कुटपिट र निलम्बनको विरोधमा आन्दोलनमा उत्रिए चिकित्सक

कुटपिट र निलम्बनको विरोधमा आन्दोलनमा उत्रिए चिकित्सक
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा शनिबार भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा यहाँका सरकारी तथा निजी अस्पतालमा सम्पूर्ण उपचार सेवा ठप्प पारेर चिकित्सकहरू अड्तालमा उत्रिएका छन् । 

शनिबार बिहान सिकिस्त अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका  वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । पटेलको मृत्युपछि आक्रोशित उनका परिवारजन र गाउँलेले अस्पतालमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत डा. प्रमोद राममाथि निर्घात रुपमा कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते डा.राम आइसीयुमा उपचाररत छन् । 

उक्त घटनापछि अस्पतालकै सभाकक्षमा शनिबार साँझ बसेको अस्पताल प्रशासन, पीडित पक्ष, प्रहरी प्रशासनसहितको बैठकले घटनाका बारेमा छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गर्दै आकस्मिक कक्षमा कार्यरत डा.प्रमोद राम, डा.रामकिशोर सिंह, स्वास्थ्यकर्मी प्रह्लाद प्रसाद,नरेश कुमार चौधरी र आस्था यादवलाई एक हप्ताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

उक्त घटनाकै विरोधमा नेपाल चिकित्सक संघ नारायणी शाखाको आह्वानमा वीगन्जमा रहेका नारायणी अस्पतालसहित सबै निजी अस्पतालमा आइतबार दिउँसोदेखि आकस्मिक सेवासमेत बहिष्कार गर्नुका साथै  सम्पूर्ण उपचार सेवा ठप्प पारेर चिकित्सकहरू हड्तालमा उत्रिएका हुन् । 

आइतबार दिउँसो वीरगन्जमा नेपालाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार यहाँका सम्पूर्ण अस्पतालका चिकित्सकहरू अनिश्चितकालिन हड्तालमा उत्रिएका हुन् । 

बैठकले डा.रामसहितका स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण,अस्पतालमा गरिएको तोडफोड र अवाञ्छित गतिविधिमा संलग्न दोषीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०७९ (संशोधनसहित) बमोजिम तत्काल मुद्दा दर्ता गरी कानुनबमोजिम हदै सम्मको कारबाही गर्न माग गरेको छ । 

साथै शनिबारको घटनापछि निलम्बन गरिएका नारायणी अस्पतालका चिकित्सकसहितका ५ जना स्वास्थ्यकर्मीहरुको निलम्बन तत्काल फिर्ता गर्नुपर्ने संघको माग छ। साथै घटनाका बारेमा छानबिन गर्न बनाइएको छानबिन समिति तत्काल खारेज गर्नु पर्ने र चिकित्सक तथा स्वास्थ्य संस्थाको कार्यसम्पादनमा पत्रकार वा अन्य कुनै पनि पक्षबाट हुने अनधिकृत हस्तक्षेप,अनावश्यक दबाब तथा सार्वजनिक रूपमा गरिने पूर्वाग्रही एवं चरित्रहत्या गर्ने टिप्पणीहरूमा तत्काल रोक लगाउनु पर्ने माग पनि संघले गरेको छ । 

साथै संघले नारायणी अस्पताल सहित सम्पूर्ण सरकारी,सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले कुनै पनि प्रकारको डर, त्रास, धम्की वा दबाबबिना सुरक्षित वातावरणमा पेसागत दायित्व निर्वाह गर्न सक्ने गरी प्रभावकारी र दिगो सुरक्षा व्यवस्थाको तत्काल ग्यारेन्टी गर्नपनि माग गरेको छ । 

माथि उल्लेखित मागहरु सम्बोधन नभएसम्म वीरगन्जमा रहेका नारायणी अस्पतालसहित सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थाहरू,मेडिकल कलेजमा आकस्मिक सेवासमेत बहिष्कार गरी सम्पूर्ण सेवाहरू पूर्ण रूपमा ठप्प पारेर आन्दोलनमा उत्रिएको संघका अध्यक्ष डा.मनोजकुमार गुप्ताले बताए । 

यसअघि आइतबार नै नेपाल चिकित्सक संघको केन्द्रिय समितिले पनि एक विज्ञप्ति जारी गर्दै शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड र चिकित्सकमाथि भएको आक्रमणमा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ । 

आइतबार संघका केन्द्रिय अध्यक्ष डा.बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । साथै घटनका दिन आकस्मिक कक्षमा कार्यरत चिकित्सकसहितका स्वस्थ्यकर्मीलाई निलम्बन गरिएको प्रति संघले आपत्ति पनि जनाएको छ ।बिरामीको उपचार सेवामा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुको निलम्बन तत्काल फिर्ता लिन पनि संघले माग गरेको छ । 

अस्पतालमा तोडफोड गर्ने र चिकित्सकमाथि कुटपिट गर्नेहरूलाई तत्काल कारबाही नगरिए तथा स्वास्थ्यकर्मीहरूको निलम्बन फिर्ता नलिइए संघ आन्दोलनमा उत्रिने चेतावनीसमेत संघका अध्यक्ष रिजालले विज्ञप्तिमार्फत दिएका छन् ।    


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.