शरीरमा शक्ति वृद्धि गर्ने खानेकुराको कमी हुन गएमा शरीरको हुनुपर्ने तौल र उचाइ कम हुन्छ भने कुपोषण भएको मानिन्छ।
के कारणले हुन्छ ?
- खानाको कमी : बच्चाले विशेष गरी बिरामी अवस्थामा र अन्य बेला राम्ररी खान नपाएमा कुपोषण हुन्छ।
- ज्ञानको कमी : खानेकुरामा भएको पोषण तत्तले गर्ने फाइदाबारे जानकारी नभएमा र प्रशस्त खानेकुरा भए पनि कसरी तयार गर्ने र समय–समयमा खुवाउने तरिकाबारे ज्ञान नभएमा पनि कुपोषण हुन्छ।
लक्षणहरू :
- बच्चालाई खान रुच्दैन, दुब्लाउँदै जान्छ, मिझो मान्ने (झर्कने) र रोइरहने हुन्छ।
- बच्चा दुब्लाउँदै जान्छ, मांसपेशी फितलो हुन्छ।
- कपाल फुस्रो र कमजोर हुन्छ, कपाल हातमा सजिलैसँग आउँछ र टुक्रिन्छ।
- पेट ठूलो, हातखुट्टा पातलो देखिन्छ।
- बच्चा कमजोर र अल्छी देखिन्छ।
- ज्यादै कमजोर हुँदै गएपछि आँखा बिस्तारै झिम्क्याउँछ।
- सुकेनास हुँदा हाड र छाला मात्रै देखिन्छ।
- बच्चा सुन्निन सक्छ। जिउ सुन्निएको बच्चा कमजोर हुन्छ, खेल्दैन र वरिपरिको वातावरणसँग वास्ता हुँदैन। सुन्निएको ठाउँमा औंला गाड्दा एकछिनसम्म खाल्डो बस्छ।
उपचार के छ ?
- गम्भीर अवस्थाको कुपोषण भएमा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क राख्ने।
- खानेकुरा नरम र पचाउन सक्ने किसिमको बनाउने र थोरै–थोरै मात्रामा खुवाउने।
- सर्वोत्तम पिठोको लिटो र अन्य खानेकुरा, सागपात, फलफूल खुवाउने।
- बच्चालाई पखाला लागेको भए जीवनजल, झोल पदार्थ, भातको माड, आमाको दूध प्रशस्त दिनुका साथै खानेकुरा पनि खान दिनुपर्छ।
- बच्चालाई रमाइलो वातावरणमा राख्ने।
- सानोतिनो शारीरिक अभ्यास गराउने, जस्तैः खेलौना खेल्न दिने, बगैंचामा डुलाउने आदि।
- बच्चाले खान थालेपछि बिस्तारै–बिस्तारै खानेकुराको मात्रा बढाउने र समयको पनि फरक पार्ने।
प्रतिक्रिया दिनुहोस !