भक्तपुरमा छोराको कुटपिटबाट गयो आमाको ज्यान
भक्तपुर : सूर्यविनायक-९ भातेढिकुरमा छोराको कुटपिटबाट आमाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरको कटारी नगरपालिका-५ घर भई भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरी रहेकी छन् ।
शुक्रबार साँझ करिब पौने ८ बजेको समयमा २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेपछि गम्भीर घाइते भएकी चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । उनी श्रीमान र छोरासहित भातेढिकुरमा बस्दै आएकी थिइन । ज्याला मजदुरी गर्दै जीविका चलाउने चौधरी परिवारमा सामान्य घरायसी विवादले हत्या जस्तो जघन्य अपराध निम्त्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताए ।
प्रहरी उपरीक्षक खड्काले जनाए अनुसार कुटपिटबाट मेघियाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो । मेघियालाई सूर्यविनायक नगर अस्पतालमा प्रारम्भिक उपचारपछि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्याइएको र राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका उनले बताए ।
कुटपिटमा संलग्न किरणलाई घटना लगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी गराए । घटना हुँदा किरणले मादक पदार्थ सेवन गरेको पाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !