नेपालगन्ज : गर्मीसँगै बर्खा सुरु भयो। तराई मधेसमा विषालु सर्पको बिगबिगी छ। त्यसैकारण विशेष सतर्क हुनुपर्ने अवस्था छ। किनभने घरआँगन, खेतबारी तथा वन–जंगलमा गोमन, करेत र बाघेसर्पको गतिविधि उल्लेख्य रूपमा बढिसकेका छन्।
यस्तो जोखिम तराईमा मात्र सीमित छैन। पहाडी क्षेत्रमा पनि चन्द्रनाग, हरियो सर्प र हिमालयन करेत देखिन थालेका छन्। सर्पहरूको बढ्दो सक्रियताले स्थानीयमा त्रास बढेको छ। नेपालगन्ज मेडिकल कलेजकी चिकित्सक डा. सन्जना श्रेष्ठ पनि सर्पको बिगबिगीबाट आफूहरू पनि चिन्तित भएको बताउँ छिन्।
सर्पदंशबारे जनचेतना फैलाउन बैजनाथका जंगलछेउका बस्तीमा पुगेकी डाक्टर श्रेष्ठ भन्छिन्, ‘जाडो मौसममा सर्पहरू ऊर्जा संरक्षण गर्न माटोमुनि वा विभिन्न प्वालभित्र निष्क्रिय अवस्थामा बस्छन्। गर्मी सुरु भएसँगै पुनः सक्रिय भएर बाहिर निस्कन्छन्।’उनका अनुसार सर्पबाट जोगिन सावधानी नै सबैभन्दा प्रभावकारी उपाय हो। ‘सर्पले टोकेमा बिरामीलाई सकेसम्म छिटो ४५ मिनेटदेखि एक घण्टाभित्र अस्पताल पुर्याउनुपर्छ। श्रेष्ठ भन्छिन् ‘सम्भव भए सर्पको सुरक्षित दूरीबाट फोटो खिच्नुहोस्। सर्पको तस्बिरले प्रजाति पहिचान गर्न र उचित उपचार छनोट गर्न चिकित्सकलाई महत्वपूर्ण सहयोग पुग्छ।’
विषालु सर्पको जोखिमबाट प्रभावित बस्तीका नागरिकलाई सुरक्षित राख्ने अभियानमा डा. सन्जना श्रेष्ठ मात्र होइन, अन्य थुप्रै युवा चिकित्सक पनि सक्रिय छन्। उनीहरू गाउँगाउँ पुगेर सर्पदंशबाट बच्ने उपाय, प्राथमिक उपचार तथा समयमै अस्पताल पुग्नुपर्ने आवश्यकताबारे जनचेतना फैलाइरहेका छन्।
बाँकेको बैजनाथ गाउँपालिका यस अभियानको प्रमुख केन्द्र बनेको छ। १४१.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिका नेपालकै ठूलो गाउँपालिकामध्ये एक हो। यहाँ घना जंगल, खोलानाला र झाडीहरू पर्याप्त छन्। पूर्व, पश्चिम र उत्तर तीनैतर्फ राष्ट्रिय निकुञ्जका जंगल तथा सामुदायिक वन रहेकाले सर्पको वासस्थान व्यापक छ। यही कारण यस क्षेत्रमा सर्पदंशको जोखिम पनि उच्च मानिन्छ र चिकित्सकहरूको विशेष चासो तथा निगरानी देखिन्छ।
सर्पसम्बन्धी अनुसन्धानमा समेत चिकित्सकहरूको एउटा टोली सक्रिय छ। सामाजिक अभियान र अनुसन्धानको नेतृत्व डा.प्रज्ञा घिमिरे गौतमले गर्दै आएकी छन्। उनी आफ्ना सहकर्मी चिकित्सकहरूसँग जोखिमयुक्त बस्तीमा पुगेर विषालु सर्पको टोकाइबाट कसरी जोगिने र कसरी अरूलाई जोगाउने भन्नेबारे प्रशिक्षण दिन्छिन्। तर, सर्पदंश नियन्त्रणको अभियानमा लागेका चिकित्सकहरूलाई सबैभन्दा बढी चिन्ता भने नेपालमै प्रभावकारी एन्टी स्नेक भेनम (सर्पविष प्रतिरोधी औषधि) उत्पादन नहुनु हो।
भारतको औषधिले ‘डोज’ पुग्दैन
नेपालगञ्ज मेडिकल कलेजको प्याथोलोजी विभागमा कार्यरत डा. प्रज्ञा घिमिरे भन्छिन्, ‘नेपालमा अहिलेसम्म आफ्नै एन्टी स्नेक भेनम उत्पादन भएको छैन। यसबारे अनुसन्धान भइरहेको भए पनि सर्पदंशका बिरामीलाई भारतबाट आयात गरिएको एन्टी स्नेक भेनम प्रयोग गर्नुपर्ने बाध्यता छ। तर, त्यो नेपालका सबै विषालु सर्पका लागि पर्याप्त प्रभावकारी देखिएको छैन। नेपालमा पाइने केही सर्पका विषको प्रकृति फरक भएकाले धेरै मात्रा (डोज) प्रयोग गर्नुपर्ने अवस्था आउँछ।’ औषधि उत्पादन र अनुसन्धानमा भइरहेको ढिलाइ पनि सर्पदंशबाट हुने मृत्युको प्रमुख कारण बनेको छ। दक्षिण एसियामै नेपालमा सर्पदंशको समस्या गम्भीर मानिन्छ। विषालु सर्पको टोकाइका घटनाको दर छिमेकी मुलुकको तुलनामा उच्च रहेकाले विश्व स्वास्थ्य संगठनले समेत यसलाई सार्वजनिक स्वास्थ्यको चुनौतीका रूपमा औल्याउँदै आएको छ। तर, जोखिम घटाउन आवश्यक जनचेतना, प्रभावकारी औषधि उत्पादन, उद्धार तथा यातायात व्यवस्थापनमा अपेक्षित प्रगति हुन सकेको छैन।
यही चुनौतीबीच चिकित्सक डा.सोनाली गुप्ता बिरामीको मनोबल उच्च राख्नुपर्नेमा जोड दिन्छिन्। सर्पले टोकेपछि धेरै बिरामी डराउने र आत्तिने गर्छन्, त्यसले झन् जटिलता थप्ने गरेको उनको भनाइ छ। त्यसैले अस्पताल पुग्नुअघि बिरामीलाई आश्वस्त बनाउने, अनावश्यक डर हटाउने र उपचार सम्भव छ भन्ने विश्वास दिलाउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
सोनाली भन्छिन्, ‘सर्पदंशका बिरामीलाई छिटो अस्पताल पु¥याउनुनै जीवन र मृत्युबीचको मुख्य अन्तर हो। अहिलेको अवस्थामा मोटरसाइकल सबैभन्दा सहज, सस्तो र अधिकांश ठाउँमा उपलब्ध यातायातको साधन हो। स्थानीय तह र वडा कार्यालयहरूले आपत्कालीन उद्धारका लागि मोटरसाइकल सेवा व्यवस्थापन गर्न सक्छन्। त्यसका लागि नागरिकको जीवन सुरक्षाप्रति स्पष्ट प्रतिबद्धता आवश्यक छ।’ चिकित्सकहरूको निष्कर्ष स्पष्ट छ, सर्पदंशबाट हुने अधिकांश मृत्यु समयमै उपचार नपाएर हुन्छ। जनचेतना, शीघ्र उद्धार, प्रभावकारी औषधि र स्थानीय तहको सक्रियताले मात्रै यो जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ।
सर्पको फोटो माग्दा मृत्यु
चिकित्सकहरूका अनुसार विषालु सर्पले टोकेको बिरामीलाई ४५ मिनेटदेखि एक घण्टाभित्र अस्पताल पुर्याउन सके ज्यान जोगिने सम्भावना निकै हुन्छ। तर, ग्रामीण क्षेत्रमा धेरै परिवारसँग तत्काल सवारीसाधन उपलब्ध हुँदैन। यही कारण उपचारमा ढिलाइ हुने र जोखिम बढ्ने गरेको छ।
समस्या यतिमै सीमित छैन। कतिपय अस्पतालमा बिरामीलाई उपचार सुरु गर्नुअघि कुन प्रजातिको सर्पले टोकेको हो ? भन्ने जानकारी खोज्ने, आफन्तसँग सोधपुछ गर्ने र सर्पको तस्बिर माग्ने प्रवृत्ति पनि देखिन्छ। चिकित्सकीय रूपमा सर्पको पहिचान उपयोगी भए पनि त्यसकै कारण उपचार ढिलो हुनु घातक बन्न सक्छ। यसको एउटा दर्दनाक उदाहरण डेढ वर्षअघि बाँकेमा देखियो। विषालु सर्पले टोकेपछि वाल्मीकि समुदायकी एक महिलालाई उपचारका लागि भेरी अस्पताल पुर्याइएको थियो। परिवारका सदस्यहरूका अनुसार अस्पतालमा सर्पको तस्बिर मागियो। उनीहरूसँग तस्बिर थिएन। उपचार प्रक्रिया अघि बढ्न ढिलाइ भयो। अन्ततः समयमै आवश्यक उपचार नपाउँदा ती महिलाले ज्यान गुमाइन्।
यो घटना केवल एक व्यक्तिको मृत्युको कथा होइन, सर्पदंश उपचार प्रणालीमा रहेका कमजोरीहरूको प्रतीक हो। चिकित्सकहरू भन्छन्, ‘सर्पको तस्बिर वा पहिचानभन्दा महत्वपूर्ण कुरा बिरामीको अवस्था हेरेर तत्काल उपचार सुरु गर्नु हो। किनभने सर्पदंशमा बित्ने प्रत्येक मिनेटले जीवन र मृत्युबीचको दूरी घटाइरहेको हुन्छ।’
सर्पदंशबाट मानिसको ज्यान जोगाउने अभियानमा सक्रिय डा. निरजप्रसाद शाहका अनुसार सर्पदंशको सबैभन्दा ठूलो जोखिम खेतीपातीमा संलग्न किसान समुदायले बेहोर्नुपरेको छ। ‘अन्य पेसाका मानिसभन्दा किसानहरू बढी जोखिममा छन्,’ डा. शाह भन्छन्, ‘विशेषगरी बर्खायाममा खेत, बारी र झाडीमा काम गर्न जाँदा उनीहरू प्रत्यक्ष रूपमा सर्पको सम्पर्कमा आउँछन्। तर अधिकांश किसानसँग सुरक्षाका लागि आवश्यक बुट वा अन्य सुरक्षा सामग्री हुँदैन।’उनका अनुसार सर्पदंशका अधिकांश घटना खेतबारी, घाँस काट्ने ठाउँ र झाडी भएको क्षेत्रमा हुने गर्छन्। तर, जोखिम उच्च भए पनि किसानलाई सुरक्षित राख्न आवश्यक पूर्वतयारी र सरकारी सहयोग पर्याप्त देखिँदैन। बर्खाको समयमा सर्पको गतिविधि बढ्ने कुरा थाहा हुँदाहुँदै पनि किसानका लागि सुरक्षात्मक बुट वा अन्य सामग्री उपलब्ध गराउने प्रभावकारी कार्यक्रम सञ्चालन हुन सकेको छैन।
डाक्टर शाहको बुझाइमा समस्या केवल उपचारको अभावमा सीमित छैन। एकातिर नेपालमै पर्याप्त एन्टी स्नेक भेनम उत्पादन हुन सकेको छैन, अर्कोतिर सर्पदंशबाट जोगिन आवश्यक सुरक्षात्मक सामग्री पनि जोखिममा रहेका समुदायसम्म पुगेको छैन। ‘औषधि उत्पादनमा ढिलाइ, जनचेतनाको कमी र सुरक्षात्मक सामग्रीको अभाव, यी तीनै कारणले हरेक वर्ष धेरै नागरिक अनावश्यक रूपमा जोखिममा परिरहेका छन्’, उनी भन्छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार सर्पदंशलाई केवल स्वास्थ्य समस्याका रूपमा मात्र होइन, ग्रामीण श्रमिक र किसानको सुरक्षासँग जोडिएको सार्वजनिक नीतिको विषयका रूपमा पनि हेर्न आवश्यक छ। समयमै औषधिको उपलब्धता, जनचेतना अभिवृद्धि र जोखिमयुक्त क्षेत्रमा काम गर्ने किसानलाई सुरक्षात्मक सामग्री उपलब्ध गराउन सके धेरै ज्यान बचाउन सकिन्छ।
यता बढी प्रभावित क्षेत्र बैजनाथ गाउँपालिकाको चिसापानी स्वास्थ्य चौकीका प्रमुख प्रेम शाह सर्पदंशबाट नागरिकको ज्यान जोगाउने प्रयासमा आफू र आफ्नो टोली दिनरात खटिरहेको बताउँछन्। तर सीमित स्रोतसाधनका कारण चाहेर पनि प्रभावकारी सेवा दिन नसकिएको पीडा उनी लुकाउँदैनन्।
‘हाम्रा अधिकांश बस्ती घना वनजंगलको नजिक छन्। त्यसैले सर्पदंशको जोखिम पनि अत्यधिक छ,’ उनी भन्छन्, ‘तर बिरामीलाई तत्काल अस्पताल पु¥याउन आवश्यक एम्बुलेन्स वा अन्य आपत्कालीन यातायातका साधन स्वास्थ्य चौकीसँग छैनन्। यही कारण उपचारमा ढिलाइ हुने गरेको छ। ज्यान बचाउन चाहँदा–चाहँदै पनि कतिपय अवस्थामा हामी असहाय बन्न बाध्य हुन्छौं।’
उनका अनुसार सर्पदंशका बिरामीका लागि पहिलो एक घन्टा अत्यन्त महत्वपूर्ण हुन्छ। तर, दुर्गम बस्तीबाट अस्पतालसम्म पुग्न लाग्ने समय र यातायातको अभावले धेरै बिरामीको अवस्था गम्भीर बन्ने गरेको छ।उता बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाह पनि बर्खायाम सुरु भएसँगै सर्पदंशको जोखिम बढ्ने तथ्य स्वीकार गर्छन्। उनका अनुसार पालिकाको भौगोलिक बनोट नै सर्पको बसोबासका लागि अनुकूल भएकाले यहाँ समस्या अन्य क्षेत्रको तुलनामा बढी देखिने गरेको छ।
‘बैजनाथ ठूलो क्षेत्रफल भएको गाउँपालिका हो। यहाँ बाक्लो बस्ती छ, वनजंगल छन्, खोलानाला र झाडी प्रशस्त छन्। यी सबै सर्पका लागि उपयुक्त बासस्थान हुन्,’ अध्यक्ष शाह भन्छन्, ‘त्यसैले सर्पको टोकाइका घटना र त्यसबाट उत्पन्न हुने संकट पनि अन्य ठाउँको तुलनामा बढी देखिन्छ।’
उनका अनुसार स्थानीय सरकार अब जोखिम न्यूनीकरणका लागि सक्रिय रूपमा अघि बढ्ने तयारीमा छ। ‘प्रत्येक वडासम्म पुगेर सर्पदंशसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने योजनामा छौं। नागरिकलाई सर्पबाट जोगिने उपाय, प्राथमिक उपचार र समयमै अस्पताल पुग्नुपर्ने महत्वबारे जानकारी दिन सके धेरै दुर्घटना रोक्न सकिन्छ,’ उनले भने।
स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिको निष्कर्ष एउटै छ सर्पदंशबाट हुने मृत्यु केवल प्राकृतिक जोखिमको परिणाम होइन, चेतनाको कमी, यातायात अभाव र स्वास्थ्य पूर्वाधारको कमजोरीसँग पनि जोडिएको समस्या हो। यी पक्षमा सुधार गर्न सकिए हरेक वर्ष गुमिरहेका धेरै अमूल्य जीवन बचाउन सकिन्छ। त्यसका लागि संघीय सरकारले नीति र कार्यक्रमनै बनाएर बढी प्रभावित क्षेत्रमा साधान स्रोत उपलब्ध गराउनुपर्ने माग स्थानीय सरकार प्रमुखहरूको छ।
डाक्टर राजन गैरे अन्य सर्पको तुलनमा विषालुले दात गाडेको डाम बढी देखिने गरेको बताउँछन्। सबैभन्दा खतरा रातको समयमा हुन्छ। किनभने राति सर्प बढी सक्रिय हुन्छन्। सर्पको विषबाट मुटु रोगको औषधि निर्माण गर्न सकिने हुँदा सके सम्म सर्प मार्नुहुँदैन।
अचम्म लाग्दो त के छ भने आयरल्यान्ड, आइसल्यान्ड र न्युजिल्यान्डजस्ता देशमा सर्प नै पाइँदैनन्। विश्वमा ३ हजार ९ सयभन्दा बढी प्रजातिका सर्पहरू छन्। तीमध्ये ६ सय प्रजाति विषालु छन्। विशेषज्ञहरूका अनुसार जसमध्ये २ सय प्रजातिले मानिसलाई गम्भीर खतरा पु¥याउन सक्छन्। जसमध्ये राजगोमन (किङ कोब्रा) संसारकै लामो विषालु सर्प हो। यसको लम्बाइ ३ देखि ५ मिटर भन्दा बढी पनि हुन सक्छ। यो सर्प तराईदेखि पहाडी क्षेत्रमा पाइन्छ।
नेपालमा कति मानिसको मृत्यु हुन्छ ?
नेपालमा वास्तविक संख्या सरकारी तथ्यांकभन्दा धेरै हुन सक्ने देखिएको छ। डब्लूएचओले उद्धृत गरेको एक अध्ययनमा सन् २००० मा सरकारी अभिलेखमा २२ जनाको मृत्यु मात्र देखिए पनि पूर्वी नेपालको सामुदायिक अध्ययनले ३ सय ९६ जनाको मृत्यु भएको उल्लेख गरेको थियो।
हालका अनुसन्धानहरूले नेपालमा वार्षिक करिब १ हजारदेखि ३ हजार २ सय २५ जनासम्म सर्पदंशका कारण मृत्यु हुन सक्ने अनुमान गरेका छन्। तराई क्षेत्रमा गरिएको एउटा सर्वेक्षणले देशभर वर्षमा २६ हजारदेखि ३८ हजार मानिसलाई सर्पले टोक्ने र २ हजार ३ सय ८६ देखि ३ हजार २ सय २५ जनासम्मको मृत्यु हुन सक्ने देखाएको छ। विशेष गरी वर्षायाम (जेठ महिनादेखि भदौसम्मको अवधि बढी जोखिम युक्त हुने गरेको छ।
महिलाभन्दा पुरुषको मृत्यु दर बढी
विश्वमा सर्पको टोकाइबाट मृत्यु हुनेमध्ये कति पुरुष र कति महिला छन् भन्ने एकिन तथ्यांक त छैन। तर, केही अध्ययनहरूले महिलाभन्दा पुरुषको मृत्यु दर बढी देखाएको छ। सन् २०१९ को विश्वव्यापी अध्ययनअनुसार पुरुषः प्रति १ लाख जनसंख्यामा करिब ०.९ जनाको मृत्यु भएको थियो भने महिलाप्रति १ लाख जनसंख्यामा करिब ०.७ जनाको मृत्यु भएको थियो। यसले पुरुषमा सर्पदंशबाट मृत्यु हुने जोखिम महिलाभन्दा पुरुषमा करिब २५ देखि ३० प्रतिशतले बढी रहेको संकेत गर्छ। जसको कारण पुरुषहरू कृषि, पशुपालन, जंगल तथा बाहिरी काममा बढी संलग्न हुने, सर्पसँग प्रत्यक्ष सम्पर्क हुने सम्भावना बढी हुनु मानिएको छ। नेपालमा भने कुनै भरपर्दो तथ्यांक छैन।
विश्व स्वास्थ्य संगठनको निर्देशन कार्यान्वयन भएन
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ )ले नेपाल बढी जोखिम युक्त देशमा पर्ने गरे भन्दै सन् २०३० सम्म सर्पले टोकेर हुने मृत्यु र अपांगता ५० प्रतिशतले घटाउने लक्ष्य लिएको छ। नेपालले पनि सर्पदंशबाट हुने मृत्यु र दीर्घकालीन अपांगता आधाले घटाउने सहमती जनाएको छ ।
सर्पदंशलाई स्वास्थ्य आपतकाल मान्ने सामान्य दुर्घटनाका रूपमा नलिइ तत्काल उपचार आवश्यक पर्ने मेडिकल इमर्जेन्सीका रूपमा लिनुपर्ने र बिरामीलाई तुरुन्त अस्पताल वा छिटो सर्पदंश उपचार केन्द्रमा पु¥याउन डब्लूएचओले जोड दिएको छ। किनभने उपचारमा ढिलाइ नै मृत्युको प्रमुख कारणमध्ये एक मानिएको छ।
गलत परम्परागत उपचार नगर्न, झारफुकमा भर नपर्न, घाउ चिर्ने, विष चुस्ने जस्ता काम नगर्न र अत्यधिक कसिलो डोरीले बाँध्ने र बिरामीलाई अनावश्यक हिँडाउन दिन नहुनेतर्फ डब्लूएचओले सतर्क गराएको छ। स्वास्थ्य संगठनको निर्देशिकामा किसान र ग्रामीण समुदाय सबैभन्दा जोखिममा रहेकाले किसान, गोठाला, मजदुर, माछा मार्ने समुदाय र भुइँमा सुत्ने बालबालिका बढी जोखिममा रहेको उल्लेख छ।
उपचार केन्द्रमा गुणस्तरीय एन्टीभेनम उपलब्ध गराउने, स्वास्थ्यकर्मीलाई तालिम दिने र आवश्यक परे कृत्रिम श्वास–प्रश्वास को व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ। तर नेपालको तराइ र पहाडी जिल्लामा निर्देशीका अनुरूप जोखिम न्यून गर्ने प्रभावकारी उपाय अझै अपनाइएको छैन।
विश्व स्वास्थ्य संगठनको नेपाल सदस्य राष्ट्र हो। तर, सरकारले संगठनको निर्देशीका अनुरुप सर्पबाट जोगाउने काम गरेको पाइँदैन। जसका कारण हरेक वर्ष हजारौं मानिस सर्पदंशको जोखिममा पर्छन् र सयौंले ज्यान गुमाउँछन्।
कहिले हुन्छ स्वदेशमै एन्टी स्नेक भेनम उत्पादन ?
मुलुकमा एन्टी स्नेक भेनमको व्यावसायिक उत्पादन अझै सुरु भइसकेको छैन। तर यसका लागि आवश्यक पूर्वाधार निर्माण र अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेका छन्। त्यसैकारण सर्पले टोकेमा भारतको औषधिमा निर्भर हुनुपरेको छ। एन्टी स्नेक भेनम उत्पादनका लागि सर्प पाल्ने अनुमति दिनुपर्ने अवस्था छ।
सुनसरीको बराहक्षेत्रमा रहेको ‘एन्टी स्नेक भेनम सेरुम रिसर्च एन्ड म्यानुफ्याक्चरिङ प्रालि’ ले स्थापनाको १२ वर्षपछि पहिलोपटक सरकारबाट सर्प पाल्ने अनुमति पाएको छ। यो अनुमति पाएसँगै अब उद्योगले सर्पको विष संकलन गर्ने बाटो खुलेको छ। सुनसरी र सर्लाही (झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा उत्पादनका लागि जमिन र प्रयोगशाला भवन जस्ता भौतिक पूर्वाधारहरू तयार भइसकेका छन्। सुनसरीको उद्योगमा परीक्षण उत्पादनका लागि केही घोडा र सर्पहरूसमेत संकलन गरिएका छन। सर्लाहीको परियोजनाका लागि संघीय र प्रदेश सरकारले ७२ करोड रुपैयाँ अनुदान दिने सम्झौता गरेका छन्।
त्यस्तै, मधेस प्रदेश सरकारले पनि आफ्नै स्तरमा सम्भाव्यता अध्ययन सुरु गरेको छ । लामो समयसम्म वन्यजन्तु पालनसम्बन्धी स्पष्ट कार्यविधि नहुँदा उत्पादन प्रक्रिया रोकिएको थियो। साथै, सर्पको विष निकालेर घोडामा पठाउने र त्यसबाट एन्टिबडी प्रशोधन गर्ने जटिल प्रविधिका कारण व्यावसायिक उत्पादनमा समय लागिरहेको छ।
