कहाँ छ सुख ?

कहाँ छ सुख ?
सुन्नुहोस्

मानिस जन्मेदेखि नै सुखको खोजीमा हुन्छ। बालक खेलौनामा सुख खोज्छ, युवा सफलतामा, वयस्क सम्पत्तिा र सम्बन्धमा तथा वृद्घ सुरक्षा र सम्मानमा। तर एउटा कुरा समान रहन्छ–मन सधैं केही न केही खोजिरहेको हुन्छ। मनको स्वभाव नै यस्तो छ कि यसले वर्तमानभन्दा भविष्यलाई बढी महत्व दिन्छ।

मानव जीवनको प्रत्येक प्रयासको अन्तिम लक्ष्य सुख प्राप्त गर्नु हो। चाहे हामी धन कमाउन खोजौं, प्रतिष्ठा प्राप्त गर्न या राम्रो सम्बन्ध निर्माण या त आध्यात्मिक साधनामा लागौं। अन्तत: हामीले खोजिरहेको कुरा सुख र आनन्द नै हो। तर विडम्बना के छ भने, सुखको खोजीमा निरन्तर दौडिरहँदा धेरै मानिसहरू अझ बढी तनाव, असन्तोष र दु:खको अनुभव गरिरहेका हुन्छन्। त्यसैले प्रश्न उठ्छ–यदि सबैले सुख खोजिरहेका छन् भने किन धेरै मानिसहरू असन्तुष्ट छन् ? यसको उत्तर हाम्रो मनको प्रकृतिमा लुकेको छ। 

मनले प्राय: जे छैन त्यसतर्फ ध्यान दिन्छ, जबकि जीवनमा जे छ त्यसको मूल्यांकन गर्न बिर्सन्छ। यही प्रवृत्तिले मानिसलाई निरन्तर अभावको अनुभूति गराउँछ र वास्तविक आनन्दबाट टाढा लैजान्छ। सुखको खोजी र मनको भूमिका : मानिस जन्मेदेखि नै सुखको खोजीमा हुन्छ। बालक खेलौनामा सुख खोज्छ, युवा सफलतामा, वयस्क सम्पत्ति र सम्बन्धमा तथा वृद्ध सुरक्षा र सम्मानमा। तर एउटा कुरा समान रहन्छ–मन सधैं केही न केही खोजिरहेको हुन्छ। 

मनको स्वभाव नै यस्तो छ कि यसले वर्तमानभन्दा भविष्यलाई बढी महत्व दिन्छ। हामी सोच्दछौं–यदि राम्रो जागिर पाएँ भने खुसी हुनेछु। यदि ठूलो घर बनाएँ भने आनन्दित हुनेछु। यदि सबै समस्याहरू समाप्त भए भने जीवन सुखमय हुनेछ। तर जब यी लक्ष्यहरू प्राप्त हुन्छन्, केही समयको खुसीपछि मनले अर्को लक्ष्य खोज्न थाल्छ। यसरी सुख सधैं भविष्य खोज्दै जान्छ र वर्तमान क्षण हाम्रो हातबाट फुत्किरहन्छ। त्यसैगरी, मनको अर्को विशेषता हो तुलना गर्नु। हामी आफ्नो जीवनलाई अरूसँग तुलना गर्छौं। 

सामाजिक सञ्जालको युगमा यो प्रवृत्ति अझ बढेको छ। अरूको सफलता, सम्पत्ति वा जीवनशैली देखेर आफूमा अभाव भएको महसुस गर्न थाल्छौं। यसले ईष्र्या, तनाव र असन्तोष बढाउँछ। त्यसैले त दु:ख बाहिरी परिस्थितिबाट भन्दा पनि मनको दृष्टिकोणबाट उत्पन्न हुन्छ।

अभावको भावना: दु:खको मुख्य कारण : जीवनमा वास्तवमै के छ भन्नेभन्दा पनि हामीसँग के छैन भन्ने कुराले हाम्रो सुख निर्धारण गर्छ। कसैसँग पर्याप्त खाना, परिवार, राम्रो स्वास्थ्य र बसोबास हुन सक्छ, तर ऊ अझै असन्तुष्ट हुन सक्छ। किनभने उसको ध्यान प्राप्त उपलब्धिहरूमा होइन, अपूर्ण इच्छाहरूमा केन्द्रित छ। 

मसँग पर्याप्त पैसा छैन। मानिसहरूले मलाई पर्याप्त सम्मान गर्दैनन्। मेरो जीवन अरूको जस्तो राम्रो छैन। मैले अझ धेरै प्राप्त गर्नुपर्छ। यस्ता अभावको भावना र विचारहरूले मनलाई अशान्त बनाउँछन्। मन निरन्तर दौडिरहन्छ र वर्तमान क्षणको आनन्द लिन सक्दैन। वास्तविकता के हो भने, मानव इच्छाहरूको अन्त्य हुँदैन। एउटा इच्छा पूरा भएपछि अर्को इच्छा जन्मिन्छ। यदि सुखलाई इच्छापूर्तिसँग मात्र जोडियो भने स्थायी खुसी सम्भव हुँदैन।

कृतज्ञता: सुखको वास्तविक कुन्जी : कृतज्ञता भनेको जीवनमा प्राप्त भएका चिजहरू र आशीर्वादहरूलाई पहिचान गरेर धन्यवादको भाव विकास गर्नु हो। जब हामी कृतज्ञ हुन्छौं, हाम्रो ध्यान अभावबाट उपलब्धितर्फ विकसित हुन्छ। हामीसँग जे छ त्यसको मूल्य बुझ्न थाल्छौं। कृतज्ञताको अभ्यास गर्दा मानिसले मानसिक शान्तिको अनुभव गर्न सक्छ। सकारात्मक सोचको विकास हुन्छ र सम्बन्धमा मधुरता बढ्छ। कृतज्ञताको अभ्यासले तनावमा कमी महसुस हुन थाल्दछ।

जीवनप्रति सन्तुष्टि : प्रत्येक व्यक्तिको स्वभाव प्राय: स्वास्थ्य राम्रो हुँदा त्यसको मूल्य बुझ्दैन। परिवार साथमा हुँदा त्यसलाई सामान्य मान्छ। तर जब यी कुरा गुम्न थाल्छन्, तब तिनीहरूको महत्व र अभाव महसुस हुन्छ। कृतज्ञतामा रहने व्यक्तिले भने दैनिक जीवनका साना–साना कुराहरूमा पनि आनन्द भेट्टाउँछ। बिहानको सूर्य, स्वच्छ हावा, परिवारको माया, साथीहरूको साथ, उपलब्ध खानेकुरा, स्वास्थ्य आदि आदि, यी सबैलाई उसले उपहारको रूपमा देख्छ। कृतज्ञता कुनै परिस्थिति होइन, यो एक दृष्टिकोण हो। यही कृतज्ञतालाई सुखका तीन तहबाट पनि अनुभूति गर्न सकिन्छ। यी तहहरूलाई शरीर, मन र आत्माको दृष्टिकोणबाट बुझ्न सकिन्छ। 

जस्तै–शारीरिक सुख, यो सुख शरीरसँग सम्बन्धित हुन्छ।स्वादिष्ट भोजन, आरामदायी बासस्थान, राम्रो स्वास्थ्य र अन्य शारीरिक सुविधा। मानिसलाई शारीरिक सुख आवश्यक छ, तर यसको सीमा हुन्छ। कुनै पनि भौतिक वस्तुबाट प्राप्त आनन्द अस्थायी हुन्छ। नयाँ ब्रान्डको मोबाइल, नयाँ ब्रान्डको गाडी वा नयाँ घरले केही समय खुसी दिन सक्छ, तर पछि त्यो सामान्य बन्न थाल्दछ। त्यसैले, केवल शारीरिक सुखले दीर्घकालीन सन्तुष्टि दिन सक्दैन। 

दोस्रो तह छ– मानसिक सुख, मानसिक सुख भावनात्मक सन्तुलन, प्रेम, सम्बन्ध, सम्मान र आन्तरिक शान्तिसँग सम्बन्धित हुन्छ। मानसिक रूपमा स्वस्थ व्यक्तिले सकारात्मक सोच राख्छ। सम्बन्धलाई मूल्य दिन्छ, अरूलाई क्षमा गर्न सक्छ र तनावलाई व्यवस्थापन गर्न सक्छ। यदि मन शान्त छ भने साधारण जीवन पनि आनन्ददायी लाग्छ। तर मन अशान्त छ भने ठूलो उपलब्धि र सम्पत्तिले पनि खुसी दिन सक्दैन। त्यसैले मानसिक स्वास्थ्य शारीरिक सुविधाभन्दा अझ महत्वपूर्ण मानिन्छ। तेस्रो तह छ–आत्मिक आनन्द,यो सुखको सबैभन्दा उच्च अवस्था हो।

आत्मिक आनन्द बाहिरी परिस्थितिमा निर्भर हुँदैन। यो हाम्रो वास्तविक अस्तित्वसँग जोडिएको हुन्छ। जब व्यक्ति आफ्नो भित्री चेतनासँग जोडिन्छ, तब उसले यस्तो आनन्द अनुभव गर्न सक्छ जुन कुनै वस्तु, व्यक्ति वा परिस्थितिबाट प्राप्त हुँदैन। यस अवस्थालाई विभिन्न परम्पराहरूमा आनन्द, समाधि, निर्वाण वा परम शान्ति भनिएको छ।

ध्यान: मनबाट आत्मासम्मको पुल : परम शान्ति ध्यानको नियमित अभ्यासपछि मात्र अनुभूति हुँदै जान्छ। ध्यान आत्मिक आनन्द प्राप्त गर्ने सबैभन्दा प्रभावकारी माध्यममध्ये एक हो। सामान्य अवस्थामा मन निरन्तर सक्रिय रहन्छ। विगतका सम्झना र भविष्यका चिन्ताहरूले यसलाई व्यस्त बनाइरहन्छन्। ध्यानले मानिसलाई वर्तमान क्षणमा ल्याउँछ। किनभने ध्यानस्थ अवस्थामा विचारहरूको गति कम हुन्छ। मानसिक तनाव घट्छ। भावनात्मक सन्तुलन बढ्छ। 

आत्मचेतना विकसित हुन्छ र आन्तरिक शान्तिको अनुभव हुन्छ। ध्यानको उद्देश्य विचारहरूसँग लड्नु होइन। यसको उद्देश्य विचारहरूको साक्षी बन्न सिक्नु हो। जब हामी विचारहरूलाई केवल हेर्न थाल्छौं, तिनीहरूको प्रभाव कम हुँदै जान्छ। बिस्तारै मन शान्त हुन थाल्छ र चेतनाको गहिरो स्तर खुल्न थाल्छ। यहीँबाट आत्मिक आनन्दको अनुभव शुरु हुन्छ।

आनन्द के हो ? : सुख र आनन्दमा सूक्ष्म भिन्नता छ। सुख प्राय: कुनै कारणसँग जोडिएको हुन्छ। उदाहरणका लागि: परीक्षा पास भयो, खुसी लाग्यो। पुरस्कार प्राप्त भयो, खुसी मिल्यो। मनपर्ने वस्तु प्राप्त भयो, खुसी बढ्यो। तर आनन्द कारणरहित हुन्छ। आनन्द यस्तो अवस्था हो जहाँ व्यक्ति केवल अस्तित्वमै प्रसन्न हुन्छ। उसलाई खुसी हुन कुनै विशेष कारण आवश्यक पर्दैन। जस्तै–आनन्दको अवस्थामा मन शान्त हुन्छ। भय कम हुन्छ। 
अपेक्षाहरू घट्दै जान्छन्। बिना कारण प्रेम र करुणा बढ्दै जान्छ र जीवनलाई हरेक परिस्थितिमा स्वीकार गर्ने क्षमता विकसित हुन्छ। 

यही कारणले आध्यात्मिक परम्पराहरूले आनन्दलाई मानव जीवनको सर्वोच्च उपलब्धि मानेका छन्। त्यसैले, प्रत्येक व्यक्तिले दैनिक जीवनमा आनन्द बढाउने अभ्यास गर्नु जरुरी छ। कृतज्ञताको अभ्यासबाट नै यो सम्भव छ। सबै परिस्थितिका बाबजुद पनि वर्तमान क्षणमा बाँच्नु, विगतको पश्चात्ताप र भविष्यको चिन्ताबाट मुक्त हुनु र आफ्नो जीवन यात्रालाई अरूको यात्रासँग तुलना नगर्नु नै आनन्दको अनुभूतिमा जिउनु हो। यसलाई निरन्तर निखार ल्याउन ध्यान र मौनताको अभ्यास जरूरी हुन्छ। 

दैनिक कम्तीमा ३० मिनेट ध्यानका लागि समय छुट्ट्याउनुपर्छ। साथै, दैनिक सेवा र करुणा भाव अपनाउनु जरुरी छ। आपत्मा परेका र जरुरत व्यक्तिलाई सहयोग गर्दा मनमा स्वाभाविक खुसी उत्पन्न हुन्छ। यसबाट नै सृष्टिका प्रत्येक सिर्जनासँग सकारात्मक सम्बन्ध निर्माण हुँदै जान्छ। अकारण प्रेम, सम्मान र विश्वासमा आधारित सम्बन्ध विकास हुन्छ जसले जीवनलाई आन्तरिक रूपमा समृद्ध बनाउँछ। अत: सुखको खोजी मानव जीवनको स्वाभाविक प्रवृत्ति हो। तर वास्तविक सुख बाहिरी उपलब्धिहरूमा मात्र सीमित छैन। मनले जब अभावभन्दा उपलब्धिलाई हेर्न सिक्छ, तब कृतज्ञता जन्मिन्छ। कृतज्ञताले सन्तुष्टि ल्याउँछ, सन्तुष्टिले शान्ति ल्याउँछ र शान्तिले अन्तत: आनन्दतर्फको ढोका खोल्छ।

शरीरको सुख आवश्यक छ, मनको शान्ति महत्वपूर्ण छ, तर आत्माको आनन्द जीवनको सर्वोच्च उपलब्धि हो। ध्यान, आत्मचिन्तन र कृतज्ञताको अभ्यासले हामीलाई यस यात्रामा अगाडि बढ्न मद्दत गर्छ। त्यसैले अब, केवल खुसीको खोजीमा होइन, आनन्दको अनुभूतितर्फ यात्रा गरौं–जहाँ जीवन केवल बिताइँदैन, पूर्ण रूपमा जिइन्छ। जब हामीसँग भएको कुराको कदर गर्न सिक्छौं, तब सुख बढ्दै जान्छ। जब हामी आफ्नो वास्तविक स्वरूपलाई चिन्छौं, तब आनन्द भाव प्रकट हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.