भ्रामक–असत्य सूचना, साइबर बुलिङ, चरित्रहत्या, गोपनीयताको उल्लंघन तथा घृणाजन्य अभिव्यक्तिको तीव्र प्रसार आजका चुनौती हुन्।
सुचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल आज मानव जीवनको अभिन्न अंग बनेको छ। फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, टिकटक, युट्युबलगायतका माध्यमले संसारलाई एक क्लिकको दूरीमा ल्याइदिएका छन्। विचार व्यक्त गर्न, सूचना आदानप्रदान गर्न, व्यवसाय प्रवद्र्धन गर्न, सामाजिक अभियान सञ्चालन गर्न तथा सम्बन्ध विस्तार गर्न सामाजिक सञ्जाल अत्यन्त प्रभावकारी माध्यम सिद्ध भएको छ। तर, यसको प्रयोग जति सहज र आकर्षक छ, यसको अदूरदर्शी प्रयोगले निम्त्याउने प्रभाव र परिणाम त्यति नै गम्भीर र जटिल पनि हुन सक्छ।
सामाजिक सञ्जालमा आज आफूले लेखेको वा बोलेको कुरा क्षणिक रूपमा सही लागे पनि त्यो सबैका लागि स्वीकार्य नहुन सक्छ। समयको परिवर्तनसँगै मानिसका विचार, परिस्थिति र प्राथमिकताहरू पनि परिमार्जित हुँदै जान्छन्। आज आवेश वा उत्तेजनामा लेखिएको एउटा स्टाटस, टिप्पणी वा अभिव्यक्ति भोलि आफ्नै लागि प्रत्युत्पादक (गलापासो) बन्न सक्छ। विगतमा अरूलाई लक्ष्य गरेर आक्रोशपूर्ण रूपमा व्यक्त गरिएका शब्दहरू कालान्तरमा आफ्नै जीवनमा मेल खान आएका उदाहरणहरू समाजमा प्रशस्तै देख्न सकिन्छ। त्यसैले सामाजिक सञ्जाल केवल अभिव्यक्तिको स्वतन्त्रतामात्र होइन, बरु यो प्रयोगकर्ताको सामाजिक र नैतिक जिम्मेवारीको कडा परीक्षा पनि हो।
सामाजिक सञ्जालका सकारात्मक पक्षहरू : सामाजिक सञ्जालले विश्वलाई सूचना र ज्ञानको एक विशाल केन्द्रमा रूपान्तरण गरिदिएको छ। यसले व्यक्तिलाई विश्वव्यापी ज्ञान र सूचनामा सहज पहुँच प्रदान गरेको छ। यसमार्फत मानिसहरूले नयाँ सीप सिक्न, व्यावसायिक अवसरहरू पहिल्याउन, आफ्नो अन्तर्निहित प्रतिभा प्रदर्शन गर्न तथा विविध समसामयिक विषयमा रचनात्मक बहस र छलफलमा सहभागी हुन सक्छन्।
विशेषगरी युवापुस्ताले सामाजिक सञ्जाललाई शिक्षा, अनुसन्धान, उद्यमशीलता तथा रचनात्मक गतिविधिहरूको संवाहकका रूपमा उपयोग गरिरहेका छन्। यसले व्यक्तिको आत्मविश्वास बढाउन, नेटवर्क विस्तार गर्न र व्यक्तिगत एवं व्यावसायिक विकासमा सकारात्मक योगदान पु¥याउँछ। कुनै पनि ठुला घटना, अनुसन्धान, अवसर वा नवप्रवर्तनको जानकारी केही क्षणमै विश्वभर फैलाउन यो माध्यम अद्वितीय छ। विपद्, महामारी वा आपत्कालीन अवस्थाहरूमा सामाजिक सञ्जालले द्रुत सूचना प्रवाहको महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
रक्तदान, उद्धार कार्य, राहत संकलन, हराएका व्यक्तिको खोजी तथा सामाजिक चेतनाका अभियानहरू सफल बनाउन यसले उल्लेखनीय सहयोग पु¥याएको छ। यसका साथै महिला, दलित, अपांगता भएका व्यक्ति तथा समाजका सीमान्तकृत वर्गका आवाजलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउन यो एक प्रभावकारी माध्यम बनेको छ। कतिपय अवस्थामा मुख्यधाराका सञ्चार माध्यमले ओझेलमा पारेका गम्भीर विषयहरूलाई समेत सामाजिक सञ्जालले राष्ट्रिय बहसको विषय बनाएको छ।
सामाजिक सञ्जालका नकारात्मक पक्षहरू र चुनौतीहरू : जसरी आगोले स्वादिष्ट खाना पकाउन पनि सक्छ र असावधानी हुँदा पूरा घर जलाउन पनि सक्छ, त्यसरी नै सामाजिक सञ्जालको दुरुपयोगले गम्भीर सामाजिक, मनोवैज्ञानिक र नैतिक संकट निम्त्याउन सक्छ। भ्रामक–असत्य सूचना, अफवाह, साइबर बुलिङ, चरित्रहत्या, गोपनीयताको उल्लंघन तथा घृणाजन्य अभिव्यक्तिको तीव्र प्रसार आजका मुख्य चुनौती हुन्।
सत्यता परीक्षण नगरी हतारमा सूचना साझा गर्ने प्रवृत्तिले समाजमा भ्रम र द्वन्द्व सिर्जना गरिरहेको छ। कहिलेकाहीँ क्षणिक आवेशमा लेखिएको एउटा स्टाटस वा साझा गरिएको सामग्री नै व्यक्तिको प्रतिष्ठा, सम्बन्ध र करियरका लागि प्रत्युत्पादक बन्न सक्छ। धेरै मानिस सामाजिक सञ्जालको कृत्रिम संसारलाई आफ्नो वास्तविक जीवनभन्दा ठूलो सत्य ठान्न थालेका छन्। लाइक, कमेन्ट र फलोअर्सको संख्यालाई नै आत्ममूल्यांकनको आधार बनाउँदा युवापुस्तामा मानसिक तनाव, हीनताबोध र चरम असन्तुष्टि बढिरहेको छ।
यसको अर्को गम्भीर पाटो ‘डिजिटल स्मृति’ हो। डिजिटल माध्यममा एकपटक सार्वजनिक भएको सामग्री पूर्ण रूपमा मेटाउन प्राविधिक रूपमा कठिन हुन्छ; किनकि सामाजिक सञ्जालले केही पनि बिर्संदैन। वर्षौंअघि लेखिएको एउटा स्टाटस वा तस्बिर समयको कुनै मोडमा पुन: सार्वजनिक भइदिन सक्छ, जब कि सो अवधिमा व्यक्तिको सोच, परिस्थिति र सन्दर्भ परिवर्तन भइसकेको हुन्छ। यस्तो डिजिटल अभिलेखले पुराना अभिव्यक्तिलाई वर्तमानसँग जोडेर अन्यायपूर्ण मूल्यांकन गरिदिँदा व्यक्तिगत र व्यावसायिक जीवनमा गम्भीर क्षति पुग्ने गरेको छ।
अभिव्यक्ति स्वतन्त्रता र आत्मसंयम : लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रता एक अपरिहार्य मौलिक अधिकार हो। तर अधिकारसँगै सधैं कर्तव्य र जिम्मेवारी पनि जोडिएको हुन्छ। आफूलाई मन लागेको प्रत्येक कुरा बिनाविचार सार्वजनिक गर्नु स्वतन्त्रताको सही प्रयोग होइन।
कुनै पनि विचार व्यक्त गर्नुअघि त्यसले कसैको सम्मान, गोपनीयता, सामाजिक सद्भाव वा कानुनी सीमालाई नकारात्मक असर गर्छ कि गर्दैन भन्ने कुरामा आत्मसंयम राख्नु अत्यावश्यक हुन्छ। सामाजिक सञ्जालमा लेख्नु वा पोस्ट गर्नुअघि आफैंलाई सोध्नुपर्ने तीन प्रश्नहरू : १. के यो सत्य छ ? २. के यो आवश्यक छ ? ३. के यो सम्मानजनक छ ? यदि यी तीनमध्ये कुनै एक मात्र प्रश्नको उत्तर पनि नकारात्मक आउँछ भने केही समय धैर्य गरेर आफ्नो अभिव्यक्तिमाथि पुन: विचार गर्नु नै बुद्धिमानी र परिपक्वता हो।
जिम्मेवार डिजिटल व्यवहारका सूत्रहरू
१. आवेश, रिस वा भावनात्मक उत्तेजनाको अवस्थामा तत्काल कुनै पनि सामग्री पोस्ट वा टिप्पणी नगर्ने।
२. कुनै पनि सूचना वा समाचार साझा गर्नुअघि त्यसको आधिकारिक स्रोत र सत्यतथ्यको वस्तुनिष्ठ जाँच गर्ने।
३. व्यक्तिगत आक्रमण, गालीगलौज, असभ्य भाषा र चरित्रहत्याजस्ता अमर्यादित क्रियाकलापबाट पूर्ण रूपमा टाढा रहने।
४. आफ्नो र परिवारको वैयक्तिक गोपनीयतासँग सम्बन्धित संवेदनशील जानकारीहरू सार्वजनिक नगर्ने।
५. डिजिटल माध्यममा फरक, असहमत वा विपरीत विचारलाई पनि आदर गर्ने लोकतान्त्रिक संस्कारको विकास गर्ने।
६. आफ्नो ‘डिजिटल पदचिह्न’को दीर्घकालीन र स्थायी प्रभावलाई सधैं मनन गर्ने।
७. सामाजिक सञ्जाललाई अनुत्पादक विवादमा अल्झाउनुको सट्टा ज्ञान, प्रेरणा, नवीन सिकाइ र सकारात्मक संवादको माध्यम बनाउने।
अनियन्त्रित प्रयोग र बालबालिकामा पर्ने प्रभाव : सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले बालबालिकाको मानसिक, शैक्षिक तथा सामाजिक विकासमा गम्भीर र दूरगामी धक्का पुर्याइरहेको छ।
बालबालिकाले स्वयं सामाजिक सञ्जाल प्रयोग गर्दा अत्यधिक स्क्रिन समय, अध्ययनप्रति एकाग्रताको कमी, निद्रासम्बन्धी समस्या, आत्मविश्वासमा ह्रास तथा अवास्तविक एवं खर्चिलो जीवनशैलीको अन्धो अनुकरण गर्ने प्रवृत्ति बढेको देखिन्छ। साथै, साइबर बुलिङ, अनलाइन दुर्व्यवहार तथा अनुपयुक्त सामग्रीहरूमा सहज पहुँच पुग्दा उनीहरूको कोमल भावनात्मक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ।
जसरी आगोले स्वादिष्ट खाना पकाउन पनि सक्छ र असावधानी हुँदा पूरा घर जलाउन पनि सक्छ, त्यसरी नै सामाजिक सञ्जालको दुरुपयोगले गम्भीर सामाजिक, मनोवैज्ञानिक र नैतिक संकट निम्त्याउन सक्छ।
त्यसैगरी, बालबालिका स्वयं प्रयोगकर्ता नभए तापनि अभिभावक वा परिवारका अन्य सदस्यको अत्यधिक सामाजिक सञ्जाल मोहका कारण उनीहरू प्रतिकूल प्रभाव भोग्न बाध्य छन्। यसले गर्दा पारिवारिक संवादमा कमी आउने, भावनात्मक दूरी बढ्ने, बालबालिकाको नैसर्गिक आवश्यकता र बालमनोविज्ञानप्रति बेवास्ता हुने तथा प्रत्यक्ष मानवीय एवं पारिवारिक सम्बन्धहरू कमजोर हुँदै जाने जस्ता गम्भीर पारिवारिक समस्याहरू सिर्जना भएका छन्।
नियमनको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास : सामाजिक सञ्जालका यस्ता गम्भीर बहुआयामिक प्रभावहरूलाई मध्यनजर गर्दै विश्वका विभिन्न मुलुकले यसको प्रयोगलाई कानुनी तथा नीतिगत रूपमा नियमन गर्न थालेका छन्। विशेषगरी, अस्ट्रेलिया र क्यानडाजस्ता विकसित मुलुकहरूले बालबालिकाको अनलाइन सुरक्षा, अनलाइन हिंसा नियन्त्रण, गोपनीयताको संरक्षण तथा डिजिटल प्लेटफर्महरूको कानुनी उत्तरदायित्व सुनिश्चित गर्न विभिन्न कडा व्यवस्था र नियामकीय संरचनाहरू विकास गरेका छन्। यस्ता उदाहरणीय अन्तर्राष्ट्रिय अभ्यासहरूले अभिव्यक्ति स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबीच सुन्दर सन्तुलन कायम गर्दै सुरक्षित डिजिटल वातावरण निर्माण गर्न राज्यको सक्रिय र अभिभावकीय भूमिका आवश्यक रहेको औंल्याउँछन्।
निष्कर्ष : सामाजिक सञ्जाल आधुनिक डिजिटल युगको एक अत्यन्त शक्तिशाली उपकरण हो। विवेकपूर्ण प्रयोग गरिए यसले अवसरका अनगिन्ती ढोकाहरू खोल्न सक्छ भने थोरैमात्र असावधानी वा लापरबाहीले यसले गम्भीर व्यक्तिगत र सामाजिक संकट निम्त्याउन सक्छ।
आज आफूलाई सही लागेको विचार भोलि गलत साबित हुन सक्छ र आज अरूलाई लक्षित गरेर लेखिएको व्यंग्य वा टिप्पणी भविष्यमा आफ्नै जीवनको ऐना बन्न सक्छ। त्यसैले, सामाजिक सञ्जालमा व्यक्त गरिने शब्दहरू क्षणिक आवेगका लहरमात्र होइनन्, बरु यिनीहरू दीर्घकालीन जिम्मेवारीका विषय हुन्। वास्तवमा प्रविधि स्वयंमा न राम्रो हुन्छ, न त नराम्रो। यसको वास्तविक मूल्य र परिणाम त प्रयोगकर्ताको चेतना, विवेक र उत्तरदायित्वले निर्धारण गर्दछ।
सामाजिक सञ्जाललाई विवाद, द्वेष र आवेगको मञ्च बनाउनुको सट्टा ज्ञान, संवाद, सहिष्णुता र सकारात्मक रूपान्तरणको माध्यम बनाउन सकिएमा मात्र यसको आविष्कारको वास्तविक उद्देश्य पूरा हुनेछ। आजको समयमा डिजिटल साक्षरता केवल प्रविधि चलाउने प्राविधिक सीपमात्र होइन, बरु यो त जिम्मेवार नागरिकताको न्यूनतम आधार र पहिचान पनि हो।
तसर्थ, फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्रामजस्ता माध्यम प्रयोग गर्दा प्रत्येक पोस्ट, टिप्पणी र साझा गरिने सामग्रीमा गम्भीरतापूर्वक विचार गरी नैतिकता र सचेतना अपनाउनु पर्छ। विवेकपूर्ण प्रयोगले मात्र व्यक्ति, समाज र सिंगो राष्ट्रको समग्र विकासमा सकारात्मक योगदान पु¥याउन सम्भव छ।
प्रतिक्रिया दिनुहोस !