विश्वमा कति जनाको मृत्यु हुन्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सर्पको टोकाइबाट बर्सेनि करिब ८१ हजारदेखि १ लाख ३८ हजार मानिसको मृत्यु हुने गरेको छ। वर्षमा करिब ५४ लाख मानिसलाई सर्पले टोक्छ। तीमध्ये १८ लाखदेखि २७ लाख मानिसमा विषको गम्भीर असर देखिन्छ। मृत्युबाहेक, हरेक वर्ष करिब ४ लाख मानिस स्थायी रूपमा अशक्त हुने, अंग काट्नुपर्ने वा अन्य गम्भीर अपांगता भोग्नुपर्ने अवस्था आउने गरेको छ।
सबैभन्दा बढी मृत्यु दक्षिण एसिया (विशेष गरी भारत), उप–सहारा अफ्रिका तथा ग्रामीण कृषि क्षेत्रमा हुने गरेको संगठनले जनाएको छ। औसतमा दैनिक २ सय २० देखि ३ सय ८० जना मानिसको सर्पदंशका कारण विश्वभर मृत्यु हुन्छ।
कुन देशको उपाय प्रभावकारी छ ?
विश्वमा सबैभन्दा प्रभावकारी उपाय अपनाएको देशमध्ये कोस्टारिकालाई धेरै विशेषज्ञहरूले उत्कृष्ट उदाहरण मान्छन्। त्यहाँ समुदायस्तरको सचेतना, आफ्नै एन्टिभेनम उत्पादन, स्वास्थ्यकर्मी तालिम र गाउँसम्म उपचार पहुँचलाई एकैसाथ लागू गरिएको छ। यसले सर्पदंशबाट हुने मृत्यु र अपांगता उल्लेखनीय रूपमा घटाएको छ।
त्यसैगरी अर्को देश हो अस्ट्रेलिया। विश्वका धेरै विषालु सर्प भए पनि त्यहाँ मृत्यु संख्या अत्यन्त कम छ। जसका मुख्य कारणहरू यस्ता छन्।
- सर्पबारे सानैदेखि शिक्षा
- प्रभावकारी प्राथमिक उपचारको ज्ञान
- देशभर एन्टिभेनमको उपलब्धता
- छिटो आपतकालीन उद्धार सेवा र अस्पताल पहुँच
श्रीलंकाले पनि पछिल्ला दशकहरूमा अस्पतालमा छिटो पहुँच, निःशुल्क उपचार र राम्रो तथ्यांक संकलनका कारण सर्पदंश मृत्यु घटाउन प्रगति गर्दै आएको छ। विश्व स्वास्थ्य संगठनले सफल रणनीतिका चार मुख्य आधार बताएको छ।
- समुदायलाई सचेत बनाउने।
- सुरक्षित र प्रभावकारी एन्टिभेनम उपलब्ध गराउने।
- स्वास्थ्य प्रणाली बलियो बनाउने।
- अनुसन्धान र समन्वय बढाउने।
नेपालका लागि हेर्दा, कोस्टारिकाको मोडेल सबैभन्दा उपयोगी देखिन्छ, किनभने त्यहाँ ग्रामीण किसान, गरिब समुदाय र सर्प धेरै हुने क्षेत्रलाई लक्षित गरेर काम गरिएको छ। नेपालको तराईसँग केही हदसम्म मिल्ने अवस्था।
नेपालले के गर्न सक्छ ?
- स्थानीय स्तरमा एन्टिभेनम भण्डारण।
- एम्बुलेन्स र रेफरल प्रणाली सुधार।
- किसान र विद्यालयस्तरमा सर्पदंश शिक्षा।
- सर्पदंशलाई अनिवार्य रिपोर्टिङ रोग बनाउने।
- विषालु सर्पहरूको राष्ट्रिय निगरानी प्रणाली बनाउने।
यस्ता कदमहरूले मृत्यु संख्या उल्लेखनीय रूपमा घटाउन सक्छन्।

प्रतिक्रिया दिनुहोस !