अमेरिका र इरानबीच आक्रमण जारी, होर्मुजमा जहाजको आवतजावत घट्यो
काठमाडौं : अमेरिका र इरानबीच बिहीबार पनि आक्रमणको शृङ्खला जारी रहेको छ। यसैबीच, पर्यवेक्षकहरूका अनुसार रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने जहाजहरूको सङ्ख्या घटेको छ।
अमेरिकी दाबी अनुसार उसले होर्मुज नजिकै रहेका केही ठेगानाहरू सहित ९० वटा सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ। उता इरानले भने विगत दुई दिनमा भएका अमेरिकी आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ।
इरानको सरकारी सञ्चार माध्यमले बुशहर न्यूक्लियर प्लान्ट आसपासका केही क्षेत्रमा समेत आक्रमण भएको जनाएको छ। यो जानकारी सो प्रान्तका उप-गभर्नरलाई उद्धृत गर्दै सार्वजनिक गरिएको हो। तर, अमेरिकाले भने यी हालैका आक्रमणहरूका बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
इरानले जवाफी कारबाही स्वरूप कुवेत, बहराइन र कतारमा रहेका अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएको बताएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार बिहीबार ढिलो गरी इरानले कुवेत, जोर्डन र इराकका विभिन्न स्थानहरूमा थप आक्रमणहरू समेत गरेको छ।
यसैबीच, इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको छ दिन लामो अन्त्येष्टि प्रक्रियापछि बिहीबार अन्तिम संस्कार (सुपुर्द-ए-खाक) गरिएको छ।
खामेनीको अन्तिम संस्कारमा मानिसहरू इरानी झन्डासहित प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीहरूमध्ये केहीको हातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ज्यान लिने धम्की दिइएका पोस्टरहरू समेत रहेका थिए।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको प्रारम्भिक आक्रमणका क्रममा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस !