रास्वपाको पहिलो महाधिवेशन

प्रतिनिधि कुरेको कुर्‍यै, अन्तिममा बन्द सत्रै रोकियो

प्रतिनिधि कुरेको कुर्‍यै, अन्तिममा बन्द सत्रै रोकियो

काठमाडौं/ चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन चितवनमा जारी छ। पहिलो दिन आइतबार भव्य उद्घाटन समारोह सम्पन्न भए पनि दोस्रो दिन सोमबारको समय भने त्यसै बितेको छ।

सोमबारबाटै सुरु हुनुपर्ने बन्दसत्र प्रतिनिधि विवादका कारण बस्न नसकेपछि सोमबारका सम्पूर्ण कार्यतालिका स्थगित गरिएका छन्। महाधिवेशन प्रतिनिधिहरूको टुंगो लाग्न नसक्दा निर्धारित समय तालिका प्रभावित भई असार ९ गते नै सम्पन्न गरिने भनिएको महाधिवेशन अब असार १० गतेसम्म लम्बिने देखिएको छ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार सोमबार बिहान ८ः३० बजे सभापति रवि लामिछानेले बन्दसत्रको प्रारम्भ गर्ने कार्यक्रम थियो। बन्दसत्रमा अनुशासन समितिको प्रतिवेदन, पार्टीको सांगठनिक प्रतिवेदन, विधान अनुमोदन, अर्थ–राजनीतिक प्रस्तावना, सभापतिको राजनीतिक प्रतिवेदन पारित गर्ने तथा अन्तरिम व्यवस्थापन समिति गठन गरी दिउँसो १ः२५ बजे नै सत्र समापन गर्ने भनिएको थियो। तर, प्रतिनिधि विवाद नमिल्दा सोमबार कुनै पनि औपचारिक काम हुन सकेन।

बन्दसत्र रोकिएपछि चितवनको गर्मीमा प्रतिनिधिहरूले दिनभर जसो रमाइलो गरेर समय बिताए। वरिष्ठ नेता वालेन्द्र शाहसहितका केन्द्रीय नेताहरू सौराहा घुमघाममा व्यस्त रहे भने प्रतिनिधिहरू महाधिवेशनस्थलमै बन्दसत्र कति खेर सुरु होला भन्दै पर्खेर बस्न बाध्य भए।
मुख्य गरी मधेस प्रदेशमा जिल्ला अधिवेशन हुन नसकेका कारण प्रतिनिधि चयनमा विवाद देखिएको हो। मधेसका ८ जिल्लामध्ये पर्सामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ भने आपसी विवादका कारण अन्य ७ जिल्लामा अधिवेशन हुन सकेको छैन। 

मधेसका प्रभावशाली नेता अमरेशकुमार सिंहसमेत महाधिवेशनमा अनुपस्थित देखिएका छन्। फागुन २१ को आमनिर्वाचनमा रौतहट–२ र धनुषा–२ बाहेक ३० वटा निर्वाचन क्षेत्र जितेर बलियो उपस्थिति देखाएको रास्वपाभित्र अहिले मधेसमै सबैभन्दा ठूलो झमेला निम्तिएको नेताहरू बताउँछन्। मधेस प्रदेशमा संस्थापन पक्ष र बालेन पक्षबीच तीव्र टकरावको अवस्था सिर्जना भएको बुझिएको छ।

null

रास्वपा प्रवक्ता मनिष झाले व्यवस्थापकीय कमजोरी स्वीकार गर्दै मंगलबार मध्याह्नपछि मात्र बन्दसत्र सुरु हुने जानकारी दिएका छन्। ‘प्रतिनिधिहरूको रुजु र कार्ड प्रिन्टमा समस्या हुँदा सोमबार बन्दसत्र हुन सकेन, मंगलबार मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु हुन्छ,’ उनले भने।

प्रवक्ता झाले महाधिवेशन प्रतिनिधिहरूको संख्या धेरै भएको र केन्द्रीय सदस्यका आकांक्षी पनि बढेकाले कार्यक्रम एक दिन सरेको बताउँदै प्रतिनिधिहरूका लागि थपिने एक दिनको आर्थिक भार व्यवस्थापनबारे पार्टीले सोचिरहेको उल्लेख गरे। सोमबार बेलुका ७ बजेपछि मात्र प्रतिनिधि कार्ड वितरणको कार्य सुरु गरिएको छ।

केन्द्रीय सदस्यका आकांक्षीको लर्को, पदाधिकारीमा ‘मारामार’

रास्वपाको विधानअनुसार पहिलो चरणमा १ सभापति र ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। सभापतिमा रवि लामिछाने निर्विकल्प देखिएका छन्, उनीविरुद्ध उम्मेदवारी दिने आँट अहिलेसम्म कसैले गरेको देखिँदैन। विधानमा वरिष्ठ नेताका लागि निर्वाचनमा जानु नपर्ने व्यवस्था गरिएकाले वालेन्द्र शाह नै वरिष्ठ नेता बन्ने निश्चित छ।

तर, ९९ केन्द्रीय सदस्यका लागि भने आकांक्षीहरूको ठूलो लर्को लागेको छ। बहालवाला पदाधिकारीदेखि मन्त्री र सांसदहरूको ठूलो संख्या केन्द्रीय सदस्यको दाबेदारका रूपमा अगाडि आएको छ। आकांक्षीहरूले सामाजिक सञ्जालका ‘वाल’ हरू भरिएका छन्। केन्द्रीय सदस्य निर्वाचित भएपछि मात्र पदाधिकारी लड्न पाउने व्यवस्था भएकाले पनि केन्द्रीय सदस्यमा ‘मरामार’ को अवस्था सिर्जना भएको हो।

अर्कोतिर, निर्वाचन आयोगले चुनाव लड्नका लागि राखेको कडा प्रावधानले आकांक्षीहरूलाई सकस परेको छ। उनीहरूलाई समर्थक जुटाउनै धौ–धौ परिरहेको छ। केन्द्रीय सदस्यको उम्मेदवारीका लागि २१ हजार रुपैयाँ शुल्क, २१ जना समर्थक हुनुपर्ने र आफूमाथि कुनै अनुशासनको कारबाही नपरेको स्वघोषणा गर्नुपर्ने व्यवस्था छ।

नयाँ विधानअनुसार रास्वपाको सातै प्रदेशका सभापतिसहित केन्द्रीय समिति कुल १ सय ५८ सदस्यीय हुनेछ, जसमा ५१ जना सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ। यसका अतिरिक्त सभापतिले १ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्रीसमेत मनोनयन गर्ने व्यवस्था थपिएको छ। यसअघि दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका सबै पदमा निर्वाचन हुने व्यवस्था गरिएको भए पनि कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता भने सभापतिले नै मनोनयन गर्ने व्यवस्था रहँदै आएको थाहा भएको छ।

परिमार्जित विधानअनुसार रास्वपामा अब १ सभापति, १ वरिष्ठ नेता, १ महिलासहित ३ उपसभापति, २ महामन्त्री, १ महिलासहित ५ सहमहामन्त्री, १ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, १ प्रवक्ता र ३ सहप्रवक्ता गरी कुल १९ जना पदाधिकारीको व्यवस्था गरिएको छ। समितिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ।

सात प्रदेशका ३५ जना केन्द्रीय सदस्यमध्ये प्रत्येक प्रदेशबाट ५/५ जना (जसमा २ महिला अनिवार्य) हुनुपर्नेछ। समावेशी क्लस्टरअन्तर्गत कोशी र गण्डकीबाट १/१ जना आदिवासी जनजाति अनिवार्य, मधेसबाट १ दलित/मधेसी अनिवार्य, लुम्बिनीबाट १ थारू अनिवार्य तथा कर्णाली र सुदूरपश्चिमबाट १/१ जना दलित अनिवार्य हुनुपर्ने व्यवस्था नयाँ विधानमा समेटिएको छ।

  • रास्वपाको पहिलो महाधिवेशनमा प्रतिनिधिहरूको टुंगो लाग्न नसक्दा सोमबारका सम्पूर्ण कार्यतालिका स्थगित गरिएका छन्। यसले गर्दा असार ९ गते सकिने भनिएको महाधिवेशन अब असार १० गतेसम्म लम्बिने भएको छ।
  •     मधेसका ८ जिल्लामध्ये पर्सामा मात्र अधिवेशन भएकाले प्रतिनिधि चयनमा मुख्य झमेला देखिएको हो। मधेस प्रदेशमा संस्थापन पक्ष र बालेन पक्षबीच तीव्र टकराव देखिएको छ भने प्रभावशाली नेता अमरेशकुमार सिंह महाधिवेशनमा अनुपस्थित छन्।
  • पार्टीको विधानअनुसार सभापतिमा रवि लामिछाने निर्विकल्प देखिएका छन् भने निर्वाचनमा जानु नपर्ने व्यवस्थाका कारण प्रधानमन्त्री वालेन्द्र शाह वरिष्ठ नेता बन्ने निश्चित छ। तर, बहालवाला मन्त्री र सांसदसहित ठूलो संख्याका आकांक्षीहरू ९९ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
  • केन्द्रीय सदस्यको उम्मेदवारीका लागि २१ हजार रुपैयाँ शुल्क, २१ जना समर्थक र कारबाही नभएको स्व–घोषणा चाहिने कडा नियमले आकांक्षीहरूलाई सकस परेको छ। नयाँ विधान अनुसार रास्वपामा १९ जना पदाधिकारीसहित कुल १५८ सदस्यीय केन्द्रीय समिति रहनेछ।

महाधिवेशन प्रतिनिधि मत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यतिबेला चितवनमा सञ्चालन भइरहेको छ। स्थापनाको ४ वर्षमै बलियो जनमत प्राप्त गरेको पार्टीलाई वैचारिक र सांगठनिक रूपमा थप मजबुत बनाउन देशभरका करिब साढे ४ हजार प्रतिनिधिहरू चितवनमा केन्द्रित भएका हुन्।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशालाई स्पष्ट पार्ने नेतृत्वको खोजी गरिरहेका छन्। आन्तरिक गुटबन्दीभन्दा सहमति र व्यक्तिगत स्वार्थभन्दा जनहित तथा सुशासनलाई केन्द्रमा राख्नुपर्ने उनीहरूको मत छ। विशेष गरी किसानमैत्री नीति र संस्थागत विकासलाई प्राथमिकता दिँदै पार्टीलाई अझ लोकतान्त्रिक, व्यवस्थित र जनविश्वासयोग्य बनाउने संकल्प प्रतिनिधिहरूले बोकेका छन्।

प्रस्तुत छ : प्रतिनिधिमूलक महाधिवेशन प्रतिनिधिहरूको भनाइ–

किसान केन्द्रित नीति बनोस्

दिनेश महत - सभापति, रास्वपा इलाम

महाधिवेशनले नीति निर्माण गरिरहँदा हरेक क्षेत्रका समस्या समाधानको पाटोलाई सम्बोधन गरिनुपर्छ भन्ने लाग्छ। चुनावमा विभिन्न उद्देश्यले भोट मागिए। त्यसअनुसार रास्वपाबाट ठूलो आशा र अपेक्षा गरिएको छ। यसलाई रास्वपाले कुठाराघात गर्दैन भन्ने लाग्छ।

त्यसका लागि राष्ट्रको विकासका लागि यो महाधिवेशन केन्द्रित हुन्छ भन्ने विश्वास छ। नागरिक र अझ त्यसमा पनि किसानका लागि नीति बन्छ भन्ने लाग्छ।

इलामको कुरा गर्दा यहाँ चिया उद्योगहरू छन्। चिया उद्योग किसानसँग जोडिएको हुन्छ। किसानसँग राजनीति गर्दा किसानको हकहित केन्द्रित नीति बन्नुपर्छ। महाधिवेशनले सबैको मन खुसी बनाओस् भन्ने लाग्छ। मुलुकको विकासका लागि सबैले आशा गरे अनुसार काम गर्न महाधिवेशनले सन्देश दियोस् भन्ने लाग्छ।

पार्टीको सिद्धान्त र परिधिलाई छिनोफानो गर्नेछ
डा. जितेन्द्र जिसी, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्य

धेरैपटक प्रश्न गरिएको र आशंका गरिरहेको विषय यसको मार्गदर्शन र सिद्धान्त के हुन्छ भन्ने नै हो। खुला अर्थतन्त्र आर्थिक समृद्धि हो भन्ने बजेटले देखाएको छ। हामी प्रजातान्त्रिक पार्टी र मान्छे हौं भन्ने निर्वाचनले देखाएको छ। अब यसलाई दस्तावेजीकरण गर्ने प्रक्रियामा यो महाधिवेशनले पार्टीको सिद्धान्त, पार्टीका प्रतिनिधिको म्यान्डेट र दायरा, जिम्मेवारी र अधिकार सबै कुराहरूको छिनोफानो गर्नेछ। यसले माथिदेखि तलसम्म पार्टीका मान्छेहरूलाई संगठित र गोलबद्ध बनाएर लैजान्छ।

सिद्धान्तभित्र बाँध्छ, परिधिभित्र ल्याउँछ। हामी पूर्ण लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्छौं, जुन गत चुनावमा पनि गरेर देखाएका छौं। यो ऐतिहासिक महाधिवेशन पनि यसैका लागि भएको हो। यसले क्षमता हुनेलाई फक्रिन दिन्छ, नहुनेलाई मिलेर बस्ने अवसर दिन्छ। रास्वपाको महाधिवेशनमा हिजोको जस्तै सौहार्दता हुन्छ भन्ने आशा छ।

गुटबन्दी भए आवाज उठाउँछौं
लोकेन्द्रबहादुर शाही - भगवतीमाई गाउँपालिका, दैलेख

महाधिवेशनमा चुनावभन्दा पनि सहमति होस् भन्ने चाहना हो। आफू आकांक्षी भए पनि साथीहरूको इच्छा देखेर मैले उम्मेदवारी दिइनँ। हिजोका पुराना पार्टीहरूले गरेको अभ्यास यहाँ नहोस् भन्ने नै हो। पार्टीका पदाधिकारीहरूले कब्जा गर्न खोजे जस्तो वा आफू अनुकूल ढाल्न खोजे जस्तो विमति थियो। हामी भन्छौं– यो पार्टी सागर हो, यो सागरमा सबै अट्न पाउनुपर्छ। लोकप्रियताको आधारमा सही मान्छे, सही ठाउँ र सही व्यक्तिको अभ्यास हुनुपर्छ। पुराना पार्टीभन्दा भिन्न छौं भन्ने हाम्रो दाबी हो।

भ्रष्टाचारको विरुद्धमा जन्मिएको पार्टी यही चेतनाले आएको हो। विधि, विधान र नीतिअनुसार नगए हामी पार्टीभित्र पनि संघर्ष गर्छौं। पार्टीको विधान, कार्यविधि र नियमावली हेरिन्छ। त्योविपरीत गए बरु साधारण सदस्य बनेर बसिन्छ, तर आवाज निकालिन्छ। कर्णालीमा भएको अधिवेशनमा केही चित्तबुझ्दो नभएकै हो। कसैले गुट बनाउने, लाइन बनाउने या प्यानल बनाए हामी विरोध गर्छौं।

विचारविहीन भन्नेहरूका लागि महाधिवेशन जवाफ
हरिप्रसाद अधिकारी, सुर्खेत

पार्टीको संस्थागत विकास हुन्छ भन्नेमा हामीले आशा गरेका छौं। पहिलो महाधिवेशनबाट पार्टीका सिद्धान्त र लक्ष्यहरू स्पष्ट निर्धारण हुनेछन्। रास्वपालाई विचारविहीन भन्नेहरूका लागि यो गतिलो जवाफ हुनेछ। यो महाधिवेशनले गतिलो सन्देशसँगै गतिलो नेतृत्व निर्माण गर्नेछ। देशभर समेट्न नसकिएका जिल्ला र क्षेत्रहरू महाधिवेशनपछि समेटिनेछन्।

५ वर्ष किसान एवं गरिबको हितमा काम गर्छौैं
महेन्द्र शाह, रौतहट

व्यक्तिलाई दिने जिम्मेवारी क्षमताअनुसार दिनुपर्छ भन्ने लाग्छ। पार्टीमा सबैलाई मिलाएर लगे हुन्थ्यो भन्ने इच्छा हो। जनताको हितमा पार्टीलाई पुर्‍याउन र विकासका लागि काम गर्नेलाई जिम्मेवारी दिए हुन्थ्यो। गाउँपालिका र नगरपालिकामा भ्रष्टाचार रोकेर विकासतर्फ लगे हुन्थ्यो। नेताहरू मिलेर पार्टीलाई जनतामाझ लोकप्रिय बनाए हुन्थ्यो। मूल्यांकन गरेर आउने पाँच वर्षमा किसानको हितमा, विकासमा र गरिब–दुःखीको हितमा काम गर्ने पार्टी बनाए हुन्थ्यो।

सुसंस्कृत राजनीतिलाई स्थापित गर्न महाधिवेशन
दुर्गा अर्याल - उपसभापति, लुम्बिनी प्रदेश

