सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ
विराटनगर : पेस्तोलजस्तो देखिने वस्तु प्रदर्शन गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने एक युवक विराटनगरबाट पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका–१४ जतुवाका २२ वर्षीय अनिल भनिने आशिष यादव पक्राउ परेका हुन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार यादवले नक्कली पेस्तोल देखाउँदै टिकटकसहित विभिन्न सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेको सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएर अनुसन्धान थालेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनको घरसम्म पुगेर खोजतलास गरेको थियो।
प्रहरीले घरभित्रको कोठामा राखिएको जेब्रा झोलाभित्रबाट ‘मेड इन चाइना’ लेखिएको, म्याग्जिन जडान नहुने पेस्तोल आकारको वस्तु फेला पारेको थियो। उक्त वस्तु बरामद गर्ने क्रममा यादवले प्रहरीसँग विवाद गर्दै गालीगलौज गरेको र प्रहरीको कामकारबाहीमा अवरोध पुर्याएको आरोपसमेत लागेको छ।
घटनापछि प्रहरीले यादवलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङबाट बिहीबार पाँच दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी मिश्रले बताए।
प्रतिक्रिया दिनुहोस !