‘जेटियुसिसी’ जेनेभा जाने
काठमाडौं : संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन स्वीट्जरल्याण्डको जेनेभा जाने भएको छ । जेटियुसिसीले शुक्रबार काठमाडौंमा आयोजना गरेका पत्रकार सम्मेलनमा अध्यक्ष विनोद श्रेष्ठले लोकतन्त्र र ट्रेड युनियन अधिकारमाथि सरकारले गरेको हस्तक्षेपको जेनेभामा जोडदार कुरा उठाउने जानकारी दिए ।
श्रेष्ठले २९ गतेसम्म हुने ‘अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनको ११४औं सत्र’ मा जेटियुसिसी अध्यक्ष, महासचिव तथा अबद्ध महासंघका अध्यक्षहरुको टोली शनिबार जेठ २३ गते जेनेभा प्रस्थान गर्ने जानकारी दिए । श्रेष्ठले नेपाली श्रम बजारको अवस्था, श्रमिकको लोकतान्त्रिक अधिकार र ट्रेड युनियनमाथिको सरकारी हस्तक्षेपका विषयमा अन्तराष्ट्रिय माञ्चमा जोडदार आवाज उठाउने बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनलाई लत्याउँदै ट्रेड युनियनमाथि हस्तक्षेप लगायतका विषयमा अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउने उनको भनाइ छ । पत्रकार सम्मेलन एनटियुसिका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाए ।
प्रतिक्रिया दिनुहोस !