हाम्रो 'लोकल होइन, एक्सप्रेस गाडी' हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले रास्वपाको राजनीतिक यात्रा गन्तव्यमा पुगेरमात्र ब्रेक लाग्ने बताएका छन्।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई ‘एक्सप्रेस गाडी’को संज्ञा दिँदै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताए। 'हाम्रो लोकल गाडीजस्तो होइन। हाम्रो गाडी एक्सप्रेसमा हिँडेको गाडी हो। हामी गन्तव्यमा पुगेर ब्रेक लगाउँछौं,' उनले भने।
प्रधानमन्त्री शाहले जनताको समर्थनलाई हावासँग तुलना गर्दै जनमत परिवर्तनशील हुने स्वीकार गरे पनि रास्वपाले जनताको विश्वासलाई स्थायी उपलब्धिमा रूपान्तरण गरेको दाबी गरे। 'जनता र जनताको भोट हावा जस्तै हो। कहिले यताबाट, कहिले उताबाट आउँछ। तर, हामीले बाढी ल्याएर खोला फर्काएका छौं,' उनले भने।
रास्वपा अचानक राजनीतिक ‘स्पटलाइट’मा आएको र त्यो स्थान जोगाउन कठिन हुने टिप्पणीहरूप्रति प्रतिक्रिया दिँदै उनले जनताकै बलमा पार्टी त्यहाँ पुगेको बताए। 'हामीलाई जनताले यहाँ ल्याएका छन्। जनता सधैं स्पटलाइटमा रहन्छन्, जनता सधैं अगाडि नै रहन्छन्,' उनले भने।
उनले रास्वपालाई कुनै निश्चित विचारधाराको सीमाभित्र बाँध्न नमिल्ने भन्दै विकास र कामलाई केन्द्रमा राख्ने दलका रूपमा व्याख्या गरे। 'हामी लेफ्ट-राइट, उत्तर-दक्षिण होइनौं। हाम्रो पार्टी विकासवादी पार्टी हो, काम गर्ने पार्टी हो, अगाडि बढ्ने पार्टी हो, निहुँ खोज्ने पार्टी होइन,' उनले भने।
भ्रष्टाचार र अनियमितताका विषयमा भने पार्टी कठोर रहने उनको भनाइ थियो। सरकारी स्रोत-साधनको दुरुपयोग भएको पाइएमा आवश्यक परे वर्षौंसम्म पनि प्रश्न उठाइने उनले बताए। 'सरकारी दोहन भएको छ भने निहुँ खोज्छौं। अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर पनि प्रश्न सोधिन्छ,' उनले भने।
राष्ट्रियताको विषयमा उठेका प्रश्नको जवाफ दिँदै शाहले लिपुलेकलगायत सीमा सम्बन्धी विषयमा रास्वपाको अडान स्पष्ट रहेको बताए। 'हामीले लिपुलेकको प्रमाण ल्याउँछौं भनेका छौं, मध्यस्थता ल्याउन भनेका छैनौं। राष्ट्रियताप्रति कसैले आशंका मान्न पर्दैन,' उनले स्पष्ट पारे।
पार्टीभित्र गुट-उपगुट निर्माणको संस्कृतिबाट टाढा रहन नेता-कार्यकर्तालाई आग्रह गर्दै उनले राम्रो नेता बन्न जनताको विश्वास आवश्यक पर्ने बताए। 'गुट र उपगुट बनाउने चलन पुराना पार्टीमा थियो। राम्रो नेता र राजनीतिज्ञ बन्न समूह र गुट होइन, जनता चाहिन्छ,' उनले भने।
उनले वर्तमान कार्यकालभित्रै सुकुम्बासी र सहकारी समस्याको समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। आगामी निर्वाचनमा यही मुद्दा दोहोर्याएर मत माग्न नपर्ने गरी समाधान निकाल्ने उनको दाबी थियो। 'हामी यही कार्यकालमा सुकुम्बासी र सहकारी समस्या समाधान गर्छौं। अर्को चुनावमा यही एजेण्डा बोकेर जाँदैनौं,' उनले भने।
प्रतिक्रिया दिनुहोस !