महाधिवेशन लम्बियो, प्रतिनिधि भोटै नहाली हिँडे
काठमाडौं/ चितवन : भक्तपुर–२ बाट निर्वाचित रास्वपा सांसद राजीव खत्रीले सामाजिक सञ्जालमा लेखे– ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ। नो भोटको धज्जी !’ ९९ जना केन्द्रीय सदस्यका लागि बिहीबार पार्टीको पहिलो महाधिवेशनमा मतदान भइरहेका बेला प्रधानमन्त्रीका स्वकीय सचिव एवं केन्द्रीय सदस्यका उम्मेदवार सुवास शर्माले पनि सामाजिक सञ्जालमा तीव्र असन्तुष्टि जनाए।
‘भोटिङ मेसिनमा उम्मेदवारको नामसँगै फोटो पनि देखिने जानकारी पाएपछि ३८४ उम्मेदवारको भीडमा मतदातालाई नाम सम्झिन र खोज्न सहज होस् भनेर दिनभरि ‘फोटो हेरेर चिन्नुहोला’ भन्दै आफ्नै तस्बिर देखाउँदै हिँडियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर अन्तिममा मतदान गर्न जाँदा न फोटो थियो, न त भूगोलअनुसार स्पष्ट रूपमा छुट्ट्याइएको सूची नै। त्यो गन्जागोल भीडमा न मैले अन्य भूगोलका उम्मेदवार चिन्न सकेँ, न अरूले मेरो नाम सहजै भेट्टाउन सके होलान्।’
उनले अनुमानको भरमा ‘ड्यामका ड्याम’ भोट हाल्नुबाहेक अर्को विकल्प नरहेको बताए। उनले थप असन्तुष्टि पोखे, ‘अनि अन्त्यमा के भयो होला ? धेरैले १, २, ३, ४, ५ नम्बरमा देखिएका नाममै ड्यामका ड्याम भोट हालेर अघि बढ्नुबाहेक अरू विकल्प थियो त ? अब यस्तो प्रणालीमा नतिजा कस्तो आउला ?’
उनले जिन्दगीमै एउटा अचम्मको निर्वाचनमा मतदान गरेको प्रतिक्रिया दिए। ‘डिजिटल विद्युतीय भोटिङ मेसिनमा आफ्नो प्रतिद्वन्द्वीलाई भोट नहालीकन अगाडि बढ्नै नमिल्ने ! जस्तो कि बालेन शाहले आफ्ना प्रतिद्वन्द्वी केपी ओलीलाई भोट हाल्नैपर्ने बाध्यता !’ उनले अगाडि प्रश्न गरेका छन्, ‘नहाल्दासम्म त्यो मेसिनमा ‘नेक्स्ट’ भन्ने विकल्प (अप्सन) नै आउँदैन। आफूले उम्मेदवारी दिएको पदमा आफ्नै प्रतिद्वन्द्वीलाई मत हाल्दिनँ भन्न नपाइने यो कहाँको नियम हो? अनि त्यो महिला, समावेशी र दलित क्लस्टर कहाँ गयो ?’
पार्टीको नीति निर्माण तहमा पुगेका सांसद मात्र होइनन्, अधिकांश महाधिवेशन प्रतिनिधिहरूले नै रास्वपा महाधिवेशनमा भएको चुनावी प्रक्रिया र व्यवस्थापनप्रति तीव्र असन्तुष्टि जनाएका थिए। वर्णानुक्रमअनुसार उम्मेदवारको नाम भोटिङ मेसिनमा नराखिएको, दर्ता अनुसार उम्मेदवारको नाम नमिलाएको तथा गुट बनाएर ह्वाट्सएपमा भोट मागिएको भन्दै सांसदहरूले नै आपत्ति जनाएका थिए।
स्थापनाको चार वर्षमा रास्वपाले पहिलो महाधिवेशन गरिरहे पनि व्यवस्थापन, चुनावी प्रक्रिया र गुटबन्दी भएको भन्दै प्रतिनिधिहरूले तीव्र असन्तुष्टि जनाएका छन्। तीन दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशन पाँचौं दिनसम्म पनि नसकिएको भन्दै कैयौं प्रतिनिधिले पार्टी नेतृत्वलाई भोट नहालेरै महाधिवेशनस्थल छोडेका थिए। नेतृत्व चयनमा केन्द्रित भएको महाधिवेशनमा नीतिका विषयमा सामान्य छलफल र विमर्श पनि गरिएन। पार्टी सभापति रवि लामिछानेलगायतका पदाधिकारीले पेस गरेका प्रतिवेदनमा समूहगत छलफल पनि नगरी ताली बजाएर पारित गर्न लगाएर नेता छान्ने प्रक्रिया सुरु गरिएको थालिएको थियो। तर, केन्द्रीय सदस्यको चुनाव नै यति भद्रगोल बनाइयो कि उम्मेदवारहरूका असन्तुष्टिले बिहीबार सामाजिक सञ्जाल रंगिए।
कर्मकाण्डी बन्दसत्र, नेता छान्नै माथापच्ची
पूर्वनिर्धारित समयभन्दा झन्डै ३० घन्टा ढिलो गरी सुरु भएको बन्दसत्र केवल कर्मकान्डी रूपमै टुंग्याइयो। त्यसपछि प्रतिनिधिहरूमाझ तीव्र असन्तुष्टि देखिन थाल्यो। एकातर्फ ३० घन्टा पर्खाएर सुरु गरिएको बन्दसत्र मात्र ३–४ घण्टामा सकियो भने, अर्कातर्फ निर्वाचन प्रक्रिया पटक–पटक सारियो। बुधबार बिहान १२ बजे नै सुरु हुने भनिएको मतदान १२ घन्टा ढिलो गरी सुरु भयो। पछि फेरि प्रवासको मतदान बाँकी रहेको भन्दै राति १२ बजेसम्म पहिलो चरणकै निर्वाचनमा समय खर्चियो।
पहिलो चरणको मतपरिणाम राति साढे ८ बजेतिर सार्वजनिक गरिएको थियो। केन्द्रीय समितिको ६४ खुला पदका लागि २१० जना उम्मेदवार चुनावी मैदानमा थे। त्यस्तै, प्रत्येक प्रदेशबाट ५–५ जनाका दरले ३५ जना केन्द्रीय सदस्य छान्नका लागि १ सय ७४ जनाबीच प्रतिस्पर्धा भएको थियो।
यो अव्यवस्था र भद्रगोलबाट प्रतिनिधि मात्र होइन, केन्द्रीय नेता तथा सांसदहरू समेत वाक्कदिक्क भएका छन्। महाधिवेशनप्रति उनीहरूकै नेताहरूको व्यापक असन्तुष्टि देखिएको छ। महाधिवेशन अव्यवस्थित र भद्रगोल भएपछि प्रधानमन्त्री एवं निवर्तमान वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह मतदानमै सहभागी भएनन्। उनी बुधबार नै काठमाडौं फर्किए।
कतिपय रास्वपा नेताहरूले यो भद्रगोलले देशमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा समेत उपहास भएको प्रतिक्रिया दिए। उनीहरूले वर्तमान नेतृत्व अक्षम रहेको भन्दै गम्भीर प्रश्न पनि उठाएका छन्। रास्वपा महाधिवेशनभित्रको बेथिति देखेपछि स्याङ्जा–१ का प्रतिनिधिसभा सदस्य एवं रास्वपा नेता डा. धनञ्जय रेग्मीले कडा टिप्पणी गरे। उनले भने, ‘पार्टीका जिम्मेवार पदाधिकारीहरूको लापरबाहीका कारण अन्तर्राष्ट्रिय जगत्मा नै रास्वपाको बेइज्जत भयो। यस्तो बेथिति देख्दा, यिनीहरूले देश चलाउन सक्छन् भन्ने लागेन।’
अनुमानका भरमा भोटिङ
महाधिवेशनमा प्रतिनिधिहरूले हचुवाका भरमा मतदान गरेका छन्। ६४ जनालाई अनिवार्य मतदान नगरेसम्म मेसिनले अगाडि बढ्न नदिने (नेक्स्ट नहुने) प्रणाली भएकाले जसलाई मन लाग्यो, उसैलाई मतदान गरिएको प्रतिनिधिहरू बताउँछन्। रास्वपाको नारा ‘जान्नेलाई छान्ने’ भए पनि व्यवहारमा ‘हचुवा हान्ने’ जस्तो देखिएको गुनासो प्रतिनिधिहरूको छ।
उम्मेदवारको सूची नै तलमाथि
उम्मेदवारको सूची हेरफेर गरिएको भन्दै नेताहरूले नै असन्तुष्टि प्रकट गरेका छन्। धेरै नेताहरूले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्। उम्मेदवारको सूचीको एक नम्बरमा डा. स्वर्णिम वाग्लेको नाम छ। यो सूची न दर्ताको
क्रमसंख्या अनुसार छ, न त अंग्रेजी वा नेपाली वर्णानुक्रम (अल्फाबेट) अनुसार नै छ, मनलाग्दी ढंगले नामहरू राखिएको नेताहरूको आरोप छ। खुलातर्फ मनोनयन दर्ता गराएका कतिपयको नाम भूगोलमा सारिएको भन्दै असन्तुष्टि व्यक्त भए। कतिपयले समावेशी क्लस्टरमा मनोनयन गराएका थिए, तर उनीहरूको नाम कसैको खुला त कसैको भूगोलतर्फ राखिएको थियो।
रास्वपाको निर्वाचन आयोगको चरम लापरबाही देखिएको भन्दै नेताहरूले तीव्र आलोचना गरेका छन्। चर्चित नेताहरू ज्वाला संग्रौला, आशिका तामाङ, यज्ञमणि न्यौपाने, दीपक बोहरा, गणेश कार्कीलगायतको नाम तलमाथि गरिएको उनीहरूको गुनासो छ। उनीहरूले यसमा जालझेल भएको आशंकासमेत गरेका छन्। नेत्री ज्वाला संग्रौलाले आफूमाथि षड्यन्त्र रचिएको भन्दै आक्रोश पोखेकी छन्। मतपत्रबाट आफ्नो परिचित नाम ‘ज्वाला’ नै गायब पारिएको उनको भनाइ थियो। मतपत्रमा ‘ज्वाला’ हटाएर ‘टीका संग्रौला’ मात्र राखिएपछि उनले आपत्ति जनाइन्।
‘मलाई सबैले ज्वाला भनेर चिन्नुहुन्छ। यो नाम मतपत्रमा नदेखेपछि कतिपय प्रतिनिधिहरू मलाई भोटै नहाली आउनुभएछ। उहाँहरूले मलाई आएर यो कुरा सुनाउनुभयो। पछि म आफैं भोट हाल्न जाँदा टीका संग्रौला मात्रै लेखिएको रहेछ। यो नामले मलाई धेरैले चिन्नुहुन्न। ममाथि सरासर षड्यन्त्र भयो,’ उनले भनिन्। उनले यो विषयमा पार्टीको निर्वाचन आयोगमा लिखित उजुरीसमेत दिएकी छन्।
त्यस्तै, नेता दीपक बोहराले खुलातर्फ उम्मेदवारी दर्ता गराएका थिए, तर मतपत्रमा उनको नाम सुदूरपश्चिम भूगोलतर्फ राखियो। सांसद यज्ञमणि न्यौपानेले आफूले सुरुमै उम्मेदवारी दर्ता गराए पनि सूचीको ४२ नम्बरमा नाम पु¥याइएको बताए। नेत्री आशिका तामाङले ३७ नम्बरमा नाम दर्ता गरेकोमा सूचीको १०६ नम्बरमा पुगेको गुनासो गरिन्। सांसद गणेश कार्कीले आफ्नो नाममा ‘जालझेल’ गरेर १३३ नम्बरमा पु¥याइएको बताए। नेता रोहन कार्कीले १२ नम्बरमा मनोनयन दर्ता गरेकोमा उता ३० नम्बरमा पारिएको भन्दै असन्तुष्टि जनाए।
पार्टीको सदस्यता वितरणमा पनि विवाद देखिएको छ। बालबालिकालाई समेत सदस्यता वितरण गरिएको आरोप लागेको छ। महाधिवेशनमा महामन्त्री कबीन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको संगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २५७ जना सदस्य रहेको उल्लेख छ। जबकि नेपालको कानुनअनुसार १८ वर्षमुनिका बालबालिकालाई राजनीतिमा आबद्ध गराउन पाइँदैन।
‘नो भोट’ को व्यवस्था खै ?
रास्वपाले स्थापनाकालदेखि मुख्य मुद्दा बनाउँदै आएको ‘नो भोट’ को व्यवस्थाको महाधिवेशनमै धज्जी उडाइएको छ। सांसद एवं रास्वपा नेता राजीव खत्रीले ‘नो भोट’ को व्यवस्था नगरिएकोमा खरो टिप्पणी गर्दै भने, ‘संसारमा यस्तो मतदान कतै हुँदैन होला, जहाँ अनिवार्य भोट दिनैपर्छ। यहाँ त ‘नो भोट’ को धज्जी उडाइयो।’
प्रधानमन्त्री बालेनका स्वकीय सचिव एवं केन्द्रीय सदस्यका उम्मेदवार सुवास शर्माले पनि पार्टीले उठाउँदै आएको ‘नो भोट’ को विकल्प नदिइएकोमा आपत्ति जनाए। ‘अझ ‘नचिनेकोलाई भोट दिन्नँ’ भन्नका लागि पनि ‘नो भोट’ को विकल्प छैन। प्रत्येक भूगोलमा ५ जनालाई भोट नहाल्दासम्म अर्को भूगोलको सूची नै खुल्दैन,’ उनले भने।
रास्वपा नेता सागर ढकालले केन्द्रीय सदस्यमा नभए पनि अब हुने पदाधिकारीको चुनावमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताए। ‘नो भोटको प्रावधान हामीले राख्नुपर्ने हो। ९९ जना केन्द्रीय सदस्य त हुनप¥यो, तर अब पदाधिकारीको चुनावमा नो भोटको व्यवस्था राख्नका लागि हामी कुरा उठाउँछौं,’ उनले भने। उनले नो भोटको प्रावधान राख्नका लागि आफूले जोडदार माग गर्ने बताए।
‘म माग राख्ने स्थानमा छु, निर्णय गर्ने (डिसिजन मेकिङ) ठाउँमा छैन। त्यही भएर पनि म पदाधिकारीमा आउनुपर्छ। अलिकति हस्तक्षेप गरेरै भए पनि यो पार्टीलाई सही मार्गमा लैजानुपर्छ, पुराना तरिका अपनाउनु हुँदैन,’ उनले थपे। उनले महाधिवेशन सोचेअनुसार नभएकाले कमीकमजोरी सुधारेर अघि बढ्नुपर्ने बताए।
उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कबीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य र प्रवक्ता मनीष झालगायतका नेताहरूले व्यवस्थापकीय कमजोरी स्वीकार गरेका छन्। निवर्तमान सहमहामन्त्री तथा हालका केन्द्रीय सदस्यका उम्मेदवार विपिनकुमार आचार्यले पूर्वनिर्धारित समयमा महाधिवेशन पूरा गर्न नसकेको भन्दै सबै प्रतिनिधिहरूसँग माफी मागेका छन्।
उनले सार्वजनिक अपिल जारी गर्दै भनेका छन्, ‘सामान्य अवस्था हुन्थ्यो भने अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र निर्वाचित पदाधिकारी चयन भई यो ऐतिहासिक महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधिहरू आफ्नो घर गइसकेका हुने थिए। तर हाम्रो कमजोरीका कारण तपाईंहरू अहिलेसम्म पनि चितवनमै बस्न बाध्य हुनुहुन्छ।
नेतृत्वका रूपमा हामीले तपाईंहरूलाई यति धेरै दुःख दिँदादिँदै पनि तपाईंहरूले देखाउनुभएको सहनशीलताप्रति नमन गर्दछौँ। मानो रोपेर मुरी फलाउने यो व्यस्त समयमा तपाईंहरूले मिहिनेतले कमाएको पैसा यसरी दुरुपयोग हुँदा हामी लज्जित छौं। तपाईंहरू सबैसँग यसका लागि क्षमाप्रार्थी छौं।’
वाग्लेलाई सर्वाधिक मत

रास्वपा महाधिवेशनमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन्। मत गणनाको अन्तिम परिणामअनुसार वाग्लेले २ हजार ६ सय ७ मत प्राप्त गर्दै लोकप्रिय मतको सूचीमा पहिलो स्थान सुरक्षित गरेका हुन्।
सार्वजनिक मत परिणामअनुसार सर्वाधिक मत पाउने उम्मेदवारहरूको सूचीमा डा. स्वर्णिम वाग्लेभन्दा केही मतले पछि रहँदै सोविता गौतम दोस्रो स्थानमा रहेकी छन्। गौतमले कुल २ हजार ५ सय ९४ मत प्राप्त गरेकी छन्। त्यसैगरी, २ हजार ४ सय ९५ मतका साथ शिशिर खनाल तेस्रो स्थानमा रहन सफल भएका छन्।
लोकप्रिय मतकै आधारमा हेर्दा युवा नेता सागर ढकाल २ हजार ३ सय ३३ मतसहित चौथो र डा. तोसिमा कार्की २ हजार २ सय ५७ मतसहित पाँचौं स्थानमा ओगट्न सफल भएकी छन्। वाग्ले रास्वपा स्थापनापछि पार्टीमा जोडिएका हुन्। २०८० सालमा भएको उपनिर्वाचनअघि रास्वपा प्रवेश गरेका वाग्लेले उपचुनावसहित दुईवटा चुनाव जितेका छन्। उनी अहिले सरकारमा प्रधानमन्त्रीपछिको वरीयतामा अर्थमन्त्री छन्।
सरकार प्रभावकारी रूपमा सञ्चालन गर्न महाधिवेशनले नेतृत्वलाई बलियो म्यान्डेट दिनेछ। देशभरका साथीहरू र आफ्नै समुदायका मानिसहरूसँग भेटघाट हुँदा निकै रमाइलो महसुस भयो। विविध कारणले महाधिवेशन केही लम्बिन पुग्यो। हामी जस्ता प्रतिनिधिहरूको व्यवस्थापनका लागि नै समय थपिएको हुनसक्छ, जुन यस्ता ठूला कार्यक्रममा स्वाभाविक नै हो। प्रविधिका कारण जान्ने–बुझ्नेहरूका लागि त छिटो नै भयो होला, तर पहिलोपटक मतदान गर्ने कतिपयलाई केही असजिलो पनि भयो।
मोहमद थारु गुजर, बाँके
बाहिरबाट आउनेहरूका लागि चितवनको अत्यधिक गर्मीमा बस्न निकै गाह्रो भयो। हामीले केही कष्ट भोग्नुपरे पनि यसले मुलुकको भविष्य सहज बनाउनेछ भन्ने विश्वास छ। देशमा सुशासन स्थापित गर्न हामी सबै एकजुट हुनुपर्छ। महाधिवेशनले लिने नीतिअनुसार नै देशले नयाँ मोड लिनेछ। यद्यपि, व्यवस्थापनप्रति केही गुनासाहरू छन्। तीन दिन भनिएको महाधिवेशन पाँच दिनसम्म लम्बियो। भर्खरै स्थापित नयाँ पार्टी भएकाले व्यवस्थापनमा केही कठिनाइ हुनु स्वाभाविकै हो।
जानुका सुवेदी,नवलपुर
स कडा गर्मीमा सक्षम नेतृत्व चयनका लागि हामीले एक किसिमको त्याग नै गरेको जस्तो लागेको छ। पार्टीलाई मजबुत बनाउन हामी घामपानी नभनी खटियौं। घरपरिवार र व्यवसाय सबै छोडेर पार्टीको महाधिवेशन सफल पार्न सबैमा उत्तिकै उत्साह देखिन्छ। महाधिवेशन केही लम्बिए पनि जे हुन्छ, राम्रैका लागि हुन्छ। यति ठूलो समारोह व्यवस्थापन र सहजीकरण गर्दा केही त्रुटि हुनु स्वाभाविक हो, जसलाई हामीले सहज रूपमा लिएका छौं।
रातभर नसुती खटेका कार्यकर्तामा ‘कतै देशले निकास नपाउने हो कि वा नेताहरू सही बाटोमा नहिँड्ने हुन् कि’ भन्ने चिन्ता र डर पनि छ।
मोहमद थारु गुजर, सदस्य, बागमती प्रदेश समिति