महाधिवेशनबाट पार्टीले राखेको संवैधानिक समाजवादलाई मान्यता दिन, कानुनी प्रक्रियामा मान्यता दिन, हाम्रो पार्टीले ल्याएका जति पनि एजेन्डाहरू र विधानहरूलाई मान्यता दिन महाधिवेशन भएको हो।

पार्टीको संगठन विस्तार गर्न र सुसंस्कृत राजनीति गर्न महाधिवेशन अपरिहार्य रहेको छ। पार्टीको महाधिवेशनले सक्षम, इमानदार, देश र जनताका लागि व्यक्तिगत स्वार्थ छोडेर काम गर्न सक्ने नेतृत्व चयन गर्नुपर्छ। नेतृत्व केवल पदका लागि नभई कामको लागि र सिंगो देशका लागि आवश्यक पर्ने खालको चयन होस् भन्ने लाग्छ।

गुटबन्दी त्यागेर एकताबद्ध भई अगाडि बढ्नुपर्छ
चन्द्रिकाप्रसाद कुर्मी, वीरगन्ज

महाधिवेशनमा पार्टी सभापति र वरिष्ठ नेताले भन्नुभए जस्तै मनमा छलकपट नराखी, कुनै गुटबन्दी नगरी आफ्नै परिवारका सदस्य ठानेर नेतृत्व चयन गर्नुपर्छ। देशलाई एक असल मार्गमा लैजान जुन विचार आएको छ, त्यसैअनुसार हरेक साधारण सदस्यदेखि माथिल्लो तहका नेताले खुला मनले अगाडि बढ्नुपर्छ।

उहाँहरूले जुन विचार दिनुभयो, त्यसै अनुसार हामी पनि हिँड्न सक्यौं भने भोलिका धेरै वर्षसम्म हाम्रो पार्टीको वर्चस्व कायम रहन्छ भन्ने विश्वास छ। यहाँबाट जाँदा शंका–उपशंका बोकेर नभई, जसरी रास्वपा भएर आयौं, त्यसरी नै एकताबद्ध भएर जनताको मन जित्ने गरी जानुपर्छ।

स्वतःस्फूर्त रूपमा सक्षम नेतृत्व छान्न पाउनुपर्छ
लक्ष्मणमिसन कार्की - सभापति, सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति

महाधिवेशनले जनताले चाहेको नेतृत्व चयन गरोस्, जसरी निर्वाचनबाट आएको छ। त्यसैगरी रास्वपा जनताहरुकै परिवारबाट बनेको पार्टी भएकाले प्रतिनिधिहरूद्वारा स्वतःस्फूर्त रूपमा चुनिएको नेतृत्व आओस् भन्ने चाहना हो।

नीति र मुख्य नेतृत्वमा विवाद छैन। बाँकी रहेका पदहरूमा स्वस्थ प्रतिस्पर्धा हुन्छ। गुट–उपगुट नगरी प्रतिनिधिले स्वतःस्फूर्त छानेको नेतृत्व दिनेछ भन्ने लाग्छ। अबको नेतृत्वले विश्व राजनीतिमा समेत प्रभाव पार्ने हामी देख्छौं।

‘नीलो क्रान्ति’मार्फत समृद्धि
गोकुल राई, इलाम

रास्वपाको ऐतिहासिक प्रथम महाधिवेशनले नीतिहरू पारित गर्ने, निर्णय गर्ने र नयाँ नीतिहरू तय गर्नेछ भन्ने अपेक्षाहरू हामीले राखेका छौं। अहिले देश तथा विदेशबाट पनि साथीहरू उपस्थित हुनुहुन्छ। यो व्यापक उपस्थितिले नै यस महाधिवेशनको विशेष महत्त्वलाई झल्काएको छ। विशेष गरेर देशमा अहिले विद्यमान विभिन्न समस्याहरू छन्।

जनमुखी नीति निर्माण गर्दै ‘निलो क्रान्ति’ मार्फत देशलाई समृद्ध बनाउने कार्यनीति र महत्त्वपूर्ण निर्णयहरूसहित यो महाधिवेशन सम्पन्न हुनेछ। हामीले एउटा महत्त्वपूर्ण, चुस्त–दुरुस्त र जुझारु नेतृत्व चयनसहित यो ऐतिहासिक महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने पूर्ण अपेक्षा राखेका छौं।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.