कबिन्द्रले फिर्ता लिए महामन्त्री पदको उम्मेदवारी
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कबिन्द्र बुर्लाकोटीले महामन्त्री पदका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निवर्तमान महामन्त्री समेत रहेका बुर्लाकोटीले पार्टीको हितलाई सर्वोपरी ठान्दै निरन्तरको संघर्षबाट निर्माण गरिएको पार्टीमा एउटा जिम्मेवारीका लागि करिब दर्जन उम्मेदवार साथीहरूसँग भिडेर जिम्मेवारीको दौडमा रहनु खास चाहना नभएको बताएका छन् ।
उनले आफ्नो व्यवस्थापनका लागि होइन, राजनीतिक भविष्यका लागि पनि होइन तर राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने ठाउँमा आफै कमजोर हुने दिशामा जानु नहुने बताएका छन् । उनले केन्द्रीय पदाधिकारी निर्वाचनका क्रममा महामन्त्री पदमा १ नम्बरमा दिएको उम्मेदवारीमा समझदारी कायम होस् र पार्टीमा सकारात्मक एवं बृहत एकताको चिन्तन सम्वर्द्धन होस् भन्ने अभिप्रायले व्यक्तिगत र पार्टीको शुभचिन्तकहरूसँग आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका छन् ।
बुर्लाकोटीले आफ्नो उम्मेदवार फिर्ता लिएसँगै अब महामन्त्रीमा विपिनकुमार आचार्य, गणेश पराजुली, मनिष झा, प्रमोद न्यौपाने, गणेश कार्की, सागर ढकाल, रञ्जु दर्शना, राजुनाथ पाण्डे रहेका छन् । रास्वपा विधानअनुसार चुनावबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । त्यहीअनुसार उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् । तर, महामन्त्रीमा विपिन आचार्यलाई समर्थन गर्दै अन्य उम्मेदवारले पनि उम्मेदवार फिर्ता लिने छलफल भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !