टिपरको ठक्करबाट एक जनाको मृत्यु, २ घाइते
रौतहट : रौतहटमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। मंगलबार ४ बजे गरुडा चिनीमिल नजिक ढुङ्गा–गिटी बोकेको मधेश प्रदेश ०३–००१ क २५१६ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको ना २८ प ७२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कटहरिया नगरपालिका–६ फतेपुरका २० वर्षीय शेख स्वयलको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार गरूडा नगरपालिका–८ जिंगडियाका शेख मनिरका २२ वर्षीय छोरा शेख आशिक तथा सोही स्थानका शेख अब्दुलका ३ वर्षीय छोरा महम्मद कम्रान घाइते भएका छन्। घाइते दुवै जनाको उपचार भइरहेको बताइएको छ।
दुर्घटनापछि स्थानीयवासी घटनास्थलमा भेला भएका थिए। ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। यसअघि गत जेठ २४ गते राति गढीमाई नगरपालिका–४ सुन्दरपुर चोक नजिक स्थानीय मलाही गाउँका ३५ वर्षीय प्रमोद सहनीलाई प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिपरले ठक्कर दिँदा सहनीको घटनास्थलमै मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस !