रुसको आक्रमणमा युक्रेनमा थप १२ को मृत्यु, मारिएका ७०७ बालबालिकाको सम्झनामा सभा
कीभ : रुस र युक्रेनबीचको युद्धमा पछिल्ला दिनहरूमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२२ देखि जारी युद्धमा रुसको आक्रमणका कारण कम्तीमा ७०७ जना बालबालिका मारिएको स्मरण गरेका छन् ।
पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्रमा भएको बम र ड्रोन आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको र ११ जना घाइते भएको राष्ट्रिय प्रहरी सेवाले जनाएको छ । सात वटा बस्तीहरू आक्रमणको चपेटामा परेका थिए, जसमा आवासीय भवन, चिकित्सा संस्था, एम्बुलेन्स र अन्य संरचनामा ठूलो क्षति पुगेको छ ।
उत्तरी–पूर्वी खार्किभ क्षेत्रमा भएको मिसाइल र ड्रोन आक्रमणमा ३ जनाको मृत्यु र २१ जना घाइते भएका छन् ।
सोही क्षेत्रमा अर्को आक्रमणमा थप २ जनाको मृत्यु भएको बताइएको छ । मध्य युक्रेनको दिनिप्रोपेट्रोभ्स्क क्षेत्रमा पनि रूसी गोलाबारीमा कम्तीमा १ जनाको मृत्यु र ५ जना घाइते भएका छन् । दक्षिणी खेरसन क्षेत्रमा पनि थप १ जनाको मृत्यु भएको छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले ‘आक्रमणमा सबैभन्दा असहाय बालबालिका मारिनु सबैभन्दा ठूलो अन्याय हो’ भन्दै ७०७ बालबालिकाको मृत्यु भएको उल्लेख गरेका छन् । उनले हजारौँ बालबालिका घाइते, अपहरण र बेपत्ता भएको पनि बताएका छन् ।
त्यसैबीच, क्रेमलिनले जेलेन्स्कीले भेटवार्ता गर्न चाहे रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा आउन सक्ने जनाएको छ । रुसी पक्षले पनि युक्रेनले कब्जा गरिएका क्षेत्रहरूमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ, जसमा केही सर्वसाधारणको मृत्यु भएको बताइएको छ । दुवै पक्षबीच युद्ध झन् तीव्र बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस !