पर्सामा रास्वपा भित्रको विवाद चर्कियो: जिल्ला अधिवेशन स्थगित गर्न माग
वीरगन्ज : पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद चर्किएको छ। पालिका अधिवेशनकै बेलादेखि सुरु भएको दुई गुट बीचको विवाद अहिले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा झन् चर्किएको हो।
पर्सामा एक गुटको नेतृत्व संस्थापक जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गर्दै आएका छन् भने उनलाई एक्ल्याउन बाँकी ३ क्षेत्रका सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य अर्को गुट बनाएर अगाडि बढेका छन्।
जेठ १७ गते भएको वीरगन्ज महानगरको प्रथम अधिवेशनमा पनि महानगरको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई गुट स्पष्ट रुपमा देखिएको थियो। महानगरको निर्वाचनमा सभापतिमा पन्त निकटका उम्मेदवार महमद महुदीन आलमलाई ४७ मतान्तरले पराजित गर्दै सांसदत्रय कानु, चौरसिया र शाक्य गुटका उम्मेदवार दीपराज पटेल विजयी भएका थिए।
रास्वपा पर्साको प्रथम जिल्ला अधिवेशन आइतबार हुँदैछ। त्यसका लागि शनिबारदेखि निर्वाचन प्रक्रियासमेत सुरु भइसकेको छ। तर, वीरगन्जको होटल गेट वे मा निर्वाचन प्रक्रिया चलिरहेकै बेला शनिबार अपरान्ह पार्टीको एक समूह (सांसदत्रय कानु, चौरसिया र शाक्यको गुट )ले जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गर्न माग गर्दै मधेस प्रदेश उपसभापति राधिका न्यौपाने साह कलवार र मधेस प्रदेश संगठन विभाग उपप्रमुख प्रमोद कुमार रायमाझीलाई ज्ञापनपत्र बुझाएको छ।
जिल्ला अधिवेशनका लागि जिल्लाका १४ वटै पालिका तथा विभिन्न विभागका प्रतिनिधि चयनका क्रममा जिल्ला सभापति पन्त पक्षले एकलौटी गरेको आरोप लगाउँदै पार्टीका सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधीर पटेल, क्षेत्रीय सभापति राम आर्य सहितकाले ज्ञापनपत्र बुझाएका हुन्।
जिल्लाका १४ वटै पालिका तथा विभिन्न विभागबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयनका क्रममा सभापति पन्त पक्षले पार्टीको विधान र पद्धति मिचेर आफू निकटका व्यक्तिहरूलाई प्रतिनिधि बनाएको असन्तुष्ट समूहका कुर्मीले आरोप लगाए।
त्यही कारण आइतबार हुने जिल्ला अधिवेशन तत्काल स्थगित गर्न माग गर्दै निर्वाचन समितिमा शनिबार आफूहरूले ज्ञापनपत्र बुझाएको उनले बताए। जिल्ला अधिवेशनका प्रतिनिधि चयनको प्रक्रिया पारदर्शी तरिकाले सार्वजनिक गर्नुपर्ने अनि त्यसपछि मात्रै जिल्ला अधिवेशन गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए।
उनले भने, ‘जिल्ला अधिवेशनका लागि सार्वजनिक गरिएको प्रतिनिधिहरूको नामावलीमा विभिन्न विभागका प्रतिनिधिहरू पनि समावेश गरिएको छ। तर ती विभागहरू कहिले, कुन प्रक्रिया र निर्णयका आधारमा गठन भयो ? प्रतिनिधिहरूको मनोनयन कसरी गरियो ? विभागहरू गठनसम्बन्धी माइन्युट, निर्णय विवरणहरू पार्टीको आधिकारिक पोर्टलमा किन छैन ? यी सब कुरा पारदर्शी रूपमा सार्वजनिक गरेपछि मात्रै जिल्ला अधिवेशन गर्नुपर्ने माग हाम्रो हो।’
यता रास्वपा पर्साका सभापति सांसद पन्तले भने जिल्ला अधिवेशनका प्रतिनिधि चयनमा आफूले कुनै हस्तक्षेप नगरेको बताए। पालिका तथा विभागका प्रतिनिधि चयन पार्टीको विधान र निर्देशन अनुसार नै गरिएको दाबी उनले गरे। पन्तले भने, ‘पूर्वनिर्धारित तालिका अनुसार जिल्ला अधिवेशन आइतबार नै हुन्छ। त्यसका लागि निर्वाचन प्रक्रिया शनिबारदेखि नै सुरु भइसकेको छ। त्यसका कारण कोही पनि साथी द्विविधामा नपर्नु होला।’
रास्वपा पर्साको सभापतिका लागि हालसम्म सांसदद्वय पन्त र कानु आकांक्षी देखिएका छन्। पन्त संस्थापक सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हुन् भने कानु पर्सा क्षेत्र नम्बर २ का सांसद हुन्।
प्रतिक्रिया दिनुहोस !