खाँडादेवी गाउँपालिकामा कर्मचारीमाथि हातपात, कामकाज ठप्प

खाँडादेवी गाउँपालिकामा कर्मचारीमाथि हातपात, कामकाज ठप्प
सुन्नुहोस्

रामेछाप : प्राविधिक कर्मचारीमाथि कार्यालय परिसरमै हातपात भएको घटनापछि रामेछापको खाँडादेवी गाउँपालिकामा दैनिक प्रशासनिक तथा प्राविधिक कामकाज ठप्प भएको छ। सुरक्षाको प्रत्याभूति र दोषीमाथि कानुनी कारबाही नभएसम्म काममा नफर्कने अडानसहित कर्मचारीहरूले आन्दोलन जारी राखेका छन्।

बिहीबार मध्यान्हदेखि कर्मचारीहरूले सम्पूर्ण सेवा बन्द गरेपछि गाउँपालिकाबाट प्रवाह हुने दैनिक सेवा प्रभावित बनेको छ। सेवाग्राहीहरू विभिन्न कामका लागि कार्यालय पुग्दा सेवा नपाएको गुनासो गरेका छन्। गाउँपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र ढुङ्गेलका अनुसार खाँडादेवी गाउँपालिका–५ का प्रेम तामाङले स्थानीय खानेपानी योजनामा विनियोजित सम्पूर्ण बजेट बराबरको काम सम्पन्न भएको दाबी गर्दै पूर्ण रकम भुक्तानी हुने गरी मूल्याङ्कन गर्न दबाब दिएका थिए। 

तर, प्राविधिक टोलीले स्थलगत निरीक्षणपछि वास्तविक रूपमा सम्पन्न भएको कामको मात्र मूल्याङ्कन गरेपछि विवाद उत्पन्न भएको विवाद कर्मचारीमाथि हातपात गर्नेसम्म पुगेको हो। एक लाख रुपैयाँ लागतको उक्त योजनामा खन्ने र पुर्ने कामसमेत पूरा नभएको पाइएपछि प्राविधिकहरूले सम्पन्न कार्यका आधारमा रकम घटाएर मूल्याङ्कन गरेका थिए। त्यसपछि तामाङ कार्यालयमै पुगेर कर्मचारीमाथि गालीगलौज, हातपात तथा ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ।

घटनामा सब–इन्जिनियर हरी मानन्धर र चन्द्रशेखर घिमिरेमाथि दुर्व्यवहार र हातपात भएको जनाइएको छ। त्यसलगत्तै उनीहरूले प्रमुख प्रशासकीय अधिकृतसमक्ष राजीनामा बुझाएका छन्। करार सेवामा कार्यरत अर्का एक प्राविधिकले पनि राजीनामा दिएको इन्जिनियर ढुङ्गेलले जानकारी दिए।

घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारी एकजुट भएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति, दोषीमाथि तत्काल कानुनी कारबाही तथा कर्मचारीको सम्मान र मर्यादाको संरक्षण गर्न माग गरेका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन्।

कर्मचारीहरूले सार्वजनिक सेवामा खटिएका राष्ट्रसेवकमाथि हुने दुर्व्यवहारले समग्र सेवा प्रवाहमा नकारात्मक असर पार्ने उल्लेख गर्दै यस्ता गतिविधि रोक्न स्थानीय प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। यसैबीच, प्राविधिक कर्मचारीमाथि हातपात गरेको आरोप लागेका प्रेम तामाङलाई इलाका प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न तथा कर्मचारीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न माग गरेका छन्। कर्मचारीहरूले कार्यस्थलमा हुने हिंसा र धम्की कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै सुरक्षित वातावरणबिना प्रभावकारी सार्वजनिक सेवा सम्भव नहुने बताएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.