भारतको सहयोगमा कञ्चनपुरमा बन्दै विद्यालय भवन, गरियो शिलान्यास
कञ्चनपुर : भारत सरकारको सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माविको भवन निर्माण हुने भएको छ । १.९ करोड लागतमा निर्माण हुने विद्यालय भवनको आइतबार एक कार्यक्रमबीच काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत विद्यालय भवन निर्माणको काम भीमदत्त नगरपालिकामार्फत हुनेछ । यो कञ्चनपुरमा सञ्चालन भइरहेको ११ औं उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।
भीमदत्त नगरपालिकाका उपप्रमुख तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । उनीहरुले नयाँ पूर्वाधारले भीमदत्त नगरपालिकाका विद्यार्थी र शिक्षकहरुको सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !