थ्यो। तर, त्यो प्रक्रिया नगरी सामान उठाउन उचित भएन’, उनले भने। भन्सारमा बिलबिजक लिएर जाँदा प्रहरीलाई देखाउनु र प्रहरीको मा जाँदा भन्सारलाई देखाउनु कार्य निजी क्षेत्रको हकमा राम्रो नभएको उनले बताए। 

‘सामानको बिलबिजक भनेको के हो ? बिलबिजक किन काटिन्छ ? बिलबिजक कुन निकायले हेर्नु हो ? कम्तीमा सम्बन्धित निकायले व्यवसायसँग रहेको बिलबिजक त हेरिदिनु पर्‍यो नि ?, झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरेले भने, ‘भोलि कुनै पनि मान्छे काहीँ सामान लैजाँदा त असुरक्षित भयो, निजी क्षेत्रमा लगानी गर्न असुरक्षित भयो, हामीले परिवर्तन यसैका लागि खोजेका हौ त ?’ प्रहरीले बिलबिजक भएको सामान उठाएर भन्सार बुझाउने र भन्सारले पनि बुझ्ने। त्यसपछि व्यवसाय मुद्दामा जानुपर्ने। मुद्दामा जाँदा घरबार बेच्नु पर्ने। अनि यो देशमा कसले लगानी गर्छत ? र, अन्तिममा विदेशै पलायन हुनुपर्ने ? ’ 

त्यसैगरी झापा उद्योग वाणिज्य संघका महासचिव सुमन्त मैनालीले प्रहरीले सम्बन्धित व्यवसायको कुरा नसुन्दा उनीहरू मारमा परेको बताएका छन्। प्रहरीले व्यवसायलाई दुःख दिएको बताउँदै उनले भने, ‘बिलबिजक भएको सामान गोदामबाटै जफत गरी भन्सार बुझाउनु कार्य गलत भयो।’ 

घटना विवरण अनुसार आइतबार बेलुका करिब साढे ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) बसुन्धारा खड्का आफैँ सादा पोसाकमा पुगेर बीउ जफत गर्न लगाएका थिए। प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका ५५ जनाको टोलीले भद्रपुर–३ स्थित ज्ञानेचोक निवासी भीमलाल सुवेदीको घरको दुईवटा सटर गोदाममा राखिएको ९४८ बोरा चाइनिज खरबुजाको बीउ छापा मारेर बरामद गरेको थियो। 

बरामद गरिएको ३७ हजार ९२० केजी बीउ प्रहरीले ८९ लाख ७७ हजार ४० रुपैयाँ मूल्याङ्कन तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइसकेको छ । प्रहरीले भन्सारमा बुझाएको पत्रमा भन्सार चोरी निकासी पैठारी गर्ने उद्देश्यले अवैध सामान भनेर बुझाएको रहेछ। जुन सामान अवैध नभई वैध भएको बिलबिजकले समेत पुष्टि गर्छ। 

माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरसँग बिउ खरिद गरेको भीसीटीएस भएको अनलाइन बिल रहेको छ। कुबेर एक्जिम काठमाडौँले शाखा कार्यालय वीरगन्जले वैशाख १३ गतेको मितिमा माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरको नाममा १८ सय किलो (४५० बोरा) को भ्याटसहित ३२ लाख ५४ हजार ४०० रुपैयाँ मूल्य बराबरको बिल काटेको रहेछ।  त्यस्तै पशुपति एक्जिम  काठमाडौँले जेठ १३ गतेको मितिमा माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरको नाममा २१ सय किलो (५२५ बोरा) को भ्याटसहित ३७ लाख ९६ हजार ८०० रुपैयाँ मुल्य बराबरको बिल काटेको जनाइएको छ। 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.