जनप्रतिनिधि तथा स्थानीय बासिन्दालाई बन्धक बनाएर कुटपिट गर्ने १० जना पुर्पक्षका लागि कारागार चलान
बाजुरा : हिमाली गाउँपालिका–३ लाम्पाटामा स्थानीय जनप्रतिनिधि तथा बासिन्दालाई शरीर बन्धक बनाई कुटपिट तथा दुर्व्यवहार गरेको घटनाका २१ जना आरोपितमध्ये १० जनालाई जिल्ला अदालत बाजुराले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
जिल्ला अदालत बाजुराका न्यायाधीशको इजलासले सोमबार राति दिएको आदेश अनुसार १० जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न, ८ जनालाई जनही २ लाख रुपैयाँ धरौटीसहित तारेख र ३ जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका आरोपितहरूमा देवराज रावल, चन्द्रबहादुर रावल, किशोर रावल, नरेश रावल, कर रावल, शंकर रावल, रामदत्त रावल, कैलाश छत्याल, बुद्धि रावल र जयबहादुर रावल रहेका छन्।
यसैगरी अदालतले सोही संहिताको दफा ७२ अनुसार प्रतिवादीहरूको आर्थिक अवस्थालाई विचार गरी दफा ६८ बमोजिम जनही २ लाख रुपैयाँ धरौटीसहित तारेखमा रिहा गर्न आदेश दिएका प्रतिवादीहरूमा मानबहादुर जेठारा, शेर रावल, वीर रावल, सुन्दर जेठारा, लामा रावल, गगन रावल, कालजंग जेठारा र ज्ञानेन्द्र छत्याल रहेका छन्।
त्यस्तै संहिताको दफा ६९ बमोजिम बिर्खबहादुर रावल, परेलाल रावल र शान्त रावललाई साधारण तारेखमा छाड्ने आदेश भएको छ। घटनामा संलग्न एक जना अझै फरार रहेको र अर्का एक जनाको ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताए। प्रहरीले २१ जनाविरुद्ध शरीर बन्धक तथा कुटपिटको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो।
गत जेठ ३ गते हुम्लाबाट आएका स्थानीय बासिन्दाहरूको एक समूहले हिमाली गाउँपालिका–३ लाम्पाटामा सुदूरपश्चिम प्रदेश सरकारको ४० लाख रुपैयाँ विनियोजनमा निर्माण भइरहेको अस्थायी प्रहरी चौकीको भवन निर्माण कार्य रोक्न खोज्दै विरोध गरेका थिए। सोही क्रममा उनीहरूले स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा बासिन्दामाथि कुटपिट, दुर्व्यवहार गर्नुका साथै शरीर बन्धक बनाएका थिए।
आक्रमणबाट हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गोरा गुरुङ, उनकी पत्नी लक्ष्मी गुरुङ, स्थानीय मिनु कुँवर, नरबहादुर गुरुङ, प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा घाइते भएका थिए। गम्भीर घाइते पेमा गोरा, लक्ष्मी, मिनु र नरबहादुरलाई हेलिकोप्टरमार्फत काठमाडौं लगेर उपचार गरिएको थियो। उनीहरू उपचारपछि घर फर्किसकेका छन्।
यस्तै, जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि पुगेको टोलीमा रहेका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहितको टोलीमाथि पनि कुटपिट तथा दुर्व्यवहार भएको प्रहरीले जनाएको छ।
लाम्पाटा घटना लगत्तै सो क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको अस्थायी सुरक्षा बेस क्याम्प स्थापना गरेको छ। हाल लाम्पाटामा सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना र प्रहरी सहायक निरीक्षक मिठ्ठुबहादुर बोहराको नेतृत्वमा ७ जना प्रहरी टोली सुरक्षाका लागि खटिएका छन्।
प्रतिक्रिया दिनुहोस !