जुगलका २७ महिलाले सुरु गरे सामुदायिक होमस्टे
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३, गुम्बाथाङका २७ जना स्थानीय गृहणी महिलाहरूले होमस्टे सुरुवात गरेका छन् । उनीहरुले ‘ल्हालुङ्पाल सामुदायिक होमस्टे’ नाम दिएर होमस्टे सञ्चालन सुरु गरेका हुन् । ‘जुगल हिमालको प्रवेशद्वार, धार्मिक, ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण यो क्षेत्रको प्रबर्द्धन गर्ने उद्देश्यले हामीले होमस्टेको शुभारम्भ गरेका हौं,’ होमस्टेका सञ्चालकमध्येकी एक डोल्मा लामा भन्छिन्, ‘तयारी पूरा भई सञ्चालन सुरु भएको छ, हामी पाहुनाहरूलाई स्वागत गर्न तयार छौं ।’
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा जुगल गाउँपालिकाले दुई साताअघि आपूmहरुलाई होमस्टे सञ्चालन तालिम दिएपछि पाएको सीपलाई सदुपयोग गरेको उनले बताइन् । ‘हामीले पाएको सीपलाई प्रयोग गरी स्वरोजगार बन्ने लक्ष्य लिएका छौं,’ उनले भनिन्, ‘पर्यटकीय सम्भावना बोकेको हाम्रो गाउँलाई विकास गर्नुपर्छ भन्ने लक्ष्य राखेर काम गरेका छौं, गाउँका महिला दिदीबहिनी एकताबद्ध भएर लागेका छौं, बिस्तारै व्यावसायिक बन्ने योजना बनाएका छौं ।’ होमस्टेमा पाहुनालाई सांस्कृतिक मनोरञ्जन र स्थानीय परिकारले स्वागत गरिने उनले बताइन् ।
गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले महिलाहरुले गरेको यो कार्य उदाहरणीय भएको बताए । ‘हामीले उहाँहरुको ज्ञान, सीप चुलो चौकोमा मात्र सीमित नहोस् र यो पर्यटकीय क्षेत्रको विकास होस् भन्ने ध्येयले १५ दिनको होमस्टे सञ्चालन तालिम दिएका थियौं,’ उनले भने, ‘उहाँहरुले पाएको ज्ञानलाई प्रयोगमा ल्याउन खोज्नु भएको छ । यसले पालिका र प्रदेश सरकारले गरेको लगानीको सही सदुपयोग भएको छ ।’ गुम्बाथाङलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य पालिकाले लिएको उनले बताए ।
पालिका अध्यक्ष स्याङ्बोले आगामी दिनमा पनि महिलाहरुले सञ्चालन गरेको ल्हालुङ्पाल सामुदायिक होमस्टलाई सहयोग गर्ने बताए । होमस्टेले स्थानीय पर्यटनको प्रवर्द्धन गर्नुका साथै महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर बन्न ठूलो टेवा पुग्ने विश्वास पालिकाले लिएको उनले बताए। यस्ता सीप र आयआर्जनसँग जोडिएका कार्यक्रमले जुगललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लक्ष्य पूरा गर्न मद्दत पुग्ने उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस !