सडक भासिएपछि तातोपानी नाका ठप्प

सडक भासिएपछि तातोपानी नाका ठप्प

सिन्धुपाल्चोक : अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अरनिको राजमार्गको कोदारीस्थित इको क्षेत्रमा सडक भासिएपछि तातोपानी नाका अवरुद्ध भएको छ।

नेपाल चीन बीचको उत्तरी नाका क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी (इको) क्षेत्रमा सडक भासिएपछि सोमबारबाट तातोपानी नाका ठप्प बन्न पुगेको हो। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण इको क्षेत्रको सडक खण्डमा दुई मिटर सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।

सडक भासिएका कारण सवारी आवागमन रोकिएपछि सडक डिभिजन कार्यालय चरिकोटसँग समन्वयमा सडक खुलाउन पहिरो पन्छाउने काम सुरु गरिएको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए। ‘सडक खुलाउने प्रयास भइरहेको छ। वर्षा भइरहेको कारण काम गर्न समस्या भएको अवस्था छ,’ श्रेष्ठले भने, ‘सडक डिभिजन कार्यालयसँग समन्वय गरी हामी सडक खुलाउन सकिन्छ कि भनेर लागिपरिरहेका छौं।’ 

सडक अवरुद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका दर्जनौँ मालवाहक कन्टेनर लिपिङ क्षेत्रमा रोकिएका छन्। ‘सडक समस्याका कारण भन्सार हिजोदेखि ठप्प नै छ, सडक सुचारु कहिले हुन्छ भन्ने ठेगान छैन। पानी परिरहेको छ, पहिरो झर्ने र सडक भासिने क्रम रोकिएको छैन,’ तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेले भने।

बर्खाभर सडक भासिने क्रम नरोकिँदा तातोपानी नाकाको सञ्चालन प्रभावित हुँदै आएको छ। आइतबार पनि लिपिङ बजारमा पहिरो खस्दा एउटा कन्टेनरमा क्षति पुगेको थियो। पहिरोका कारण सडक केहीबेर अवरुद्ध हुँदा सीमा क्षेत्रको आवागमनसमेत प्रभावित बनेको थियो। 

गत वर्ष पनि बर्खायामभर यही इको क्षेत्रमा पटक–पटक सडक भासिँदा कोदारी राजमार्ग अवरुद्ध हुने गरेको थियो। गत साउनमा पहिरो खसेपछि २ महिनासम्म राजमार्ग ठप्प हुँदा यात्रुले सास्ती व्यहोर्नु पर्‍यो। यात्रुमात्रै होइन, उक्त राजमार्ग हुँदै चीनतर्फ सामान आयात–निर्यात गर्ने व्यापारीलाई अझ समस्या पर्‍यो। कोदारीस्थित इको क्षेत्रमा पहिरो नियन्त्रण गर्न चिनियाँ अनुदान प्राप्त भए पनि काम सुरु नहुँदा यो वर्ष पनि बर्खामा नाका अवरोध हुने देखिएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुनबहादुर सापकोटा बताउँछन्। 

‘दुई महिना अघि इको पहिरो क्षेत्रमा चिनियाँ टोली आएर स्थलगत अवलोकन गरेको थियो, उनीहरुले ड्रोनबाट पहिरो क्षेत्रको अवस्थाबारे जानकारी लिएका थिए’, उनले भने, ‘तर काम समयमै सुरु नहुँदा यो वर्ष पनि पहिरोले दुःख दिने पक्का छ। यसले नागरिकलाई आवतजावतमा सास्ती मात्रै नभई दुई देशको व्यापारमा समेत गिरावट ल्याउँछ।’

इको पहिरोमाथि १ सय ७५ घरपरिवारको बसोबास छ। पहिरोमुनि भोटेकोशी नदीले बर्सेनि कटान गर्छ। गाउँ जोगाएर पहिरो नियन्त्रण गर्न कठिन छ। नाका सधैँ सञ्चालनमा रहे पनि पहिरोका कारण बर्खाभर कोदारी राजमार्ग बन्द हुने गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.