हामी पाँच दिनदेखि चितवनमा छौं। यसअघि कहिल्यै यसरी लामो समय खटिएका थिएनौं र पहिलोपटक यसरी महाधिवेशनमा सहभागी भएका हौं। आयोजकले तोकेको समयमा कार्यक्रम सम्पन्न गर्न सकेन। तर, देशभरबाट आएका प्रतिनिधि र माननीय सांसदहरूसँग भेटघाट तथा अनुभव साटासाट गर्ने राम्रो अवसर पाइयो। कतिपय साथीहरू जरुरी काम परेकाले बीचमै फर्किसके। हामी भने केन्द्रीय समितिमा सक्षम व्यक्तिहरू पु¥याउनुपर्छ भन्ने सोचेर कुरेर बसिरहेका छौं। आफ्नो मताधिकार प्रयोग गर्न हामी दृढ छौं, जसको नतिजा सुखद आउने अपेक्षा छ।
मिलन डल्लाकोटी, धादिङ
सर्वाधिक मत पाउनेहरू
खुलातर्फ :-
१.डा. स्वर्णिम वाग्ले २६०७
२. सोविता गौतम २५९४
३. शिशिर खनाल २४९५
४. सागर ढकाल २३३३
५. तोसिमा कार्की २२५७
६. रञ्जु दर्शना २२४९
७. मनिष झा २२३७
८. हरि ढकाल २२१९
९. कबीन्द्र बुर्लाकोटी २१८४
१०. विपिन आचार्य २१२६
११. रमेश प्रसाईं २१२३
१२. विराजभक्त श्रेष्ठ २०९४
१३. निशा डाँगी २०८९
१४.इन्दिरा रानामगर २०४७
१५. गणेश पराजुली २०४५
१६.जगदीश खरेल (ललितपुर) २०४४
१७. पुकार बम २०३०
१८.यज्ञमणी न्यौपाने १९६९
१९.प्रमोद न्यौपाने १८९२
२०.सस्मित पोखरेल १८३३
२१. राजुनाथ पाण्डे १८१२
२२. रिमा विश्वकर्मा १८१०
२३. असीम साह १७२८
२४.खगेन्द्र सुनार १७०८
२५. राजीव खत्री १७०१
२६. समीक्षा बास्कोटा १६९९
२७.गणेश कार्की १६९३
२८.जगशिी खरेल (दोलखा) १५१३
२९. लीमा अधिकारी १५०४
३०.टीका संग्रौला १४९०
३१. शंकर श्रेष्ठ १४८४
३२. क्रान्तिशीखा धिताल १४७९
३३. आशिका तामाङ १४३०
३४.सुदीप ढकाल १४२९
३५. अनुष्का श्रेष्ठ १३५३
प्रदेशतर्फ
कोशी प्रदेश
१. निशा मेहता १,८६१ मत
२. विश्वराज पोखरेल १,४६० मत
३. शोभा कार्की १,२०४ मत
४. कल्पना थापा ९३९ मत
५. सुजाता तामाङ ८३९ मत
मधेस प्रदेश
१. सुष्मा बस्नेत १,४१८ मत
२. सरिताकुमारी चौधरी १,२८० मत
३. नमिता यादव १,११९ मत
४. मञ्जु सिंह १,०१३ मत
५. अंकितकुमार यादव ९५० मत
बागमती प्रदेश
१. प्रभा ढकाल १,५१३ मत
२. विदुषी राणा १,३१० मत
३. आकांक्षा पोखरेल ८५० मत
४. अनिता श्रेष्ठ ८०२ मत
५. पार्वती थापा ७४९ मत
गण्डकी प्रदेश
१. पवित्रा थापा १,०४२ मत
२. मनीष खनाल १,०१२ मत
३. सोम शर्मा ९५५ मत
४. पूजा बास्तोला ८९३ मत
५. पार्वती अधिकारी ८१५ मत
लुम्बिनी प्रदेश
१. कल्पना पाण्डे १,१०७ मत
२. संगीता ढकाल १,०९२ मत
३. ज्ञानु पौडेल ८९७ मत
४. देवराज पाठक ८२० मत
५. शर्मिला खनाल ६६४ मत
कर्णाली प्रदेश
१. सीता वादी १,७५१ मत
२. विनिता कठायत १,५०० मत
३. टासी जिबजोम १,१३५ मत
४. मेनुका शाही ७९८ मत
५. गोमा थापा ६१६ मत
सुदूरपश्चिम प्रदेश
१. हेमराज थापा २,०३० मत
२. केपी खनाल १,८४० मत
३. दीपकराज बोहरा १,४५० मत
४. जानकी जोशी १,१४८ मत
५. चन्द्रा ए चाँदनी १,१२६ मत
(सर्वाधिक मत पाए पनि क्लष्टर मिलाउँदा केही उम्मेद्वार बढी मत पाए पनि निर्वाचित हुन सक्दैनन्)
प्रतिक्रिया दिनुहोस !