फ्रान्स र अर्जेन्टिनाका ६ प्रशिक्षकले गर्दैछन् टचलाइनको नेतृत्व

फ्रान्स र अर्जेन्टिनाका ६ प्रशिक्षकले गर्दैछन् टचलाइनको नेतृत्व

काठमाडौं : अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि देशको टिमबाट खेल्न खेलाडी त्यही देशको नागरिक हुनुपर्छ। विश्वकपमा पनि यही नियम छ। यस अर्थमा मेक्सिको, अमेरिका र क्यानडामा सुरु हुने फिफा विश्वकपमा ४८ देशका २६ जनाका दरले कुल १२४८ खेलाडी उपाधिको लक्ष्यसहित प्रतिस्पर्धाको मैदानमा हुनेछन्।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियममा कुनै पनि देशको टिममा रहेर खेल्नका लागि सम्बन्धित देशको नागरिक हुनै पर्छ। तर, टिमका सबै खेलाडीलाई नेतृत्व गर्ने, खेलको रणनीति तयार गर्ने, कुन खेलमा वा कुन अवस्थामा कसरी प्रस्तुत हुने जस्ता विषयमा निर्णय गर्ने सबै अधिकार रहने प्रशिक्षक बन्नका लागि चाहिँ जुनसुकै देशको नागरिक भए पनि पाइन्छ। यही कारण हो, आ–आफ्नो देशलाई प्रतिनिधित्व गर्दै त्यहाँ पुग्ने सबै खेलाडी त्यही देशका नागरिक छन्। तर, प्रशिक्षकमा त्यस्तो छैन। कतिपय देशबाट प्रशिक्षक बनेर टचलाइनबाट पूरा टिमको सबैखाले नेतृत्व लिनेमा एक जना पनि प्रतिनिधि छैनन्।

यसपाली विश्वकपका टिमलाई नेतृत्व गर्न प्रशिक्षक पठाउने मामिलामा फ्रान्स र अर्जेन्टिना संयुक्त रुपमा अगाडि छन्। दुवैले समान ६ प्रशिक्षकलाई विभिन्न टोलीको नेतृत्व गर्न उत्तर अमेरिका पठाएका छन्। विश्वकपमा ४८ देशका टोलीलाई २५ देशका प्रशिक्षकले नेतृत्व गर्दैछन्। २३ देशबाट एकजना पनि प्रशिक्षक छैनन्। उत्तर अमेरिकाका तीन देशमा उपाधिमा चुनौती प्रस्तुत गर्न ४८ देशलाई नेतृत्व गर्दै पुग्ने प्रशिक्षकमा फ्रान्स र अर्जेन्टिनाबाट सबभन्दा धेरै ६ जना रहँदा जर्मनीका चार प्रशिक्षकले विश्वकपमा चार फरक टिमको नेतृत्व गर्दैछन्। यस्तै इटाली, बोस्निया एन्ड हर्जगोभिना र स्पेनका समान तीन प्रशिक्षक विश्वकपको प्रतिस्पर्धामा टचलाइनमा देखिनेछन्। यस्तै अस्ट्रेलिया, इङल्यान्ड्, नेदरल्यान्ड्स र बेल्जियमबाट दुई/दुई प्रशिक्षक विश्वकपको मञ्चमा हुनेछन् भने अमेरिका, इजिप्ट, इरान, केप भेर्डे, चेक गणतन्त्र, जापान, डेनमार्क, दक्षिण कोरिया, नर्वे, पोर्चुगल, मेक्सिको, मोरक्को, सेनेगल, स्कटल्यान्ड र स्विट्जरल्यान्डबाट पनि एक/एक जना प्रशिक्षकको प्रतिनिधित्व हुनेछ।

सबैभन्दा धेरै तीन पटकको विश्व च्याम्पियन अर्जेन्टिनाका ६ प्रशिक्षकमध्ये विश्वकपमा माउरिसियो पोचेटिन्होले आयोजक अमेरिकाको टिमलाई नेतृत्व गर्नेछन्। लियोनेल स्कालोनीले आफ्नै देश, अर्थात् साविक विजेता अर्जेन्टिनाको नेतृत्व गर्दा नेस्टर लोरेन्जोले कोलम्बिया, सेवास्टिन बेकासेसेले इक्वेडर, गुस्ताभो अल्फारोले पाराग्वे तथा मार्सेलो विएल्साले उरुग्वेको टिमलाई टचलाइनबाट निर्देशित गर्नेछन्।

दुई पटकका च्याम्पियन फ्रान्सले पनि विश्वकप २०२६ लाई ६ जना प्रशिक्षक दिएको छ। फ्रान्सका सेवास्टिन डेसाब्रेले कंगो, इमर्स फाएले आइभोरी कोष्ट, साब्री लामोचीले ट्युनिसिया, सेवास्टिन मिग्नेले हाइटी, रुडी गार्सियाले बेल्जियमको टोलीलाई नेतृत्व गर्दा डिडियर डेसच्याम्पसले आफ्नै देशको टिमको जिम्मेवारी लिएका छन्।

जर्मनीका चार प्रशिक्षकमा जुलियन नागेल्सम्यानले चार पटकको पूर्व च्याम्पियन आफ्नै देशलाई नेतृत्व प्रदान गर्नेछन्। जर्जियस डोनिसले साउदी अरेबिया, राल्फ राग्निकले अस्ट्रिया, तथा थोमस टचेलले इङ्ल्यान्डलाई प्रशिक्षित गर्नेछन्। इटाली लगातार तेस्रो पटक विश्वकपलाई छनोट हुन असफल भएको छ। इटालीबाट राष्ट्रिय टोली अनुपस्थित भए पनि तीन प्रशिक्षकले विश्वकपमा चार पटकको पूर्वच्याम्पियनको प्रतिनिधित्व गर्ने छन्।

इटालीबाट फाबियो कानाभारोले उज्वेकिस्तान तथा कार्लो एन्सेलोट्टीले ब्राजिल तथा भिन्सेन्जो मोन्टेलाले टर्कीस टोलीको जिम्मेवारी लिएका छन्। यसैगरी बोस्निया हर्जगोभिनाका सेर्गी बार्बेजले आफ्नै देशको जिम्मेवारी लिँदा भ्लादिमिर पेट्कोभिचले अल्जेरिया तथा ज्लाट्को डालिचले क्रोएसियाको नेतृत्व गर्नेछन्। त्यस्तै स्पेनका लुइस डे ला फोन्टेले आफ्नै देशलाई नेतृत्व गर्दा जुलियन लोप्तेगीले कतार तथा रोबर्टो मार्टिनेजले पोर्चुगलको टिमलाई डोर्‍याउने छन्।

अस्ट्रेलियाका टोनी पोपोभिच आफ्नै देशको टिममा रहँदा ग्राहम आर्नोल्डले इराकको जिम्मेवारी लिएका छन्। इङ्ल्यान्डका प्रशिक्षकहरूमा डारेन बाजिलेको काँधमा न्युजिल्यान्ड तथा ग्राहम पटरको जिम्मामा स्विडेनको टिम छन्। नेदरल्यान्ड्सका रोनाल्ड कोम्यानले आफ्नै देशको टिमलाई नेतृत्व गर्दा डिक एड्भोकेटको जिम्मामा कुराकाओ तथा बेल्जियमका प्रशिक्षक मोहमद उआबीले मोरक्को र ह्युगो ब्रुसले दक्षिण अफ्रिकाको टोलीलाई विश्वकपमा नेतृत्व गर्दैछन्। क्यानडाको टिममा अमेरिकाका जेसी मार्स प्रशिक्षकको भूमिकामा छन् भने डेनमार्कका थोमस क्रिस्टेनसेनले पानामालाई नेतृत्व गरिरहेका छन्। यस्तै पोर्चुगलका कार्लोस क्विरेज घाना र मोरक्कोका जमाल सेलामी जोर्डनको टिमको जिम्मेवारीमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.